२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले असारमा राष्ट्रिय भेला गर्ने



अ+ अ-

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरि ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु संगठन र संर्घषको दिशामा अघि बढौ’ भन्ने नाराका साथ भेलाको आयोजना गरिने उक्त संगठनले जनाएको छ ।

यसैगरी, राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संर्घष गर्ने, जेल जीवन बिताइरहेका विकास राईलगायतको रिहा, जनक शिक्षा सामाग्री केन्द्रको बेथिति र भ्रष्टाचारको नियमन गरि समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका माग पनि संगठनले अघि सारेको छ ।

क्रान्तिकारीले महंगी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुको साथै आयल निगममा विभिन्न बहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ ।

यसैगरी, आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारवाही गर्न र मौका परीक्षाका लागि लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्न माग पर्ने क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिलन राईले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टी फुटपछि पुनर्गठनपछि बसेको विशेष बैठकले गरेको निर्णय सुनाउन लागेको बताए । आफ्नो संगठले १९९७ सालदेखि आजसम्म विद्यार्थीको समस्या समाधान गर्दै आएको पनि उनले स्पष्ट पारे । उनले अखिल क्रान्तिकारीले स्थापनादेखि विद्यार्थी आन्दोलन २०७६ असोज १२ को घटनासम्म आउँदा गौरवपुर्ण इतिहास बोकेको सुनाए ।

उनले ठुलो पार्टीमा जस्तै विद्यार्थीहरुमा पनि संसद्परस्त र संसदवादीहरुको विभाजन भएको सुनाए । उनले पार्टीको आठौं महाधिवेशनमा संसदमा प्रवेश गर्ने वहस भएपनि खासै महत्व नदिएको सुनाए । राईले संसदबाट मुलुक र जनताको हित नहुने ठोकुवा गरे ।

जनताको संसदीय व्यवस्थाविरुद्ध जान हुँदैन भन्दा पार्टी विभाजन भएको उनले जानकारी दिए । क्रान्तिकारी आन्दोलननै विरासतलाई जोगाउँदै आएको भन्दै उनले संसदवादलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनले भने,‘एकता भन्दा विभाजन नमिठो भएपनि लक्ष्य प्राप्तीका लागी पार्टी विभाजन हुन पुग्यो ।’

सह–संयोजक विरेन्द्र शाहले पछिल्लो समयमा राज्यको अवस्था डामाडोल भएको बताए । सबै सरकारी विद्यालयहरुको अवस्था अत्यन्त्तै नाजुक देखिएको उनको भनाई थियो ।

उनले भने,‘अझैपनि सरकारी क्षेत्रका विद्यालयमा सबै सुविधा पाएका छैनन् । सजिलै शिक्षा लिन पाउँदैनन् ।’ कुनै पनि विश्वविद्यालयमा शैक्षिक क्यालेन्डरअनुसार पढाई नभएको उनले दाबी गरे ।

विश्वविद्यालयमा कर्मचारी तथा विद्यार्थीहरु कसैले पनि हलचल नगरेको उनले आरोप लगाए । ‘विश्वविद्यालय मसान घाट जस्तो सुनसान छन् विद्यार्थीहरु आफ्नो बारेमा मात्र सोच्छन् । बाहिरको बारेमा केही सोचेका छैनन् ।’–उनले भने ।

सबै मानिसमा व्यक्तिगत सोच हावी भएको सुनाउँदै व्यक्तिवादी सोचले देशको विकास नुहने उनको भनाई थियो । उनले भने,‘व्यक्तिगत सोचले देशको भलो हुँदैन् र देशको भलो भएमात्र व्यक्तिको भलाई हुन्छ ।’