२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको अल्पकालीन आदेश खारेज, रुपन्देही २ का गठबन्धन उम्मेदवार गुरुङ चुनाव लड्न नपाउने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले चुनाव लड्न नपाउने भएका छन् ।

सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको हो ।

शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको हो । सो क्षेत्रमा एमालेका उपाध्यक्ष बिष्णु पौडेल उम्मेदवार छन् ।

गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो ।

उम्मेदवार गुरुङ आफैँ अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अञ्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मङ्सिर २१ गते फैसला गरेको थियो ।

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।