१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्दी हिमाल पुग्न नयाँ ‘ट्रेकिङ रुट’



अ+ अ-

कास्की । विश्व प्रसिद्ध मर्दी हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी नयाँ ‘ट्रेकिङ रुट’ विकास गरिएको छ । पोखरा महानगरपालिका–२५ मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गरी मर्दी हिमाल पुग्ने पदयात्रामार्गका रूपमा विकास गरिएको हो ।

मेलबोटबाट पदयात्रा शुरु भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालिमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा रु १० लाख बजेट र जर्मनस्थित एक विदेशी संस्थाको रु चार लाख ५० हजार आर्थिक सहयोगमा मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानको अप्ठ्यारो ठाउँमा हालसम्म ५०० मिटर पैदलमार्ग निर्माण गरिएको छ ।

पछिल्लो समय पदयात्रा पर्यटकको रोजाइमा परेको मर्दी हिमाल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकलार्ई लक्ष्य गरी पर्यटकीय पूर्वाधार निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं अग्रज पर्यटन व्यवसायी विश्व अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अव्यवस्थित सडक पूर्वाधार निर्माणबाट पदयात्रामार्ग हराउँदै गएको र पदयात्रा अवधिसमेत छोटिदै गएकाले मेलबोटबाट नै पदयात्रा शुरु गर्न सकिने गरी मर्दी हिमाल जाने नयाँ रुटको खोजी गरिएको हो । ढुङ्गाको छपनी बिछ्याएर दुई मिटर फराकिलो पैदलमार्ग निर्माण गरिएको छ ।

अहिले मेलबोटबाट विकास गरिएको पदयात्रामार्गलाई अस्तामसम्म मोटरबाटोले नछुने भएकाले रमणीय जङ्गलका बीचबाट पदयात्रा गर्दै पर्यटकले आनन्द लिने विश्वास गरिएको हो । मर्दी हिमाल जानका लागि हाल माछापुच्छ्रे गाउँपालिकाको धम्पुस, कालिमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अस्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा शुरु गर्न सकिन्छ । समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा शुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।

“मेलबोटबाट शुरु गर्ने गरी हामीले नितान्त नयाँ पदयात्रामार्गको खोजी गरेर पूर्वाधार निर्माण गरिरहेका छौँ”, संयोजक अधिकारीले भन्नुभयो, “सुनझाँक्रीको थान, लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले यसमार्गमा पर्यटकलाई आनन्दित तुल्याउने विश्वास लिएका छौँ ।” 

नयाँ विकास गरिएको पदयात्रामार्गले बसाइ लम्ब्याउनाका साथै ग्रामीण संस्कृति, जीवनशैली र ध्यान ९मेडिटेशन०मा पर्यटकलाई आकर्षित गर्ने बताइन्छ । मेलबोटबाट अस्तामसम्को सात किमी पदयात्रामार्गका अधिकांश स्थान समथर छन् । पदयात्रामार्गलाई साइकल चलाउन मिल्ने गरी बनाउने योजना रहेको समितिले जनाएको छ ।

हाल उपलब्ध बजेटबाट अप्ठ्यारो स्थानमा ढुङ्गाको छपनी राखेर सहज बनाइएको भए पनि धितालसम्म नै पैदलमार्गका लागि रु ५० लाख बजेट आवश्यक रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । बजेटका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारसँग आग्रह गरिएको बताइन्छ । 

समितिले हालका लागि धितालसम्म मात्र पैदलमार्गको योजना अघि बढाए पनि सरकारले विस्तृत आयोजना प्रतिवेदन तयार गरी मर्दी हिमालसम्म नै साइकल चलाउन मिल्ने गरी पैदलमार्गको सम्भाव्यता अध्ययन गर्नुपर्ने समितिका सचिव कृष्णबहादुर कुँवर बताउनुहुन्छ । मर्दी हिमालसम्म साइकल चलाउन मिल्ने गरी पैदलमार्ग बनेको खण्डमा यसले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास लिइएको उहाँको भनाइ छ । (रासस, कृष्ण दवाडी)