१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो आउँदैछ सरकारको न्युनतम साझा कार्यक्रम



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ ।

सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्युनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् । कतिपय दलहरु भने सरकारले ल्याउने न्युनतम साझा कार्यक्रमलाई हेरेर मात्र सरकारमा सहभागि हुने नहुने निर्णय गर्न पर्खाइमा रहेका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारुढ गठबन्धनका नेताहरुले देशको आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम भएको बताएका छन् । सरकारको न्युनतम साझा कार्यक्रममा देशको आर्थिक समस्यालाई समाधान गर्नेगरी योजना समेटीने नेताहरुको भनाई छ । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले सरकारको नीति तथा कार्यक्रम आर्थिक समस्याहरुको सामना गर्ने योजनासहित अघि बढाइने बताउनु भयो ।

उहाँले सरकारलाई मितव्ययी बनाउनुपर्ने बताउनु भयो । विगत दश वर्षमा भूकम्प, नाकाबन्दी, कोभिड–१९ र रसिया–युक्रेन युद्धको प्रभावका कारण देशको अर्थतन्त्रमा समस्या देखापरेको भन्दै उहाँले देशको अर्थतन्त्रलाई सुदृढ गर्नेगरी सरकारको नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रलाई माथि उकास्नका लागि ठोस कदम चाल्न आवश्यक रहेको भन्दै उहाँले सो विषयलाई साझा नीति तथा कार्यक्रममा समावेश गरिने बताउनु भयो । उहाँले भन्नुभयो – ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गणतन्त्र मान्दैनौँ भन्नेहरु समेत आएर समर्थन गर्ने कुराले के गर्छ भने हाम्रो संविधानको सर्वस्वीकार्यतालाई बढाउँछ । त्यो एउटा सकारात्मक कदम मान्नुपर्छ । राजनीतिक पार्टीका आफ्ना अडानहरु आफ्नो ठाउँमा त होला । न्युनतम साझा कार्यक्रममा जाँदा नेपालको एक दुई वटा जटिलताहरुको बारेमा हामीले ध्यान दिनुपर्ने हुन्छ ।

हाम्रो जुन अर्थतन्त्र छ, बितेको दश वर्षमा चारवटा ठूलाठूला झड्का खाएको अर्थतन्त्र हो । भूकम्प, नाकाबन्दी, कोभिड–१९ र रसिया–युक्रेन युद्धको प्रभावको झड्का हामीले खाइसकेका छौँ । विश्वव्यापी रुपमा के प्रक्षेपण हुँदैछ भने सन् २०२३ पछिको वर्ष विश्वव्यापी रुपमा आर्थिक मन्दीको वर्ष हुन्छ भन्ने कुरा विश्वव्यापी रुपमा अर्थशास्त्रीहरुले धेरै बहस गरिरहेका छौँ । त्यसबाट पनि प्रभावित हुँदैछौ हामी नेपालीहरु । यसको सामना गर्नेगरी हामीले योजना बनाएर नीति, कार्यक्रम अगाडी बढाउनुपर्छ । सरकारलाई सकेजति मितव्ययी बनाउनुपर्छ । मन्त्रीहरु र एक लेभलका कर्मचारीहरुले गत बजेटमा बढाइएको तलव नखाने भन्ने त क्याबिनेट बाट निर्णय पनि भइसकेको छ । त्यो तलसम्म प्रोत्साहित गर्नुपर्ने हुन्छ र मितव्ययी किसिमले हामी अगाडी जानुपर्ने हुन्छ । जनताको प्रश्न छ, हाम्रो जीवन बदलिने आधार खोइ ? जनताले त्यो खोजेको छ । नीति कार्यक्रम जो तयार हुँदैछ, त्यसको डिटेल कुरा त आसन्न बजेटमा आउँला । नीति, कार्यक्रममा आउँला तर अहिले हामीले जुन साझा, नीति कार्यक्रम बनाउँदै छौँ त्यसमा जनताको जीवनमा परिवर्तन गर्नेगरी, त्यसको जग बसाल्नेगरी ठोस कार्यक्रम हामीले निर्माण गर्नुपर्छ । र त्यस्तो कार्यक्रम निर्माण गर्नको निम्ति गठबन्धनमा सामेल पार्टीहरुको जनताको जीवन बदल्ने कुरामा धेरै ठूलो बिमति हुँदैन । आम जनताको जीवन बदल्ने र देशको अर्थतन्त्रलाई माथि उकास्नको लागि हामीले ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।’

उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई गणतन्त्र बिरोधीहरुले समेत समर्थन गर्नाले संविधानको सर्वस्वीकार्यतालाई बढाएको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको माग बमोजिम पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सकिने बताउनु भयो । उहाँले सरकारको साझा कार्यक्रमको नाममा गणतन्त्र र संविधानको बिरुद्धमा भने जान नसकिने प्रष्ट पार्नुभयो । गठबन्धनका दलहरुको जायज मागहरुलाई सम्बोधन गर्दै र नाजायज मागहरुलाई सम्बन्धित दलले नै थाँति राख्दै गठबन्धनलाई मजबुत बनाएर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धनका दलहरुको कुरा एउटा सीमासम्म मान्ने कुरा हुन्छ । जस्तो पौष २७ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाऔँ भन्ने कुरामा धेरै ठूलो विमतिको कुरा होइन । तत्कालिन राज्यले आफ्नो ठाउँमा अन्याय, अत्याचार पनि ग¥यो होला, शोषण पनि ग¥यो होला । राज्यका विभिन्न रुप होलान् । तर नेपाल एकिकरण भएको कुरा त सत्य हो नि । त्यो कुरालाई टेकेर जाने कुरामा हाम्रो ठूलो विमति नहोला । केही कुरा हामीले मानिदिनुपर्ने पनि होला । केही कुरा उहाँहरुको माग थाति राखेर गठबन्धनमासँगै जानुपर्ने कुरा पनि होला । असम्भव कुरा गरेर, असम्भव सम्झौता गरेर गणतन्त्र, संविधान जहाँसुकै जाओस् । परिवर्तन जहाँसुकै जाओस् । हामी सत्तामा टाँसिन्छौँ भन्ने किसिमले त सोच्न पनि सक्दैनौँ । तर एउटा सीमासम्म हामीसँग विमति राख्ने दलहरुलाई पनि समेट्ने गरी उहाँहरुका केही जायज मागहरु सम्बोधन गर्नेगरी र तत्काल पूरा हुन नसक्ने उहाँहरुको मागलाई उहाँहरुले थाँति राखेर गठबन्धनलाई मजबुत बनाएर जानुपर्छ । त्यही नै परिपक्वतापूर्ण निर्णय हुन्छ ।’

सचिव आचार्यले वर्तमान सरकारले आफ्नो अवधिभरमा जमिन बाँझो राख्न र जमिनको अनावश्यक टुक्रा गर्न नदिने बताउनु भयो । राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न पहल लिइने उहाँको भनाई छ । त्यस्तै विदेशिने कुरालाई निरुत्साहित गर्दै देशमै केही गरी देशलाई आत्मनिर्भर बनाउने कुरामा सरकारको प्राथमिकता रहने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘साढे दुई वर्षको अवधिमा हामीले नेपाली जनतालाई तिम्रो जीवन बदल्ने आधारहरु यो हुन्, तिमीले आफ्नो नाममा भएको जमिन बाँझो राख्न पाउन्नौँ । जमिनको अनावश्यक टुक्रा गर्न हामी दिन्नौँ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई हामीले समयमा सम्पन्न गर्नको निम्ति पहल कदमी गर्छौ । त्यसका साथसाथै देश, विदेशमा भएका सबै नेपालीहरुले आफ्नै देशमा दुःख सुख गरेर बस्ने वातावरण बनाउने र विदेश जाने, घर छोडेर हिड्ने कुरा परम्पराजस्तै भएको छ । यसलाई पनि निरुत्साहित पार्ने र हाम्रो ढुंगो, माटो, पानी, वनजंगलसँग लडेर केही न केही आयआर्जन गरेर गरेर देशलाई आत्मनिर्भर बनाउने कुरा नै सरकारको मुलभुत रुपमा प्राथमिकतामा पर्छ र त्यही दिशामा यो सरकारले काम गर्छ ।’
त्यस्तै सत्तारुढ दल नेकपा(एमाले)का सचिव योगेश भट्टराईले देशको अर्थतन्त्रलाई उकास्नु नै सरकारको मुख्य कार्यभार रहेको बताउनु भयो । गठबन्धनले अर्थतन्त्रलाई बलियो बनाउने गरी साझा नीति तथा कार्यक्रम बनाउने उहाँले बताउनु भयो । उत्पादन क्षमतालाई वृद्धि गर्ने, राजश्व संकलनलाई लक्ष्य अनुरुप बनाउने, विकास खर्च र पँुजिगत खर्च बढाएर अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अगाडी बढाउनुपर्ने उहाँको भनाई छ । पाँच वर्षको अवधिमा व्यापार घाटाको सन्तुलन कायम गर्ने सरकारको जोड हुने उहाँले बताउनु भयो । त्यस्तै सुशासन कायम गर्नु सरकारको मुख्य काम भएको उहाँले उल्लेख गर्नुभयो । सचिव भट्टराईले सेवा प्रवाह छिटो, छरितो गर्नु र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणको सवालहरुमा सरकारको प्राथमिकता हुने उल्लेख गर्नुभयो । परराष्ट्र सम्बन्धमा असंलग्नता र पञ्चशिलको सिद्धान्तको आधारमा नेपालले आफ्नो सम्बन्धलाई स्थापित गर्ने नीतिलाई नै प्राथमिकता दिइने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो संयुक्त सरकार हो । यहाँ विभिन्न राजनीतिक विचारधारा भएका पार्टीहरु यो गठबन्धनमा सामेल हुनुहुन्छ । त्यसकारणले यो सरकारको साझा नीति, कार्यक्रम पनि सबै राजनीतिक दलहरुलाई मान्य हुनेखालकै हुनेछ । त्यसमा हाम्रो मुख्य प्राथमिकता के हुनेछ भने विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र गम्भिर समस्यामा फसिराखेको छ । यो अर्थतन्त्रलाई उकास्ने, हाम्रो उत्पादन क्षमतालाई वृद्धि गर्ने, राजश्व संकलन लक्ष्य अनुसार भइराखेको छैन । त्यसलाई द्रुत गतिमा बढाउने । विकास खर्च बढाउने । पुँजिगत खर्च बढाउने । र अहिले बजारमा देखिएको आर्थिक संकटलाई समाधान गर्ने र आर्थिक स्थितिलाई सकारात्मक दिशामा अगाडी बढाउने । पहिलो हाम्रो जोड यसमा हुनेछ । दोस्रो अबको पाँच वर्षमा हामीले बढीभन्दा बढी निर्यातलाई प्राथमिकता दिने र आयातलाई कम गर्ने यसले गर्दा विदेशसँगको व्यापार घाटा सन्तुलन कायम गर्ने । यो हाम्रो अर्को जोड हुनेछ ।

त्यस अनुसारका नीतिहरु हामी बनाउने छौँ । अर्को भनेको मुख्यकुरा सुशासन हो । अहिले पनि आम जनताले छिटो, छरितो सेवा खोजेका छन् । त्यसकारण हाम्रो सम्पूर्ण सरकारी संयन्त्रहरु, तीन तहको सरकारले छिटोभन्दा छिटो आफ्नो गतिलाई अगाडी बढाउने, सुशासन दिने र सरकारी सेवाहरु द्रुत गतिमा सेवा प्रवाह गर्ने । त्यसको लागि उचित ठाउँमा उचित मान्छेहरु राख्ने । काम नगर्ने कुनै कर्मचारी छन् भने उनीहरुलाई हटाउनुप¥यो । त्यसमा काम गर्न सक्ने योग्य मानिसहरुलाई त्यो ठाउँमा राख्नुप¥यो । जनसरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणको सवालहरु नै हाम्रो प्राथमिकतामा हुन्छन् । र अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले हाम्रो देश एउटा रणनीतिक भूराजनीतिक अवस्थामा छ । त्यसो हुँदा हाम्रा दुईवटा मुख्य छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई सन्तुलित गर्ने । हाम्रो विदेश सम्बन्धलाई राष्ट्रिय हीतमा परिचालित गर्ने । र सबै मित्र राष्ट्रहरु सँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग नेपालको राष्ट्रिय हीतमा दुईपक्षिय सम्बन्ध कायम गर्दै उनीहरुको विकास र प्रगतीबाट बढीभन्दा बढी नेपालले फाइदा लिने । विश्व रंगमञ्चमा असंलग्नता र पञ्चशिलको सिद्धान्तको आधारमा नेपालले आफ्नो सम्बन्धलाई स्थापित गर्ने । यो वैदेशिक नीतिमा हाम्रो प्राथमिकतामा पर्छ ।’

उहाँले गणतन्त्र आवश्यक छैन भन्ने कुरा र राजतन्त्र ल्याउँछु भन्ने जस्तो कुरा साझा कार्यक्रममा नआउने स्पष्ट पार्नुभयो । नेपालमा धार्मिक स्वतन्त्रता हुन्छ भन्ने कुरा भने साझा कार्यक्रममा आउने बताउनु भयो । संघीयताको बिरोधको कुरा पनि सरकारको न्युनतम साझा कार्यक्रममा नआउने सचिव भट्टराईले स्पष्ट पार्नुभयो । वर्तमान सरकारको नीति, कार्यक्रममा संघीयता, गणतन्त्रप्रति प्रतिवद्धता र संविधानलाई कार्यान्वयन गर्ने कुरामा प्रतिवद्धता हुने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘संसदमा जतिपनि राजनीतिक शक्तिहरु आउनुभएको छ । उहाँहरु नेपालको संविधानप्रति प्रतिवद्ध भएर आउनुभएको छ ।

कसले संघीयता मान्नुहुन्न, कसलाई धर्मनिरपेक्षता चाहिन्छ, कसलाई के चाहिन्छ भन्ने कुरा ति उहाँहरुका राजनीतिक एजेण्डा हुन् । त्यो उहाँहरुले भन्न पाउनुहुन्छ । गर्न पाउनुहुन्छ । तर संसदमा आएर संविधानअनुसार शपथ खाइसकेपछि यो संविधानलाई कार्यान्वयन गर्नु, यो संविधानलाई अझ सुदृढ गर्नु र यो संविधान अनुसार आचरण गर्नु सबै राजनीतिक दलको र उहाँहरुबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीहरुको दायित्व हो । उहाँहरुले यो संविधानलाई पालना गर्नुपर्छ । त्यस अर्थमा नै यो एउटा साझा सरकार पनि हो । संयुक्त सरकार पनि हो । सरकारमा बसेर, संसदमा बसेर गणतन्त्र चाहिँदैन राजतन्त्र ल्याउँछु भन्नेकुरा साझा कार्यक्रममा आउँदैन । संघीयता खारेज गर्छु भन्ने कुरा साझा कार्यक्रममा आउँदैन । नेपालमा धार्मिक स्वतन्त्रता हुन्छ भन्नेकुरा साझा कार्यक्रममा हुन्छ । कुनै एउटा धर्मलाई मात्रै प्रश्रय दिने कुरा हाम्रो साझा कार्यक्रममा हुँदैन । सबै जाति, भाषा, धर्म, संस्कृतिलाई समान हैसियतले सम्मानजनक व्यवहार गर्नेकुरा हाम्रो साझा कार्यक्रम हो । कुनै पार्टीको लक्ष्य होला, घोषणापत्रमा उहाँहरुको आफ्नो होला । पार्टी विधानमा होला । पार्टी नीति, कार्यक्रममा होला । तर सरकारको नीति, कार्यक्रममा संघीयताप्रति प्रतिवद्धता हुन्छ । गणतन्त्रप्रति प्रतिवद्धता हुन्छ । र यो संविधानलाई कार्यान्वयन गर्ने कुरामा प्रतिवद्धता हुन्छ ।’

सचिव भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहने बताउनु भयो । उहाँले शिर्ष नेताहरुबिचमा साढे दुई वर्ष पुष्पकमल दाहाल र बाँकी साढे दुई वर्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भद्र सहमति भएको बताउनु भयो । यो गठबन्धन आगामी निर्वाचनसम्म जाने उहाँले दाबी गर्नुभयो । एमाले माओवादीका बीचमा कार्यगत एकता भएर पहिलो पाइला शुरु भएको भन्दै उहाँले हजार पाइलापछि पार्टी एकता पनि हुनसक्ने बताउनु भयो ।

यता, जनता समाजवादी पार्टी, नेपालले भने वर्तमान सरकारलाई विश्वासको मत दिने भएपनि सरकारमा सामेल हुन भने शर्त तेस्र्याएको छ । जसपाले सरकारमा जानका लागि संवैधानिक पदहरुमा पनि आफुहरुलाई भागबण्डा गर्नुपर्ने माग राखेको छ । उसले राष्ट्रपतिदेखि प्रदेश सभाको उपसभामुखसम्म दलहरुका बिचमा भागबण्डा हुन लागेको भन्दै आफूहरुको भागमा पनि संवैधानिक पद परेमा सरकारमा सहभागि हुने स्पष्ट पारेको छ । अन्यथा सरकारमा सहभागि नहुने तर विश्वासको मत भने दिने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले न्युज एजेन्सी नेपाललाई बताउनु भयो । उहाँले भन्नुभयो –‘जनता समाजवादी पार्टी सरकारमा जान कुनै लालायित पार्टी हो भन्ने छैन ।

हामीले मलाई यो पद देउ, त्यो पद देउ भनेर भागबण्डाको, कुनै माग दाबीको सूची बनाएर पनि हामीले सत्तारुढ घटक समक्ष प्रश्तुत गर्ने होइन । तर प्रष्ट कुरो के छ भने देशको विभिन्न संवैधानिक पदहरुको बाँडफाँट भइरहेको छ भन्ने हामीलाई पनि हेक्का छ । त्यो भनेको राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभाका सभामुख, उपसभामुखदेखि लिएर तल प्रदेश सभाका उपसभामुखसम्म थुप्रै राजनीतिक पदहरुको बाँडफाँट हुँदैछ । जनता समाजवादी पार्टीले अहिलेसम्म निःस्वार्थ रुपले पुष १० गते हतार हतारमै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेर राष्ट्रपतिकहाँ सुचित गरेकै हो । यो अवस्थामा सो सरकारमा सामेलीको बाटो पनि खुल्ला छ । तर सरकारमा सामेल हुन त हामी हतार गर्दैनौँ नि । सरकारमा सामेल हुन हामीले दुईवटा शर्त अगाडी तेस्र्याएका छौँ । सरकारको नीति तथा कार्यक्रम जनता समाजवादी पार्टीले सामिप्यता देख्नुप-यो । हाम्रो पार्टीको मुल सिद्धान्त, उद्देश्यहरु त्यसमा देखिनुप¥यो । राष्ट्रपतिदेखि प्रदेश सभाको उपराष्ट्रपतिसम्म नै मन्त्रीपरिषद्का सदस्यहरु पनि भैहाले । यसरी शक्ति सन्तुलनमा चित्त बुझ्यो भने हामी सरकारमा सामेल हुने हो । अन्यथा जसपा सरकारमा सामेल हुन न त आतुर छ, न त आवश्यकता छ । प्रचण्डजीको सरकारलाई समर्थन जारी नै रहनेछ ।’

जसपाले संवैधानिक पदहरुको भागबन्डाको अलवा सरकारको न्युनतम साझा कार्यक्रमलाई पनि कुर्ने भएको छ । संघीयता, समावेशिता, अल्पसंख्यक समुदायको हीत, नागरिकता समस्याको दीर्घकालिन समाधान, संविधान संशोधन, निर्वाचन प्रणालीमा व्यापक फेरबदल, शासकिय स्वरुप लगायतका कुराहरु आफूहरुको बटम लाइन भएको र सो कुराहरु न्युनतम साझा कार्यक्रममा समावेश हुनुपर्ने प्रवक्ता सुमनले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले भनिसकेका छौँ, नीति तथा कार्यक्रम बनाउँदा संघीयता, गणतन्त्र, संविधान संशोधन, निर्वाचन प्रणाली, शासकिय स्वरुपका बारेमा तपाईहरु प्रष्ट हुनुस् । किनकी सत्ता गठबन्धनको अहिलेको समिकरण देख्दा फिटिक्कै धर्म निरपेक्षता नमान्ने, हामी धर्मनिरपेक्षता पक्षधर । फिटिक्कै संघीयता नमान्ने । हामी संघीयता पक्षधर । हामी गणतन्त्र पक्षधर । यस्तो साथीहरुको उपस्थिति देखेर नीति तथा कार्यक्रम हाम्रो अनुकुल हुन्छ कि हुँदैन, साँच्चै समय सापेक्ष हुन्छ कि हुँदैन भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । त्यो हामीले अपेक्षा राखेका छौँ । हामी संघीयता, समावेशिता, अल्पसंख्यक समुदायको हीत, नागरिकता समस्याको दीर्घकालिन समाधान, संविधान संशोधन, निर्वाचन प्रणालीमा व्यापक फेरबदल, शासकिय स्वरुप जस्ता कुराहरु हाम्रो बटमलाइन नै हुन् । यि कुराहरु समेतको न्युनतम साझा कार्यक्रम यो सरकारले बनाउनुपर्दछ भनेर हामीले सरकारका सत्ता घटकहरुलाई निवेदन गरिसकेका छौँ । उहाँहरुले हुन्छ भन्नुभएको छ ।’

वर्तमान सत्तारुढ गठबन्धनको समिकरण हेर्दा आफूहरुलाई गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको सम्बन्धमा सरकारको धारणाप्रति आशंका उब्जिएको पनि उहाँले बताउनु भयो ।