१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विश्वविद्यालयमा पूरानो तरिका होइन, नवीनतम् प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री

विश्वविद्यालयमा पूरानो तरिका होइन, नवीनतम् प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वविद्यालयहरू पूरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम् लाभ लिनुपर्ने बनाउनुभएकाे छ ।

शुक्रबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वमा विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताउनुभएको हो।

सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

नेपाल संस्कृत विश्वविद्यालयको कुलपतिका हैसियतले नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्न पाउँदा म अत्यन्त हर्षित छु। यस अवसरमा म नेपाल संस्कृत विश्वविद्यालयको स्थापना, यसको विकास र अग्रगतिका लागि अनवरत प्रयत्न गर्नुहुने संस्कृतप्रेमी सबै महानुभावहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु।

आज सम्पन्न विश्वविद्यालय सभाको ७५ औँ बैठकमा हामीले नेपाल संस्कृत विश्वविद्यालयको संस्थागत विकास, यसका नीति एवम् कार्यक्रमका साथै समस्या र सम्भावनाका विषयमा समेत गम्भीर छलफल गर्यौँ साथै महत्त्वपूर्ण निर्णयहरू पनि गर्यौँ। विश्वविद्यालयले उपलब्ध साधनस्रोतको यथोचित परिचालन गरेर आफ्ना शैक्षिक, प्राज्ञिक एवम् भौतिक उन्नयनका क्रियाकलापहरूलाई सन्तोषजनक रूपमै अगाडि बढाइरहेको कुरा यसको वार्षिक प्रतिवेदन र आर्थिक विवरणबाट अवगत हुन्छ। यसका लागि नेपाल संस्कृत विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरूलाई धन्यवाद दिनै पर्छ।

कुनै पनि राष्ट्रको सभ्यता, समृद्धि र उन्नति शिक्षाकै जगमा खडा भएको हुन्छ। तसर्थ शैक्षिक क्षेत्रको सुधार र गुणस्तरमा वृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य प्राथमिकताको विषय हो। त्यसमा पनि विश्वविद्यालयजस्ता उच्च शैक्षिक संस्थाले राष्ट्रको इतिहास, मूल्यमान्यता र सांस्कृतिक संवेदनाको मूलचेतनाको नेतृत्व गर्ने हुँदा विश्वविद्यालयको पाठ्यक्रम एवम् यसको पठनपाठनको स्तरलाई उच्च तुल्याउन सघाउनु सरकारको दायित्व र कर्तव्य पनि हो। यसै कुरालाई आत्मसात् गरेर सरकारले आफ्नो नीति तथा कार्यक्रममा उच्च शिक्षामा विद्यार्थी भर्ना र पहुँच अभिवृद्धिका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नका लागि पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने नीति लिएको छ। यसैगरी वैदिक पौराणिक ग्रन्थहरूमा उल्लेख भएका धार्मिक, सांस्कृतिक क्षेत्रहरूको संरक्षण, विकास र प्रवर्धन गर्ने नीतिका साथै आधुनिक प्रविधिको प्रयोग गरी राष्ट्रिय महत्त्वका अभिलेखको संरक्षण र व्यवस्थापन गर्ने कुरालाई पनि सरकारले महत्त्व दिएको छ, जुन नेपाल संस्कृत विश्वविद्यालयको कार्यक्षेत्र र सरोकारसँग सम्बन्धित छ। त्यसैगरी सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने सरकारको योजनामा पनि नेपाल संस्कृत विश्वविद्यालयले सहयोग र सहकार्य गर्न सक्छ।

सरकार नेपालमा सञ्चालित विश्वविद्यालयहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन चाहन्छ। विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई पनि नेपाल सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको छ। विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध छ।

वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो। आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसरहरू स्वतः प्राप्त हुँदै जान्छन्। यो सत्यलाई हृदयङ्गम गरेर हरेक संस्थाले आफ्नो क्षमता र स्तरवृद्धि गर्ने कुरामा ध्यान दिनु आवश्यक छ। समयले हामीसँग यही कुराको अपेक्षा गरिरहेको छ। तसर्थ नेपाल संस्कृत विश्वविद्यालयलगायत नेपालका सबै विश्वविद्यालयले समयको यो चुनौती र अवसरलाई स्वीकार गर्नुपर्छ साथै यसै मान्यतामा आधारित रहेर आफ्ना नीति तथा कार्यक्रमहरू तय गर्नुपर्छ।

अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध नेपालका केही संस्थामध्ये नेपाल संस्कृत विश्वविद्यालय पनि एक हो। तर बितेका केही वर्षयता उक्त सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न सकिएको छैन। तसर्थ चल–अचल सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालय आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्दछ। नेपाल संस्कृत विश्वविद्यालयका नाममा दाङ जिल्लाको देउखुरी उपत्यका र दाङ उपत्यकामा रहेको क्रमशः १३३६ बिघा र ३२६ बिघा जमिनको स्वामित्व र संरक्षणसँग सम्बन्धित समस्याहरू समाधान गर्नका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नेबारेमा यसअघि भएका निर्णयहरूलाई कार्यरूप दिन निर्देशन दिन्छु। यस कार्यमा सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेछ।

नेपाल संस्कृत विश्वविद्यालय पौरस्त्य मूल्य मान्यताको जगमा खडा भएको विशिष्टीकृत एवम् नेपाली संस्कृतिको उत्तराधिकारसम्पन्न संस्था हो। नेपालको हिन्दू, बौद्ध र जनजातीय संस्कृतिमा संस्कृतको गहिरो प्रभाव छ। नेपालको सांस्कृतिक पहिचान र राष्ट्रियमूल्य संस्कृतभाषा एवम् यसको वाङ्मयमै आधारित छ। तसर्थ संस्कृत विश्वविद्यालयले विविधताको सम्मानसहित नेपाली समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचानप्रति जागरुक तुल्याउन सक्नु पर्दछ। विश्वविद्यालयले आफ्ना नीति र कार्यक्रमहरू तय गर्दा राष्ट्रिय मौलिकता एवम् विशिष्टतालाई ध्यान दिनु आवश्यक छ। नेपाली समाजका बदलिँदा आकाङ्क्षा र सरकारका प्राथमिकतालाई विशेष ध्यान दिई वर्तमान समयमा नेपाल संस्कृत विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देख्दछु। संस्कृत वाङ्मयभित्र रहेका ज्ञानविज्ञानका विभिन्न विधाको विश्वस्तरमा लोकप्रियता बढ्दै गएको वर्तमान अवस्थामा यसबाट अपेक्षित लाभ लिनका लागि विश्वविद्यालयले अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा ठोस र मूर्त योजना निर्माण गर्नु आवश्यक छ। यसका लागि उच्चस्तरमा कार्यदल निर्माण गरेर यथार्थ योजना प्रस्तुत गर्न विश्वविद्यालयलाई निर्देशन दिन्छु।

संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भैरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।

अन्त्यमा सभामा उपस्थित भएर आफ्ना अमूल्य सुझाव र सल्लाह दिनुहुने सबै विद्वान् सभासद्ज्यूहरू तथा आमन्त्रित विशिष्ट व्यक्तिहरूलाई हार्दिक धन्यवाद दिन्छु। आजको सभामा लिइएका निर्णयहरूको यथाशीघ्र कार्यान्वयनको अपेक्षासहित नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकको आजको कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु, धन्यवाद।