२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्छः निधि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ ।

आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा बोल्दै उपसभापति निधिले संघियताको सम्वद्र्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको हो । 

संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भएपनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । संघीयताको सम्वद्र्धनका लागि पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सबै प्रदेशका प्रहरी संगठन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘सातै प्रदेशमा, सबै प्रदेशको आ–आफ्नो प्रादेशिक प्रहरीको व्यवस्था तत्काल होस् । अब त चार वर्ष भइसक्यो चुनाव भएको पनि । 

संविधानको कुनै एउटा धारामा पनि के लेखेको छ भने सबै प्रदेशको आ–आफ्नै प्रहरी संगठन हुनेछ । म आज संविधान दिवसको अवसरमा भन्न चाहान्छु, आजको आवश्यकता संघीयतालाई सम्वद्र्धनको लागि पहिलो प्राथमिकता सबै प्रदेशको प्रहरी, दोस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी, तेस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी ।’

उपसभापति निधिले नेताहरुले नै संघियता अनुकुलको मानसिकता बनाउन नसकेको टिप्पणी गर्नुभयो । नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उहाँले नेताहरुले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफुपनि प्रशिक्षित हुनुपर्ने बताउनुभयो ।