१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनतालाई हामीलाई माओवादी होइन खाओवादी भन्न थाले : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई आफूहरूलाई खाओवादी भन्न थालेको बताएका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले जनताले माओवादी नभइ खाओवादी भन्न थालेको बताएका हुन् । 

“हामीलाई माओवादी होइन कोही–कोहीले खाओवादी भन्छन्, अध्यक्ष प्रचण्डले भने।”

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरे।  न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।

दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताए। “मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ?”उनले भने, “जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो।” 

यस्तै अध्यक्ष प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरू माओवादीसँग मात्रै रहेको बताएका छन्। यो घमन्ड र अहंकारको कुरा नभएको उनको भनाइ थियो।

‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो। अहिले पनि उनले भन्छन्- पार्टीभित्र मलाई काम गर्न दिएनन्, झगडा गरे त्यसो भएर विघटन गरेको। पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?’ उनले भने, ‘मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

ओलीले अहिले नैतिकताको कुरा गर्दै हिँडेको पनि उनले बताएका छन्। ‘अहिले उनले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भने।

उनले जनताको साथ लिन आफूहरू अगाडि बढेको बताए। ‘गठबन्धन पनि बनायौं हामीले जित्यौं,’ उनले भने, ‘तपाईं, हामी एक भएपछि कसैको केही लाग्दैन।’