९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

तीज: समानताका लागि समान पहिरन

तीज: समानताका लागि समान पहिरन
अ अ+ अ-

टीकापुर । हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुुरु गरिसकेका छन् ।

केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए । “हामीले समानता हामीबाटै सुरु गर्नुपर्छ भन्ने ठान्यौँ, तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरुलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोशाकमा तीज मनायौँ”, अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भन्नुभयो, ‘‘हामी अगुवा पनि हौँ, हाम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो । त्यसैले सस्तो सारी, गलामा तिलहरीमात्र लगाएर तीज मनायौँ । एकापसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो ।”

जिल्लाको लम्कीचुहाकी सन्जु भण्डारी र उहाँका साथीहरूले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाउनुभयो । उहाँहरूले रमाइलोसँगै एउटै खालको साडी लगाउने चलन चलेकाले आफूहरूले पनि लगाएको जानकारी दिनुभयो । “हामीले तीजमा गरिने अनावश्यक खर्च रोकौँ र रमाइलो गरौँ भनी सल्लाह ग¥यौँ र एउटै खालको पहिरन लगायौँ”, भण्डारीले भन्नुभयो, “सबैको हैसियत एउटै देखियो । एकअर्कामा कमजोर अनुभूति कसैमा भएन ।”

विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्ने चलन छ । यस वर्ष महिलाले अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उहाँहरुको भनाइ छ । टीकापुरमा तिमिल्सिना समाजमा आवद्ध महिलाले समेत यस वर्ष एउटै खालको साडी किनेका छन् । उहाँहरुले यस वर्षको तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम समेत तय गरेका छन् । सबैमा समानता देखियोस् भनेर बजारमा सस्तोमा पाउन सकिने साडी किनेको समाजमा आवद्ध रेश्मा भट्टले जानकारी दिनुभयो । “हामी दिदी–बहिनी फरक देखिनु भएन, कोही धनी, कोही गरिब छन्, चाडपर्वले त धनी–गरिब भन्दैन । सबैका लागि उस्तै र समान हो”, उहाँले भन्नुभयो, “पर्व समान भएपछि हामी किन असमान हुनु त ?हामी पनि सबै एउटै खालको वातावरणमा पर्व मनाऔँ भनेर यस वर्ष यस्तो तयारी गरिएको हो ।”

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीजपर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ । पर्वका अवसरमा अनावश्यक भीडभाड नगर्न, पार्टी प्यालेस तथा होटलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ ।

पर्व मानिसको खुसीसँग जोडिएको हुन्छ । पर्वले खुसी र उमङ्ग ल्याउनुपर्छ तर मानिसले ध्यान नदिँदा, अनावश्यक खर्च गर्दा पर्वले दुःखी पनि बनाउन सक्छ । त्यसैले अनावश्यक खर्च नगरी सामान्य तवरले तीज मनाउन कर्णाली मावि टीकापुरकी शिक्षिका कल्पना रेग्मी बताउनुहुन्छ । “चाडपर्वले एकता, सद्भाव र मेलमिलाप बढाउनुपर्छ । अझ तीज महिलाको पर्व भएकाले यसले महिलाबीचको असमानता तोड्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “तीजलाई उत्सवका रूपमा मनाउँदा अनावश्यक फेसन र सम्पत्ति देखाउन आवश्यक छैन ।”

महिलाको स्वतन्त्रासँग जोडिएको पर्व भएकाले पहिरन समान लगाउनु, सामान्य दर कार्यक्रम गर्नु ठीकै हो । समान पहिरनका नाममा नयाँ कपडा किन्न नसक्नेलाई दबाब भने दिन हुँदैन । लम्कीचुहा–३ की दुर्गा सोव सम्पन्न महिलाले तीजमा लगाउने कपडा र गहनाले विपन्न महिलालाई तनाव हुने गरेको बताउनुहुन्छ ।

“पर्व सबैको हो । सबैले मनाउन पाउनुपर्छ । बजारमा हुने तीज कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने अवसर हामीले पनि पाउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “बजारका महिलाका गहना देखेर हामी मञ्चमा चढ्न पनि हिम्मत गर्दैनौँ । सबैको समान पहिरन भए, सामान्य गरगहना लगाएमा हामी पनि रहर पूरा गर्ने थियौँ ।”

तीजलाई आत्मीयता र सौहार्दको पर्व मानिन्छ । तीजलाई सबै महिलाले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गरेर मनाउन आवश्यक रहेको महसुस सबैले गर्नुपर्छ । “तीजमा विवाह गरेर टाढा–टाढा पुगेका चेलीहरू जम्मा भएर साथीसङ्गीसँग गरिने व्यवहार आत्मीयताको नमूना हो”, अधिकारकर्मी निर्मला कडायत भन्नुहुन्छ, “अब महिलाका पीडा, वेदनाका कुराभन्दा अवसर र समानताका कुरामा ध्यान दिनुपर्छ ।” रासस