• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

सडक आश्रित मानवको पनि मिर्गौला बिक्री प्रयास



काठमाडौँ । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अङ्ग बिक्री उद्योगमा लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको योजना प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले यसपटक असफल पारिदिएको छ । सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बिक्रीका लागि भारत लैजाने दिनमै प्रहरीले उक्त योजना विफल बनाइ तीन जनालाई उद्धार गर्न सफल भएको छ ।

मिर्गौला बेचबिखन उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछापको मन्थली नगरपालिका–५ घर भई भक्तपुरको थिमी बस्ने २८ वर्षका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीको तम्घास घर भई काठमाडौँ महानगरपालिका–७ गौशाला बस्ने विजय कुँवर, दैलेख घर भई काठमाडौँको कालोपुल बस्ने भूपेन्द्र शाही र विमलबहादुर शाही तथा झापा घर भई भक्तपुर बस्ने आशिष तामाङलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

उनीहरु सबै नेपालबाट मानिस भारतसम्म पु¥याउने समूहका हुन् । भारतबाट अर्को समूह परिचालन हुने गरेकाले सङ्गठितरुपमा मानव बेचबिखनमा संलग्न रहेको मल्लले जानकारी दिनुभयो । उक्त गिरोहले यसअघि नै तीन जनालाई भारत पु¥याइसकेको पाइएको र उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

उहाँका अनुसार आरोपी रोका र कुँवरले अन्य प्रतिवादीलाई परिचालन गरी काठमाडौँको सडकपेटीमा हिँड्ने व्यक्तिसँग चिनजान गरी प्रलोभनमा पारेर मिर्गौला बेचबिखन गर्न लगाउने गरेका थिए । उनीहरुले भारतको कोलकातामा गइ मिर्गौला बिक्री गर्दा रु पाँच लाख कमाइ हुने र रु ५० हजार पर्ने मोबाइल पनि पाइने भनी प्रलोभन दिएको खुल्न आएको छ ।

उनीहरुले सडक बालबालिकालाई मनाएर गत असार १५ गते मिर्गौला बिक्रीका लागि भारत लैजाने योजना बुनेका थिए । उक्त सूचना प्राप्त भएपछि व्युरोको टोलीले भूपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा रोका र छोटे भन्ने आशिष तामाङलाई असार २८ मा पक्राउ गरिएको हो ।

अनुसन्धानमा शाही र रोकाले यसअघि आफ्नै मिर्गौला बिक्री गरेको र त्यसपछि अन्य व्यक्तिको मिर्गौला खरिद बिक्रीमा अपराधमा संलग्न भएका हुन् ।

पक्राउ परेकामध्ये रोकाले मिर्गौला प्राप्त गर्ने व्यक्तिसँग मोलमोलाई गर्ने, ग्रहणकर्ताको आवश्यकताअनुसार मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने, पीडितलाई भारत लैजाने र मिर्गौला झिकेपछि नेपाल फर्काने कार्य गर्ने गरेको प्रहरीले दाबी छ ।

आरोपी कुँवरले रोकाको निर्देशनमा ग्रहणकर्ताको रक्त समूह यकीन गर्ने, पीडितलाई भारतसम्म लैजान सहयोग गर्ने गरेको खुलेको छ । यस्तै शाही र तामाङले भने मिर्गौला दाताको खोजी गर्ने, प्रलोभनमा पार्ने र सुरक्षितसाथ होटलमा राख्ने कार्य गर्ने गरका पाइएको छ ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार म्याद थप गरी कारवाही प्रक्रिय अघि बढाइएको ब्युरोले जानकारी दिएको छ । ब्युरोका अनुसार मुलुकमा आर्थिक वर्ष २०७८/७९ मा मानव बेचबिखनका १४२ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा १७८ जनालाई पक्राउ गरी कारवाही चलाइएको छ । अहिलेसम्म बेचबिखन अपराधका १०९ आरोपी फरार छन् । ब्युरोका अनुसार विभिन्न क्षेत्रबाट ५० जनाको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार भारतबाट सबैभन्दा बढी १५ जनाको उद्धार गरिएको छ । यस्तै ओमान, कुवेत, श्रीलङ्का, इराकबाट एक/एक गरी १७ जनाको उद्धार गरेको जनाइएको छ ।

ब्युरोका अनुसार वैदेशिक रोजगारसम्बन्धीका सात मुद्दा दर्ता भई २१ अभियुक्तमध्ये आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीको वैदेशिक रोजगार विभाग शाखाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन बढ्दो रहेकाले यसतर्फ पनि प्रहरीले निगरानी बढाएको जानकारी दिनुभयो । उहाँले पैसा नउठ्ने डरले पीडितहरु भने मुद्दा दर्ता गर्न डराउने गरेको पनि जानकारी दिनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लगेमा तथा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिकेमा मानव बेचबिखन गरेको मानिने उल्लेख छ । कुनै प्रकारको फाइदा लिई वा नलिइ वेश्यावृत्तिमा लगाउनेलाई दशदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यस्तै मानव बेचबिखनका लागि विदेश लैजानेलाई दश वर्षदेखि १५ वर्ष कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ । मानव बेचबिखन वा ओसारपसारको कसूर गर्न दुरुत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसूरको मतियारलाई सो कसूर गर्दाको हुने सजायको आधा सजाय हुने व्यवस्था छ । रासस