३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शैक्षिक पर्यटकीय गन्तव्य बन्दै संस्कृत विद्यालय

शैक्षिक पर्यटकीय गन्तव्य बन्दै संस्कृत विद्यालय
अ+ अ-

महोत्तरी । ‘यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरीको मटिहानी–७ स्थित तीन सय चार वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय) अवलोकनपश्चात् भारतीय विद्वान पूर्वीय दर्शनका ज्ञाता रमेशचन्द्र टिकमानीले आगन्तुक पुस्तिकामा लेख्नुभयो ।

गत वैशाख ६ गते विद्यालय अवलोकनका लागि प्राध्यापक, अन्वेषक र विश्लेषकहरुको भारतीय टोली साथ आउनुभएका टिकमानीले भारत वर्ष (हालको दक्षिण पूर्वी एसिया क्षेत्र, आर्यावर्त) को पुरातन भाषा, साहित्यको विकास र संरक्षणमा राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको योगदानको स्मरण गर्नुभएको छ । प्राचीन र वैज्ञानिक भाषा संस्कृतको संवद्र्धनमा विद्यालयको योगदानको टिकमानीले सराहना गर्नुभएको छ ।

गत वर्ष मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो विद्यालय अवलोकन गर्नु भएपछि यहाँ पाहुना आउने क्रम ह्वात्तै बढेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको आगमनले विद्यालयको ओज बढेको प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ । “बितेको एक वर्षभित्रै दुई सयभन्दा बढी विशिष्ट व्यक्तित्वको आगमन भएको छ, हामीले विद्यालयको अवस्थाबारे अवगत गराउन पाएका छौँ”, पौडेल भन्नुहुन्छ । देश विदेशका विशिष्ट व्यक्तित्व र विभिन्न क्षेत्रका अध्येताहरुको बाक्लो आगमनले यो विद्यालय शैक्षिक पर्यटनको गन्तव्य बन्दै गएकामा मटिहानीवासी खुसी छन् ।

पछिल्लो एक वर्षभित्र विश्वविख्यात क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधिको शोध गरिरहेका ग्रेस मुइलर र प्रमोदकुमार मेहताले गत वैशाखमै विद्यालयको अवलोकन भ्रमणसँगै यहाँको पठनपाठन र व्यवस्थापनबारे जानकारी लिनुभएको थियो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय कोषका नेपालस्थित विशिष्ट अधिकारी इरफान अलराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी र प्राडा ऋषिराम पौडेलसहितका व्यक्तित्व गत भदौमा विद्यालय अवलोकनमा आउनुभएको थियो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पूर्वमन्त्री हृदयेश त्रिपाठी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, मधेस प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज र भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायले पनि यस विद्यालयको अवलोकन गर्नुभएको छ ।

यस्तै विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारी, संवैधानिक अङ्गका पदाधिकारी, देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, विभिन्न धार्मिक संस्थाका प्रमुखहरुले विद्यालय अवलोकनपछि आगन्तुक पुस्तिकामा ‘यो विद्यालय मुलुककै शिक्षा क्षेत्रको जिउँदो इतिहास रहेको’ भन्नेदेखि पुरातन भाषा, साहित्यको अध्ययन, खोज र संरक्षणमा विद्यालयले दिएको योगदानबारे उल्लेख गर्नुभएको छ ।

विशिष्ट व्यक्तित्वसहित देश विदेशका अतिथिको सघन अवलोकनले विद्यालय शैक्षिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । “गत वर्ष राष्ट्रपतिबाट भएको मटिहानी भ्रमणका क्रममा विद्यालय अवलोकनले विद्यालय परिवार र मटिहानीवासी हौसिएका छौँ”, नगर प्रमुख मण्डल भन्नुहुन्छ, “स्थानीय तहको सीमाभित्रका काम हामी अघि बढाउँछौँ, प्रादेशिक र सङ्घीय सरकारको साथ पाए यो विद्यालय र यससँगै जोडिएको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) लाई संस्कृत भाषा÷साहित्य र पूर्वीय दर्शनको अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।” अवलोकनमा आउनुभएका विशिष्ट व्यक्तित्वहरुबाट यसबारे पाएको प्रोत्साहन र सहयोगको आश्वासनले मटिहानीवासी हौसिएका मण्डलको भनाइ छ ।

एकताका उच्च कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने यस संस्कृत पाठशालाको अब नाउँ मात्र फेरिएको छैन, राजकीय संस्कृत माध्यमिक विद्यालय सबै जातजाति र समुदायको साझा बन्दैछ । यहाँ अहिले विभिन्न जातजाति÷धर्म सम्प्रदायका बालबालिका अध्ययन गर्दैछन् । “विद्यालयमा अहिले मधेसका मात्र नभएर पहाडी जिल्लाका दलित समुदायका छोरी पनि पढ्दैछन्”, विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल भन्नुहुन्छ, “छोरी शिक्षालाई त विशेष ध्यान नै दिएका छौँ, कक्षा ११ र १२ को शिक्षा पनि छोरीलाई पूर्ण निःशुल्क छ ।” विद्यालयमा हिन्दू र बौद्ध परम्पराका मात्र नभएर इस्लाम धर्मावलम्बी छात्रछात्राको संस्कृत पढ्ने रहरले आफ्नो गुरुकुल सबैको साझा फूलबारी बनेको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ ।

भारतसँग सीमा जोडिएको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय जातीय दृष्टिले मात्र नभई पहाड–मधेस सम्बन्धको आधार बनेको छ । करिब तीन सय पाँच वर्षको इतिहास बनाएको यो गुरुद्वारा (विद्यालय) मा संस्कृत विषयको अध्ययन मोहले आउने पहाडी जिल्लाका वटुक (विद्यार्थी) को ठूलो उपस्थितिले यो पहाड–मधेस सम्बन्धको सेतु रहँदै आएको मटिहानीवासी बताउँछन् । यसबाहेक छिमेकी भारतका पनि उल्लेख्य सङ्ख्याका वटुक यहाँ अध्ययन गर्दछन् ।

हरिॐ नमस्ते रुद्र मण्याय…! ’ सखारैको रुद्राभिषेक पाठ । लामो टुपी पालेका पितवस्त्रधारी वटुकहरुको रुद्राभिषेक पाठसँगै सुरु हुने नियमित दैनिकीको चहलपहलले गुरुद्वाराको चहक सधैँ उजेलिएकै हुन्छ । विद्यालयमा पछिल्ला पाँच वर्षयता महर्षि फाउन्डेसनको सहयोगमा अखण्ड रुद्राभिषेक हुँदै आएको छ । “गुरुकुलका वटुकको अनुशासन, नित्य रुद्राभिषेक पाठ र योगध्यानसहितका कक्षा हाम्रो चित्तमा सधैँ रहने सम्झना हुन्”, गुरुकूल रहेको महिटानी–७ का वडाध्यक्ष जितनारायण माझी भन्नुहुन्छ ।

विद्यालय परिसरमा पुग्ने विशिष्ट पाहुनाको स्वागतमा विद्यार्थी वैदिक मन्त्रोच्चारणले न्यानो स्वागत र स्वस्तिवाचन गर्छन् । विद्यालयको दैनिक तालिकामा बाँधिएको नियमले सबैलाई अनुशासनमा बाँधेको छ । “बिहान उठ्ने, नित्यक्रियाबाट निवृत्त हुने, योगाभ्यास गर्ने, दैनिक रुद्री पाठ गर्ने, खाने, कक्षामा जाने, गृहकार्य गर्ने, घुम्ने, खेलकुद गर्ने र रात्रि विश्रामसम्मका सबै कामका निश्चित समय तालिका बाँधिएको छ”, मटिहानीकै बासिन्दा जिल्लाका अग्रज पत्रकार विन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “गुरुकुलले शिक्षा र सामाजिक अनुशासनको ज्ञान सँगसँगै दिएको छ ।”

पहाडी विद्यार्थीसँगको हेलमेलले मटिहानीसँगै जोडिएको भारतीयबजार मधवापुरमा पनि नेपाली भाषा बुझ्ने बोल्ने प्रशस्त भेटिन्छन् । पहाडी विद्यार्थी पनि मिथिलाको स्थानीय भाषा मैथिली बोल्न पोख्त भएका छन् । विद्यालयमा आयोजन हुने अतिरिक्त क्रियाकलापमा वक्तृत्वकला, गायन र मनोरञ्जनात्मक कार्यक्रम पनि समाविष्ट छन् । गायन, वक्तृत्वकला र सरसफाइ सचेततामा विद्यार्थी अब्बल देखिँदा छन् । विद्यालयको स्थापित यो परम्परा र विद्यार्थीको अनुशासन आगन्तुक अतिथिका लागि आकर्षण बनेको छ ।

विसं १७७५ मा स्थापित भनिने यो विद्यालयको प्रमाणिक अभिलेख भने विसं १८८२ देखिको भेटिएको छ । राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान् लक्ष्मीनारायण र महामुनि याज्ञवल्क्यका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा स्नातक तहसम्मको उच्च शिक्षा लिन पाएपछि यहाँ पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको हो ।

अन्य विद्यालयमा कक्षा ९ देखि माध्यमिक तह मानिए पनि यहाँ भने कक्षा ८ देखि नै माध्यमिक तह मानिन्छ । अहिले विद्यालयका कूल एक सय पाँच विद्यार्थीमा छात्राको सङ्ख्या ४० प्रतिशतको हाराहारी छ । अन्य माध्यमिक विद्यालयमा जस्तै पठनपाठन हुने अनिवार्य विषयका अतिरिक्त अनिवार्य संस्कृत र ऐच्छिक विषयमा संस्कृतभित्रका साहित्य, ज्योतिष, वेद, व्याकरण, न्याय र कर्मकाण्डमध्ये दुईवटा विषय पढ्नुपर्ने हुन्छ । तीन/चार दशक पहिलेसम्म भरिभराउ विद्यार्थी हुने यो विद्यालयमा संस्कृततर्फको रुचि घट्दै गएर विद्यार्थी सङ्ख्या पातलिएको प्रधानाध्यापक पौडेलको ठम्याइ छ ।

विद्यालयमा अध्ययन गर्ने ४४ जना छात्रछात्रालाई गुठी संस्थानले खानाबापत दाल, चामल र सागसब्जी, मसला, तेलभुटुन र इन्धनबापत नगद दिने गरेको छ ।टाढाटाढाबाट पढ्न आउने विद्यार्थीका लागि खाट, ओढ्ने ओछ्याउने लुगा र खाना व्यवस्थापनको कुरासम्म माँङ्चाङ्बाट चलेको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

धेरैजसो अत्यन्त निर्धन परिवारका नै आफ्नो विद्यालयका छात्रछात्रा रहेका पौडेलले बताउनुभयो । बालगुरु षडाननले समेत शिक्षा लिएका मानिने यो विद्यालय तश्मैया बाबा (तश्मैया नाउँका साधक, मुनि) ले स्थापना गरेर यसको सञ्चालन गुठीबाट हुने व्यवस्था मिलाएका मटिहानीका बूढापाका बताउँछन् ।

पछिल्लो समय शिक्षा मन्त्रालय, गुठी संस्थान र अन्य सम्बद्ध निकायको उदासीनताले पूर्वीय दर्शन र प्राचीन साहित्य अध्ययनको यो थलो क्रमशः आकर्षणविहीन बन्दै गएको यहाँका बासिन्दाको गुनासो छ । कुनै खास भूगोल क्षेत्र मात्र नभएर पूर्वीय वैदिक संस्कृतिको उज्यालो सबैतिर छर्दै आएको राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको संरक्षण र संवद्र्धनमा तीनै तहका सरकारले चासो बढाउनपर्ने माग अहिले बढेको छ । रासस