२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै



अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाउनुभएको छ । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उहाँ बताउनुहुन्छ ।

मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । “पहिला किबी परीक्षणका लागि लगाए, अब अन्य स्थानमा खेती विस्तार गर्ने योजनामा छु”, उहाँले भन्नुभयो । अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिकरुपमा किबी खेती गर्दै आएका छन् । पछिल्लो समय किबी खेती गर्ने किसानको सङ्ख्यामा बढ्दै गएको छ । काँटछाँट र उचित हेरचाह गर्नसके मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन् ।

पर्यटकीय गाउँका रुपमा परिचित भकुण्डेको उपल्लो भागमा घरबास (होमस्टे) फस्टाउँदै गएको छ । सोही क्षेत्रमा किबीको सफल उत्पादन भइरहेको छ । पाहुनाले किबी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताउनुभयो । भकुण्डेमा फस्टाउन थालेको किबी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने बागलुङ–१० का वडाध्यक्ष तिलबहादुर थापा बताउनुहुन्छ ।

“किबी खेतीको राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो । भकुण्डेको तल्लो भागमा सुन्तला खेती र उपल्लो भागमा किबी खेतीका लागि किसानलाई प्रोत्साहन गर्ने योजना वडा कार्यालयसँग छ । किबी प्रतिकिलो स्थानीय बजारमा रु तीन सयदेखि रु तीन सय ५० सम्ममा बिक्री हुन्छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु, रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्छ ।

बजारमा माग बढ्दै गएको बागलुङ नगरपालिकाका कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिनुभयो । किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा गर्न सकिन्छ । रोपेको तीन वर्षपछि किबीले उत्पादन दिन थाल्ने किसान बताउँछन् ।