४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

नेपथ्य अष्ट्रेलियाको ब्रिसबेनमा फेरी घन्कियो

नेपथ्य अष्ट्रेलियाको ब्रिसबेनमा फेरी घन्कियो
अ+ अ-

ब्रिसबेन । कन्सर्टको केहिदिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो । गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित आफ्नो बच्चासहित आइपुगे । अमृतले ती बच्चासँग संवाद गर्न खोजे । बच्चाले अप्ठेरो माने । किनभने, उनी नेपाली बोल्न जान्दैन थिए ।

‘त्यसो भए तिमीले नेपालमा हजुरबुवा र हजुरआमासँग कसरी कुरा गर्नेगरेको छौ त र?’ अमृतले अंग्रेजीमै सोधे । ‘मेरो हजुरबुवा हजुरआमासँग कुनै संवाद हुँदैन,’ ती बच्चाले पनि जवाफ दिएछन्, ‘हामी हेल्लो र हाइमै सीमित छौं ।’

यो घटनाबाट स्तब्ध भएका अमृतले सोमबार बेलुकी ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्यूजिक हल’मा टनाटन भरिएका दर्शक सामु आफ्नो मनको गाँठो फुकाए । ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट बिमुख बनाउनु हो,’ अमृतले कन्सर्टकै क्रममा आव्हान गरे, ‘हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं ।’

जवाफमा हलभरिका दर्शकले चर्को आवाज र तालीले समर्थन जनाए ।

‘बाँकी जेजस्तो भएता पनि हामी नेपाली हौं,’ अमृत थामिएनन्, ‘एउटा नेपालीले अर्को नेपालीसँग संवाद गर्ने एउटै यो माध्यम भाषालाई नयाँ पुस्तासम्म जीवित राखौं है ।’

‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि म-यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भिर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन् ।’
कन्सर्ट अवधिमा उनले विदेसमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे ।

अघिल्ला कन्सर्टहरुमा प्रस्तुत गरिएका गीतहरुको सेटलाई नै दोहो-याइएको ब्रिसबेनको कन्सर्टमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितहरुका दृश्य देखाइएको थियो । नेपालस्थित मानवसेवा आश्रमका आश्रितहरुको मनछुने दृश्य समेटेको त्यो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो । त्यसै क्रममा अमृतले यो सिंगो वर्ष ब्याण्डलाई ‘मानवताको लागि संगीत’को निम्ति समर्पित गरेको उल्लेख गर्दै हालै यसै नाराका साथ नेपालभर गरिएको भब्य यात्राको स्मरण पनि गरे ।

अष्ट्रेलियाको तेश्रो ठूलो सहरमा सोमबार आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौं पटक उभिन पुगेको छ । एक दसक अघिसम्म पनि मुश्किलले केही हजार जनामात्र नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनौट गर्नेहरु विस्तारै राम्रै उपस्थितीमा परिणत हुनथालेको देख्न सकिन्छ ।

‘यति भब्य रुपमा सम्पन्न कन्सर्टको हिस्सा बन्नपाएकामा मेरो सम्पूर्ण टिम खुशीले गदगद भएको छ,’ स्थानीय आयोजक टोली मध्येका सुनिल बस्नेत भन्दै थिए । ‘दर्शको उपस्थिति र अत्यन्त सकरात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदियो ।

सबै पुस्ताका दर्शक अटाएको हलमा वृद्ध बा आमादेखि तन्नेरी केटाकेटीसम्म त भरिएकै थिए । त्यसैमा ह्विलचियर गुडाउँदै आइपुगेका विकास चापागाइँ पनि देखिन्थे । पाँच वर्षकै उमेरदेखि ‘मस्कुलर डिजेनरेशन डिस्ट्रोफी’का शिकार विकास हाल ४३ वर्षका छन् । नेपालमा विश्वविद्यालयमै सर्वोत्कृष्ठ अंक ल्याएर उत्तीर्ण गरेपछि उनले एघार वर्षअघि पूर्ण छात्रवृत्तिका साथ अष्ट्रेलिया आएर ‘कम्यूनिटि सर्भिस’मा स्नातकोत्तर गरिसकेका छन् । हाल त्यही क्षेत्रमा कार्यरत विकास, नेपाली लोक रकको प्यास मेट्नकै निम्ति ‘फोर्टिच्यूड म्यूजिक हल’सम्मै आइपुगेका थिए ।

‘मलाइ त नेपालै पुगेजस्तो पो भयो,’ उनी भनिरहेका थिए, ‘नेपथ्यका गीतहरु सुनिरहँदा खुशीले कतिपटक चिच्याए अनि कतिपटक त थाम्न नसकेर रोएँ पनि ।’ कार्यक्रम अवधिभर विकास बारंबार ह्विलचियर हल्लिनेगरि मच्चिरहेका देखिन्थे । ‘अमृत दाइले मञ्चबाट एक किसिमको उर्जा फैलाइरहेका थिए,’ विकासले थपे, ‘त्यो उर्जा आफु भित्र पनि भरिँदै गएको म महशुस गरिरहेको थिएँ ।’

अर्की दर्शक रिना मोक्तानले ब्रिसबेनमा आजसम्म हेरेका व्यवस्थित कन्सर्टहरु मध्येकै आफूलाई यो सबैभन्दा भब्य लागेको प्रतिक्रिया दिइन् । उनी परिवारका साथ आएकी थिइन् ।

‘विदेशमा कार्यक्रम गर्दा सप्ताहान्त परेन भने दर्शक जुटाउन गाह्रो पर्छ भन्ने मान्यता निकै अघिदेखि चल्दैआएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ब्रिसबेनमा नेपाली मात्र होइन विदेशी दर्शकको पनि सोमबारका दिन भब्य उपस्थितीले त्यो पुरानो मान्यतालाई पनि तोडिदिएको छ ।’

ब्याण्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेश्रो शो सम्पन्न गरेको छ ।

टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ फेब्रुअरीको ३ तारिख फेरि नेपथ्य घन्किने छ । अष्ट्रेलियाको केन्द्रिय राजधानी यो सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुनलागेको हो । त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा शो आयोजना हुँदैछ ।

त्यसपछि ब्याण्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा अष्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती नेपथ्यले दिनेछ ।

तस्बिरहरु: लबेश श्रेष्ठ र नेपालय