२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना प्रणालीको गिर्दो प्रभावकारिता र सुधारको आवश्यकता



अ+ अ-

काठमाडौँ। नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा र चासो क्रमिक तवरमा घट्दै गएको पाइन्छ । फलस्वरुप योजना प्रणाली र स्वयं योजनातर्जुमा गर्ने निकायको गरिमा र औचित्य माथि नै प्रश्न उठ्ने अवस्था आइसकेको छ ।

लोकतान्त्रिक प्रणालीमा जनताको खुला र सक्रिय सहभागितामा योजना प्रणाली लोकप्रिय, जनमुखी र प्रभावकारी हुनुपर्ने हो । अझ थप कुरो सङ्घीय प्रणालीमा त सबै तहका योजना प्रणालीहरु र त्यसबाट तर्जुमा गरिएका योजनाले विकास र सुशासनको प्रत्याभूत दिन सक्नुपर्ने हो । तथापि, यस्तो हुन सकिरहेको छैन । जबसम्म योजना प्रणालीलाई औपचारिक कर्मकाण्डबाट माथि उठाएर वैज्ञानिक अनुसन्धान र विश्लेषणमा आधारित प्रभावकारी कर्म बनाउन सक्ने छैनौँ, तबसम्म विकास एक हचुवा काम मात्र हुनेछ । यसले सकारात्मक परिणाम होइन, विसङ्गति मात्र ल्याउने छ भन्ने त अहिले चल्तीमा रहेको योजना तर्जुमाको अभ्यासले देखाएकै छ ।

सन् ५० को दशकताका योजना प्रणालीको अभ्यासलाई वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले समाजवादी मान्यतामा आधारित केन्द्रिकृत अवधारणा मान्ने गरिन्थ्यो । तथापि, अल्पविकसित देशले आफ्नो विकासको आवश्यकतालाई सम्बोधन गर्न योजनाबद्ध विकासको प्रणालीलाई उपयुक्त ठानी अनुशरण र अभ्यास गर्न थाले । कतिपय विकासोन्मुख देशले यसको सही प्रयोगबाट विकासमा फड्को मार्न सफल भए भने केही देशले प्रभावकारी प्रयोग गर्न सकेनन् ।

खासगरी सन् ९० को दशकतिरको उदारवाद र निजीकरणको प्रभावले योजनाबद्ध विकासको अभ्यासमा केही भ्रम र सुस्तता ल्याएको देखिन्छ । यति हुँदाहुँदै पनि विकासोन्मुख देशहरुमा विकासका प्राथमिकता तय गर्न तथा साधन स्रोतको वितरण र परिचालन गर्न योजना प्रणालीको अभ्यास भइराखेको छ । खासगरी बजारले सिमान्तकृत समुदाय र पहुँच नपुगेको क्षेत्रहरुमा स्वतः साधन स्रोतको प्रवाह नगर्ने हुनाले गरिबीमा रहेका समुदाय र विकासमा पछाडि परेको क्षेत्रहरुको विकासको लागि राज्यले विशेष प्राथमिकता दिनु पर्ने हुन्छ । यिनै र अन्य कतिपय कारणले विकासशील देशहरुले सन्तुलित र सामाजिक न्यायसहितको विकासका लागि योजना प्रणालीको अभ्यास गर्दै आएका छन् ।

यस्तो सैद्धान्तिक मान्यताकै आधारमा नेपालले पनि लामो समयदेखि आफ्नो विकासको लागि योजना प्रणालीको अभ्यास गर्दै आइरहेको छ । तथापि, यसबाट आसातित परिणाम आउन सकिरहेको छैन । देश सङ्घीय प्रणालीमा गइसकेपछिको टड्कारो मुद्दा भनेको योजना तर्जुमाको प्रक्रियमा तीन तहका सरकारहरुबीच कस्तो अन्तरसम्बन्ध हुने भन्ने हो । तीन तहबीच संविधानले अङ्गीकार गरेको ‘सहकारिता, सहअस्तित्व र समन्वय’को सिद्धान्तलाई संस्थागत अभ्यास गर्ने उपयुक्त माध्यम योजना प्रणाली हो । तर विडम्बना तीन तहबीच त्यस्तो पद्धति र संयन्त्रको विकास हुन नसक्दा र साधनस्रोतको बाँडफाँट न्यायोचित हुन नसक्दा सङ्घीयताप्रति नै गलत धारणा बन्न गइरहेको छ ।

भनिन्छ यतिखेर विगत देखिका ५०० जति पुराना योजनाहरु निर्माण नसकिएर लथालिङ्ग अवस्थामा रहेका छन् भने पहुँच र प्रभावका आधारमा जथाभावी हचुवा तवरमा नयाँनयाँ योजनाहरु थपिदै गएका छन् । यस्तो अवस्थामा सुशासन, विकास र समृद्धिको बाटोबाट समाजवादतर्फ अग्रसर हुने संविधानको परिकल्पना धेरै नै टाढाको विषय बन्न पुगेको छ ।

हामीमा योजनातर्जुमासम्बन्धी सही दृष्टिकोणको अभाव छ । जनकेन्द्रित विकासको सिद्धान्तले जनतालाई केन्द्रमा राख्ने हुनाले योजनाको सम्पूर्ण प्रक्रियामा जनताको सहभागिता अपरिहार्य हुन्छ । अझ सामाजिक न्यायको हिसाबले सबैभन्दा पछि परेको जनसमुदायको आवश्यकता र चाहनालाई समेट्न यस्ता जनसमुदायको सहभागिता सुनिश्चित गर्ने योजना तर्जुमा प्रणालीको आवश्यकता पर्छ । हाम्रा योजना तर्जुमा गर्ने निकायहरु, कर्मचारीतन्त्र र राजनीतिक प्रतिनिधिमा सहभागीमूलक योजना तर्जुमाको बारेको बुझाइको कमी छ वा स्वार्थवश हचुवा प्रकारको तजबिजी योजना छनोटको परिपाटी अपनाइरहेका छन्, खोजीको विषय बनेको छ । जे होस् यही बेथितिको फलस्वरुप विकास योजनामा समाजका टाठाबाठा, सत्ता र शक्तिमा पहुँच भएकाको बोलाबाला छ ।

विकास योजना कुनै प्रक्रियाबाट होइन, राजनीतिक नेता वा पद र शक्तिमा रहेकाको कोटको खल्तीबाट उत्पन्न हुने गरेको टिप्पणी सर्वसाधारणमा व्याप्त रहेको छ । यस्तो परिपाटी सरकारका तीनै तहमा रहेको छ । यसले गर्दा पहुँचवालाहरुले एउटै योजनामा तीनै तहबाट बजेट पार्ने गरेको पाइन्छ । त्यसैले सहाभागीमूलक र पारदर्शी योजना तर्जुमाको पद्धतिलाई स्थानीय समुदायबाटै अवलम्बन गर्ने नीतिलाई कडाइका साथ लागू गर्न जरुरी देखिएको छ ।

योजना तर्जुमाको यस्तो विसङ्गतिपूर्ण अवस्थालाई सुधार गर्न सबैभन्दा पहिले राजनीतिक तहको प्रतिबद्धता र जवाफदेहिता सुनिश्चित हुन जरुरी छ । राजनीतिक नेतृत्वमा सहाभागीमूलक योजना तर्जुमाको विकास नभएसम्म उनीहरुबाट प्रतिबद्धता र जवाफदेहिता पाउन सकिँदैन । यसैले अहिलेसम्मको विसङ्गति र कमजोरीबारे समीक्षा गरेर योजना तर्जुमाको सही दृष्टिकोणको विकास गर्न जरुरी छ । हालसम्मको अवस्था हेर्दा राजनितिक वृतले कर्मचारीतन्त्र र विचौलिया समूह समेतको मिलोमोतोमा विकास योजनाहरुलाई एकातर्फ लोकप्रियतावादी भोट बैंकका रुपमा र अर्कोतर्फ कमिसनको स्रोतका रुपमा उपयोग गर्दै आएको देखिन्छ ।

यही कारणले वैज्ञानिक योजना बनाउन नसक्ने, बनाएको योजनाको कार्यान्वयन ज्यादै कमजोर हुने, विकासमा लागेको साधनस्रोतले जनताको अवस्थामा कुनै सकारात्मक परिवर्तन नल्याउने जस्तो दुष्चक्रबाट हाम्रो विकास अभियान गुज्रिरहेको छ । यो दुष्चक्र तोडनका लागि विकास योजना तर्जुमाको वैज्ञानिक, पारदर्शी, जबाफदेहीयुक्त सहभागीमूलक पद्दतिको संस्थागत विकास गर्नुको अर्को विकल्प देखिँदैन ।

सहभागीमूलक योजना तर्जुमाका लागि आवश्यक अर्को मूल कुरा सुदृढ र सशक्त निकाय र योजना प्रक्रियालाई सहजीकरण गर्नसक्ने दिक्षित जन शक्तिको हो । हामीकहाँ विगतदेखि नै केन्द्रीय तहमा राष्ट्रिय योजना आयोग जस्तो निकाय नभएको होइन । साथै सङ्घीय प्रणालीको स्थापनासँगै प्रदेश तहमा प्रदेशस्तरीय योजना आयोगहरु गठन भएका छन् । यी निकायहरु सङ्घीयताको मर्म अनुरुप र सहभागीमूलक योजना तर्जुमाका मान्यतामा रहेर योजना तर्जुमा गर्न प्रभावकारी देखिएका छैनन भन्ने तथ्य विगतदेखि हालसम्मको हचुवा योजना छनोटको परिपाटी र विकास योजनाहरुको फितलो अनुगमनले प्रष्ट्याएकै छ ।

यी र सबैखाले कमजोरीको समीक्षा गरी तीनै तहका योजनाहरुबीच समन्वय र अन्तरसम्बन्ध विकास गर्न हालका योजनासम्बन्धी निकायको सङ्घीयताको मर्मअनुरुप पुनःसंरचना र सुदृढीकरण गर्न जरुरी छ । साथै, सहभागीमूलक योजना तर्जुमाको प्रक्रिया समुदायस्तरबाटै प्रारम्भ हुने भएकोले स्थानीय तहमा समेत योजना तर्जुमाको संस्थागत संरचना स्थापना गर्न जरुरी छ । तिनै तहमा सबल निकायहरु हुन सके मात्र योजना तर्जुमा, कार्यान्वयन र अनुगमन प्रभावकारी हुन सक्छ ।

योजनासम्बन्धी निकायहरुको स्थापनासँगै यी निकायहरुमा सहभागीमूलक योजना तर्जुमा प्रक्रियालाई सहजीकरण गर्न सक्ने ज्ञान र सीपले दिक्षित जनशक्तिको व्यवस्था गरिनु पर्छ । योजना तर्जुमा र जनसहभागिताको विषय एक विशिष्टिकृत विषय भएकाले यो सम्बन्धी छुट्टै सेवाको पनि व्यवस्था गर्न जरुरी छ । हालसम्म यो विषयमा ज्ञान नभएको जनशक्तिबाट तदर्थतामा योजान तर्जुमा र अनुगमनको काम भइआएको छ । विकास नीति तथा योजना तर्जुमालाई अनुसन्धानमा आधारित बनाउन पनि दक्ष जनशक्तिको जरुरी हुन्छ । यस सम्बन्धमा हालको नीति तथा अनुसन्धान आयोगलाई छुट्टै निकाय नबनाएर योजना आयोग अन्तर्गत नै राखेर नीति, योजना र अनुसन्धानलाई एकीकृत तवरमा परिचालन गर्न उपयुक्त हुन्छ । सशक्त अधिकार युक्त संस्था र दक्ष जनशक्तिविना हालको योजना आयोग र मन्त्रालयहरुबीच र अन्तरमन्त्रालयबीच र तीनै तहका सरकारहरुबीच रहेको समन्वयको समस्या समाधान हुन सक्दैन ।

समग्रमा भन्ने हो भने विकास योजना तर्जुमासम्बन्धी सोच र दृष्टिकोणमा स्पष्टता र यस्को कार्यान्वयनमा इमान्दारिता हासिल गर्नसके सुधारका लागि कुनै कठिनाई रहने छैन । हामी अहिले सर्वाधिक उन्नत प्रविधिको युगमा छौँ । हामीले चाहेको सूचना इन्टरनेट जस्तो प्रविधिको प्रयोग गरेर सहजै उपलब्ध हुन सक्छ । साथै, योजना तर्जुमाका लागि समुदाय र निर्वाचित जनप्रतिनिधिलाई सहजीकरण गर्नसक्ने जनशक्तिको विकास गर्न सकिन्छ ।

यस्को लागि सही नीति, पद्धति, संस्थगत संरचनासहितको स्पष्ट ढाँचा निर्धारण गरेर हालको विसङ्गतिपूर्ण र हचुवा योजना छनोटको परिपाटी र विकासका साधन स्रोतको हुँदै आएको दुरुपयोग रोकेर सहभागीमूलक, पारदर्शी, जवाफदेहीपूर्ण जनमुखी योजना तर्जुमाको पद्धति विकास गरेर देशलाई विकास, सुशासन र समृद्धिको बाटोमा अग्रसर गराउन सकिन्छ । यस्मा जति ढिलाइ हुनेछ त्यति नै विकास र समृद्धिको यात्रा अवरुद्ध भइरहने अवस्था रहनेछ ।रासस

डा. ठाकुरप्रसाद भट्ट काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टी, विकास, योजना र सुशासनसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ।