१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारको निःशुल्क आँखा जाँच



अ+ अ-

काठमाडौँ । पत्रकार र आश्रित परिवारका सदस्यले अब निःशुल्क रुपमा आँखाको जाँच गर्न पाउने भएका छन् । नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजबीच सोमबार भएको समझदारीअनुसार पत्रकार र पत्रकारको परिवारका सदस्यले निःशुल्क आँखा जाँच गराउन पाउने भएका छन् ।

सम्झौताअनुसार पत्रकारका दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्पलगायत कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । ‘पत्रकारको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरूका परिवारले निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् ।

समझदारीपछि नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीच समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारका सदस्यले सजिलैसँग आँखाको जाँच गराउन पाउने बताए ।

पत्रकारको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पुर्याउनुपर्ने उनको भनाइ छ । उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पजस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । यस अभियानलाई अन्य प्रदेशसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उहाँको भनाइ छ ।

अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा परिवारका सदस्यले निःशुल्क आँखाको जाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिए । उनका अनुसार पत्रकार तथा परिवारका सदस्यलाई पनि सर्जरीलगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ ।

प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारलाई आँखाको जाँच तथा सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगाण्डामा कार्यालय रहेको अस्पताल हो ।

अस्पतालका कर्पोरेट म्यानेजर झाका अनुसार भारतमा यस अस्पतालका एक सय ४० वटा शाखा रहेका छन् । नेपालमा पनि शाखा खोल्ने तयारी भइरहेको उनले जानकारी दिए ।