१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग दुईः स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक जित



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।

स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

स्कटल्याण्डको यो जारी सिरिजमा पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले २७ रन जोडे भने देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।

रोहित पौडेल ३४ रनमा अविजित रहँदा आदील आलम शून्य रनमा अविजित रहे । स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए ।

त्यसअघि स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो ।

स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे । सोमपाल र आदिलले समान ३/३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

जितसँगै १८ खेलमा १७ अंक जोडेको नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।