६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने

नेपथ्य देशदौडाहाको बुटवलमा भब्य प्रस्तुती

नेपथ्य देशदौडाहाको बुटवलमा भब्य प्रस्तुती
अ+ अ-

बुटवल । पुसको चिसो चलिरहेको बेला पनि नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितीका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ । तीन साताअघि सुरुभएको लोकरक ब्याण्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी यहाँस्थित ‘रामनगर खेलमैदान’मा आयोजित भएको थियो ।

सुरुमा दुइवटा म्यूजिक भिडियो देखाउन थालेदेखि नै दर्शकहरुमा उत्साह सुरुभइसकेको थियो । यसैबीच ब्याण्डले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनायो । ब्याण्डकै यो पहिलो सिर्जना प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरु देखाइएको थियो । गीत अघि बढ्दै जाँदा ब्याण्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरि तस्बिरहरुको संयोजन गरिएको थियो ।

बुटवलमा यसअघि नेपथ्य ७ पटक आफ्नो प्रस्तुती लिएर उपस्थित भइसकेको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । अघिल्लोपटक सन् २०१८ मा यहाँको रंगशालामा खुला प्रस्तुती सहित ब्याण्ड उपस्थित भएको थियो ।

बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी र सुर्खेतपछि यसपटकको श्रृंखलामा यो आठौं प्रस्तुती थियो ।

बुटवलले न्यानो स्वागतको संकेत ब्याण्ड यस सहरमा उपस्थित भएको क्षणदेखि नै दिएको थियो । ७० सदस्यीय टोली वीरेन्द्रनगर सुर्खेतबाट आइपुग्दैगर्दा ब्याण्डका सदस्यहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले होटलको ढोकामै फूलमालासहित स्वागत गरेका थिए ।

‘नेपथ्यलाई मनोरञ्जनका हिसाबले मात्र बुझिनु अधुरो हुनजान्छ,’ स्वागतपछिको औपचारिक समारोहमा नगरप्रमुख पाण्डेले भनेका थिए, ‘यो ब्याण्ड हाम्रो नेपाली पहिचान र संस्कृतिको योद्धा पनि हो ।’ शनिबार बेलुकी नेपथ्यको कन्सर्टमा पनि नगरप्रमुख पाण्डेले सुरुदेखि अन्तिमसम्मै सहभागीता जनाएका थिए ।

ब्याण्डले दोश्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गरयो । त्यतिबेला सँधैजस्तै रामनगर खेलमैदानमा पनि इफेक्टको प्रयोग गरेर मञ्चअगाडि हिउँ झरेको देखाइएको थियो । कार्यक्रम अघि बढ्दै जानेक्रममा टोलीले उसको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो । त्यसपछि भने ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे ।

‘संगीतसँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेसदेखि बुटवलमा जम्मा भइ यो ठाउँ गुलजार बनाइदिने तपाइहरु सबैलाई धन्यवाद ।’

त्यसपछि उनले तमाम दर्शकहरुलाई समय मिलाएर गाउँजाने सुझाव दिँदै सुरुगरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि नेपथ्यको अर्को पुरानो गीत थियो, ‘चरि म-यो शिशैको गोलीले’।

यो गीत बुटवल छेउकै तानसेन सहरमा कुनै समय त्यहाँको देउराली ब्याण्डले जन्माएको थियो । उक्त ब्याण्डबाटै यो सिर्जना नेपथ्यले प्राप्त गरेको हो । ‘उहिले दक्षिणतर्फको आकाश खुला भएको बेला रुपन्देही छेउको भारतीय बजार नौतनवातिर गुड्दैगरेको रेल तानसेनबाट देखिन्थ्यो रे १’ गीतमा प्रयोग गरिएको उडायो रेलैले भन्ने शब्दलाई अथ्र्याउँदै अमृत भन्छन्, ‘त्यसरी देखिने रेल झट्ट हेर्दा बादल माथिबाट गुडिरहेको भान पथ्र्यो । त्यहि भावभूमि समातेर त्यो शब्दले उडेको रेलको परिकल्पना गरेको हो ।’

लगत्तै ‘जोमसोमे बजारमा’ सुनाएपछि अमृतले फेरि दर्शकहरुसँग संवाद गर्दै नेपालमा विश्वमै अन्त कतै नभएका अग्ला हिमाल, मनोरम पहाड र शान्तिको उज्यालो छर्ने गौतम बुद्धको जन्मस्थल रहेको उल्लेख गरे । ‘हामीकहाँ केवल तन्नेरीहरुलाई अवसरको कमी भइदियो,’ उनले अनुरोध गरे, ‘यस मुलुकका भाग्यरेखा कोर्नेहरुले त्यति एउटा काम गरिदिनुहोस् ।’

त्यसपछि बुटवलकै माथि अर्को भेग धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

यी गीतहरु र यसले ओगटेका फरक फरक भूमिहरुको बयान गरिरहँदा गायक अमृतले उपस्थित श्रोता दर्शकलाई आन्तरिक पर्यटकका रुपमा घुमेर आफ्नो मुलुकलाई चिन्न अनुरोध पनि गरिरहेका थिए ।

त्यसपछि गाइएको गीत त झनै बुटवलकै बाटो भएर लाहुर आवतजावत गर्नेहरुले ओसारेका थिएः

‘नैनाताल नैनाताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल’

गीतसँगै उनले आफ्ना पुर्खाहरुको अनुभव अघिसार्दै गोर्खाभर्तीका सुखदुःख पनि सुनाए ।

कार्यक्रम अवधिभर गायक अमृतले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे पनि बोलेका थिए ।

घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरुको मनछुने तस्बिरहरु देखाइएको थियो ।

गुरुङले शुक्रबार मात्रै ‘मानव सेवा आश्रम’को बुटवलस्थित शाखा कार्यालय भ्रमण गरेका थिए । त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरुलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्याण्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए ।

बुटवल कन्सर्टको अर्को महत्वपूर्ण विशेषता नेपथ्यले भर्खरै तयार पारेको गीत ‘भटभटे’ पनि बन्नपुग्यो । ब्याण्डको यस नौलो गीतलाई बुटवलकै मैदानमा शनिबार पहिलोपटक प्रस्तुत गरियो ।

‘भटटट भटटट भटभटे आयो
बाटो छोड छोड छोड’

हाम्रा सहरबजारमा तन्नेरीहरुमाझ मोटरसाइकलको चल्ती बढ्दैगएको सन्दर्भ समातेर तयार पारिएको यो गीतमा युवा पुस्ताको असन्तुष्टी पनि झल्किन्छ । बुटवलको कन्सर्टमा सर्वथा प्रथमपटक प्रस्तुत गरिए पनि यस गीतलाई उपस्थित श्रोतादर्शकले उत्साहका साथ स्वागत गरेको देखिन्थ्यो ।

त्यसपछि भने ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले मञ्चबाट यो गीत गाइरहँदा बुटवल रंगशालामा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘समाजलाई फेर्छु भन्नेहरु आफै फेरिएको देख्दा हामी तीनछक परेका छौं । देश बनाउन अब हामी नै एकजुट बनौं है।’ धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै दर्शकहरुलाई नै उनीहरुको रोजाइका गीत सोध्दै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

दर्शक दिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरुको सुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो ।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो श्रृंखलावद्ध कन्सर्टले बुटवलमा लगातार आठौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे । ‘बुटवलमा सडकमा आश्रित आमा बुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं ।’ बुटवलमा आश्रमको आफ्नै भवन बनाउने काम सुरुभइसकेको छ भने केहि महिनामै सम्पन्न हुनेगरि यसले अन्तिम स्वरुप लिइरहेको छ ।

बुटवलको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् आइतबार पोखरातर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा नेपथ्य पुस १२ गते मंगलबार प्रस्तुत हुँदैछ ।

तस्बिरहरु: दिपित राज र नेपालय