१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई

‘वाम गठबन्धनको चक्करमा एमाले लाग्दैन’ : विष्णु पौडेल

‘वाम गठबन्धनको चक्करमा एमाले लाग्दैन’ : विष्णु पौडेल
file
अ अ+ अ-

काठमाडौँ — जनमत र गठबन्धनभित्र पनि अलगअलग पार्टी छन् भन्ने मान्दा अहिले पनि ठूलो र स्थानीय तह निर्वाचनले प्रमुख राजनीतिक दलहरुको शक्ति अदलबदल गरेको छ । पहिलो पार्टी बन्ने घोषणा गर्दै सत्ता गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा होमिएको एमाले दोस्रो स्थानमा खुम्चिएको छ ।

शक्ति सन्तुलनमा हेरफेरपछि संघ र प्रदेशको आउँदो चुनावमा वामपन्थी दलहरु एक भएर जान्छन् कि अहिलेकै जस्तो छिन्नभिन्न रहन्छन् ? के एमाले सत्ता गठबन्धन भत्काउन सक्रिय हुन थालेको हो ? यस्तै प्रश्नको जवाफ खोज्न एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको कुराकानी ।

(यो अन्तर्वार्ता कान्तिपुर दैनिकबाट साभार गरिएको हो)

स्थानीय तह निर्वाचनमा एमाले दोस्रो स्थानमा पुग्यो । तपाईंहरूले यो परिणामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

गठबन्धनलाई एउटा र एमालेलाई अर्को पार्टी मान्दा एमाले दोस्रो स्थानमा आएको हो । तर जनमत र गठबन्धनभित्र पनि अलगअलग पार्टी छन् भन्ने मान्ने हो भने अहिले पनि ठूलो र बलियो पार्टी एमाले हो ।

सबै ठाउँमा त गठबन्धन भएको थिएन । आफ्नो पोजिसन बदलिएको त स्वीकार्नुहुन्छ नि ?

अघिल्लो पटक हामीले धेरै सिट ल्याएका थियौं । यस पटक केही घट्यो । तर जनमत र सबै पार्टीलाई अलगअलग रूपमा हेर्दा एमाले पहिलो पार्टी हो भन्ने बिर्सनु हुँदैन ।

चुनावअघि त तपाईंहरू पहिलो पार्टी नै हुन्छौं भन्नुहुन्थ्यो । त्यसअनुसारको परिणाम नआएको विषयमा समीक्षा गर्नुभएको छ ?

हामी समीक्षा गर्दै छौं । अघिल्लो चुनावमा हाम्राविरुद्ध गठबन्धन थिएन । चुनावी तालमेल मात्र थियो । यस पटक उहाँहरूले देशव्यापी गठबन्धन गर्नुभयो । गठबन्धन एक ठाउँमा हुँदा स्वाभाविक रूपमा प्रभाव पर्‍यो । उहाँहरूले खासखास ठाउँमा राज्यसत्ता र शक्ति पनि प्रयोग गर्नुभयो । त्यसैले निर्वाचनको नतिजाको जे प्रक्षेपण थियो, त्यसभन्दा केही तल आएका छौं ।

कम पालिकामा नेतृत्व जित्नुमा तपाईंहरूका के–के कमजोरी रहे ?

एमाले र माओवादी केन्द्रबीच एकतापछिका तीन वर्ष हाम्रो संगठनात्मक जीवन निष्क्रिय थियो । त्यस्तो संगठनात्मक जीवनलाई हामीले पछिल्लो समयावधिमा गतिशील बनाउने प्रयास गर्‍यौं । तर जुन ढंगमा हुनुपर्ने थियो, त्यो हुन सकेन । हाम्राविरुद्ध जुन ढंगको शक्ति केन्द्रित गर्ने कोसिस गरियो, त्यसको पनि केही प्रभाव छ । केही ठाउँमा हाम्रो संगठनात्मक जीवनलाई अनुशासित र व्यवस्थित बनाउन सकेनौं ।

दोस्रो पोजिसन आउनुको कारणमा अघिल्लो चुनावपछि तपाईंहरूले खेलेका भूमिकालाई जनताले नरुचाएको पनि त हो नि ? तपाईंकै आफ्नै गृहनगर बुटवलमा समेत एमाले हार्‍यो । सहरी मतदाता रुष्ट भएका होइनन् ?

चुनावले सहरी जनमत वा आम जनमत के हो भन्नेमा समीक्षा गर्नुपर्ने अवस्थामा त हामीलाई पुर्‍याएको छ ।

सानो पालिकामा जित्दा र महानगर–उपमहानगर जस्ता धेरै मतदाता भएका ठाउँमा हार्दा तपाईंहरूलाई ठूलो जनमतले रुचाएन भन्ने पुष्टि त भयो नि ?

सिट संख्याको कुरा गर्नुहुन्छ कि मत संख्याको ? मत संख्याको कुरा गर्नुहुन्छ भने हामी ठूलो पार्टी हौं । सिट संख्यामा हामी दोस्रो पार्टी भएका छौं । जनमतका हिसाबले एमाले कमजोर भयो भन्ने कुरा तथ्यले बोल्दैन । जनाधार र एमालेको अग्रतालाई यो चुनावले खण्डित गरेको छैन ।

तपाईंकै गृहजिल्लामा पनि एमालेको पक्षमा परिणाम ल्याउन सक्नुभएन । पार्टीभित्रको अन्तरविरोधले पनि केही भूमिका खेलेको हो ?

आन्तरिक खटपट त होइन तर कतिपय ठाउँमा यसको सट्टा अर्को उम्मेदवार भए राम्रो हुन्थ्यो कि भन्ने छ । तर आम रूपमा पार्टीको आन्तरिक खटपट थियो भन्ने होइन । निर्वाचनका बेला एकताबद्ध थियौं । नेतृत्वको खटपटका हिसाबले समस्या भएको होइन ।

तपाईं र महासचिव शंकर पोखरेलबीच खटपट छ भन्ने सुनिन्छ । तपाईंको गृहनगरमा धेरै हार्ने, पोखरेलको गृहनगर दाङमा एमालेले जित्ने भयो । यसमा पार्टीभित्रको घात–अन्तरघातको भूमिका छैन त ?

घात अन्तरघातका रूपमा म बुझ्दिनँ । बुटवलमा पराजयका पछाडि एउटा कारण छ । सातमध्ये ६ वटा प्रदेशमा राजधानी पुरानै ठाउँमा कायम रह्यो । लुम्बिनीको हकमा प्रदेश राजधानी सारियो । त्यसलाई बुटवलका जनताले प्रिय मानेका छैनन् । मैले आफैंले पनि त्यहाँका जनताको मनोविज्ञान पढेको छु । यसका लागि जनताले एमालेलाई बढ्ता जिम्मेवार ठाने । शंकरजी र मबीच अन्तरविरोध, असहयोग र अस्वीकार भन्ने छैन ।

तपाईंहरू चुनावअघि माओवादी केही होइन । एकीकृत समाजवादी त पार्टी नै होइन भन्नुहुन्थ्यो । चुनावमा त माओवादीको स्थिति झन् सुधार भयो, एकीकृत समाजवादी पनि महानगर/उपमहानगरसहितमा आउने अवस्था बन्यो नि ?

तपाईंहरू सिटको कुरा त गर्नुहुन्छ तर माओवादीले प्राप्त गरेको र एकीकृत समाजवादीले प्राप्त गरेको मतको पनि हिसाब गर्नुपर्छ । यस पटक माओवादीका केही कार्यकर्ता रूख चिह्नमा समेत चुनाव लड्नुभयो । त्यसैले माओवादी र कांग्रेसबीच भिन्नता नै देख्न छाडिएको छ । माओवादी कांग्रेसको सहयोगी शक्ति, पछिपछि लाग्ने अनुयायीमा रूपान्तरित भएको छ । हिजो आफूलाई क्रान्तिकारी दाबी गर्ने माओवादी कांग्रेसको सहयोगी शक्तिका रूपमा खुम्चिएको छ । कांग्रेससँग मिलेर केही सिट संख्या बढायो होला तर राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका र औचित्य के ? अब प्रश्न उठेको छ । माओवादीको अलग पार्टीको अस्तित्व किन चाहियो ? कांग्रेस छँदै छ नि !

एकीकृत समाजवादीका हकमा तपाईंहरूको बुझाइ के छ ?

एकीकृत समाजवादी त एमालेबाट चोइटिएको एउटा झुन्ड हो । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘माधवजीले मलाई धेरै सहयोग गर्नुभएको छ त्यसैले सहयोगको गुन बिर्सिन सक्दिनँ’ भन्नुभएको छ । माधवजीले केपी ओलीको सरकार गिराउन र शेरबहादुर देउवाको नेतृत्वको सरकार बनाउन गुन लगाउनुभएको हो, त्यो गुन केही सिटमा देखिन्छ । आउने दिनमा एकीकृत समाजवादीको कुनै राजनीतिक अस्तित्व हुन्छ जस्तो लाग्दैन ।

चुनावी परिणामपछि वामपन्थी दल एक हुन्छन् भन्ने आकलन छ । एमालेको सिट खुम्चेको अवस्थामा अब तपाईंहरू तीनवटा वाम दल मिलेर जाने सम्भावना छ कि छैन ?

दक्षिणपन्थीहरूको पछि लाग्ने दलहरूलाई वामपन्थी भन्नु संगतिपूर्ण छैन । कांग्रेस यथास्थितिवादी दक्षिणपन्थी शक्ति हो । दक्षिणपन्थी शक्तिको पछि लागेर वामपन्थी शक्तिलाई कमजोर पार्नेहरूलाई के अर्थमा वामपन्थी भन्ने ? नामले मात्र वामपन्थी भन्ने कि काम आचरण र मूल्यमान्यतालाई ? दक्षिणपन्थीको पछि लाग्नेलाई वामपन्थी भनिँदैन र ती होइनन् । हामी अब त्यस्ता प्रवृत्तिलाई गोलबद्ध गर्ने चक्करमा छैनौं । यो स्थानीय तह चुनावमा जुन प्रकारको जनमत आर्जन गरेका छौं, त्यसले हामीलाई उत्साहित तुल्याएको छ । हामी पहिलो र प्रमुख पार्टी हौं भन्ने जनादेश प्रकट भएको छ । यो जनादेशमा टेकेर हामी आउने निर्वाचनको तयारी गर्छौं । आउने निर्वाचनमा सम्भवतः हामी बहुमत हासिल गर्छौं । मिश्रित निर्वाचन प्रणाली भएकाले ५० प्रतिशत मत हामी समानुपातिकमा पुर्‍याउँछौं र प्रत्यक्षतर्फ हामी खास–खास ठाउँमा केन्द्रित भएर संसद्को पहिलो पार्टी हुन्छौं । गठबन्धनको ल्याकत देखिइसकेको छ । एमाले आउने निर्वाचनसम्म कुनै गठबन्धनको चक्कर लाग्दैन । एक्लै अघि बढ्छ । आउने चुनावसम्म वामपन्थी जनमत एमालेको पक्षमा केन्द्रित हुन्छ । अहिले भ्रमवश माओवादीको पक्षमा लागेको जनमत पनि एमालेको पक्षमा आउँछ । दक्षिणपन्थी र यथास्थितिवादीको मत कांग्रेसको पक्षमा जान्छ । त्यसैले अब हामी गठबन्धन बनाउने नाममा समय अपव्यय नै गर्न चाहँदैनौं ।

माओवादी, एकीकृत समाजवादी कसैसँग गठबन्धन हुँदैन ?

कम्तीमा आउने निर्वाचनसम्म माओवादी, एकीकृत समाजवादी कसैसँग गठबन्धन हुँदैन ।

तपाईंले यो दाबी गर्दै गर्दा एमाले र माओवादीका नेताहरूबीच अनौपचारिक संवाद सुरु भएका छन् भन्ने छ नि ?

संवादको चर्चा चलाएर ‘बार्गेनिङ’ गर्ने चलन हाम्रोमा छ । संवाद भइरहेको छ भनेर गठबन्धनभित्र आपसमा ‘बार्गेनिङ’ गर्न यस्ता खालका चर्चा गर्ने गर्छन् । म स्पष्ट भन्न चाहन्छु, आउने निर्वाचनसम्म यो गठबन्धनको पटाक्षेप हुन जरुरी छ । यो कुनै सिद्धान्त, उद्देश्य, आदर्श केन्द्रित गठबन्धन हो र ? केवल भागबन्डाको स्वार्थको गठबन्धन हो । यो गठबन्धनको वरिपरि कोही प्रगतिशील जनमत छ भन्ने सच्चाइ बुझेर अलग हुन जरुरी छ ।

तपाईंहरूको बुझाइमा यो गठबन्धनको ‘मिसन’ के हो त ?

यो गठबन्धनले दुई कुराको पुष्टि गर्‍यो । एउटा, एमाले यस्तो शक्तिशाली राजनीतिक पार्टी हो, जसलाई एक्लै सामना गर्न सकिँदैन भन्ने हो । गठबन्धनमा सामेल सबैको साझा स्वीकारोक्ति एमाले देशको सबैभन्दा शक्तिशाली पार्टी हो । गठबन्धन गरेर मात्रै एमालेसँग आमनेसामने हुन सकिन्छ भन्ने सच्चाइ गठबन्धनका दलहरूले स्वीकार गरेका छन् ।

स्थानीय तहको निर्वाचनअघि अध्यक्ष केपी ओलीले हामीले चाह्यौं भने एक हप्तामा गठबन्धन तोड्न सक्छौं भन्नुभएको थियो । गठबन्धन तोड्ने त्यस्तो अचुक उपाय छ तपाईंहरूसँग ?

अध्यक्षले भन्नुभएको छ, त्यो सत्य हो । म अहिले पनि भन्छु एमालेले चाह्यो भने एक हप्तामा गठबन्धन टुट्न सक्छ । यो कुनै लुकेको कुरा भएन नि, यो स्वार्थको गठबन्धन हो । सिद्धान्त, उद्देश्य र आदर्शको गठबन्धन भए तोड्न गाह्रो हुने हो । स्वार्थको गठबन्धन तोड्न गाह्रो छैन । जसले धेरै स्वार्थ पस्किन्छ, स्वार्थीहरू त्यतै लाग्छन् । हामी गठबन्धन तोड्ने गल्ती गर्दैनौं । यो गठबन्धन आउने चुनावसम्म रहिरहोस् । गठबन्धनले जनतालाई के दिन्छ ? एमालेको नेतृत्वको ठाउँमा यो परमादेशी सरकार बनेको छ । यो सरकारले गरेको एउटा राम्रो काम बताउनुस् त ? आउने निर्वाचनसम्म पुग्दा एमालेले आफ्नो हैसियत के हो, प्रदर्शन गर्छ । यो गठबन्धन के हो, त्यो पनि देखिन्छ ।

विगतमा पनि तपाईंहरूले यस्तै भन्दै गर्दा अध्यक्षको तहबाट छलफल प्रक्रिया भित्रभित्रै अगाडि बढाएर एकतासम्मै पुग्नुभएको थियो । अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन वा एकताको प्रस्ताव लिएर आउनुभयो भने गठबन्धन र एकता नगर्ने भनेर तपाईंहरू बस्न सक्नुहुन्छ ?

अहिले एमाले कुनै पनि प्रस्ताव सुनेर यो अवसरवादी गठबन्धन भत्काएर अर्को अवसरवादी गठबन्धन निर्माण गर्ने पक्षमा छैन, हुँदैन ।

एकताको प्रस्ताव आयो भने नि ?

केका आधारमा एकता ? कांग्रेसको पछि लाग्नका निम्ति एकता ? वामपन्थी शक्तिलाई कमजोर पार्नका निम्ति एकता ? कम्युनिस्ट पार्टीको छँदाखाँदाको सरकार गिराएर दक्षिणपन्थीको पछि लाग्नका निम्ति एकता ? एकताको अभ्यास, अनुभव गरिसकियो । स्वाभाविक रूपमा त्यतिबेला हामीले जुन उद्देश्यका साथ एकता गरेका थियौं, त्यो उद्देश्यअनुरूप आन्दोलन, पार्टी, सरकार अघि बढिरहेको थियो । त्यो एकता भंग गर्नुपर्ने कुनै कारण छ ? त्यो एकता भंग गर्ने निर्णयको औचित्य इतिहासले पुष्टि गर्न सक्छ ? सक्दैन ।

तपाईंले गठबन्धन हुँदैन भन्नुभयो तर स्थानीय तहको निर्वाचनको मतपरिणामले एमालेका लागि ‘चेतावनीयुक्त साइरन’ बजिसक्यो नि ?

मैले दोहोर्‍याएँ, आउने निर्वाचनमा एमाले संसद्को ठूलो शक्ति हुन्छ । यो गठबन्धनको विकल्प एमाले हो । एकातिर गठबन्धन, अर्कोतिर एमाले । जनताले गठबन्धनभन्दा एमाले उपयुक्त हो भनेर रोज्नेछन् भन्नेमा आत्मविश्वास छ ।

स्थानीय चुनावको परिणामबाट दलहरूले गरिरहेका गतिविधि मन नपराएर मतदाता विकल्पमा जान खोजेको हो कि भन्ने संकेत देखिएको छ । जस्तो स्वतन्त्र व्यक्तिले धेरै मत ल्याउँदा तपाईंहरूको पुरानो गढ भत्किने स्थिति देखापरेको छ । यो परिस्थितिलाई मूल्यांकन गरिराख्नुभएको छ कि छैन ?

मूल्यांकन गरिरहेका छौं । नयाँ पार्टी निर्माण गरेर स्थापित पार्टीलाई ‘रिप्लेस’ गर्ने कोसिस यसअघि पनि भएको थियो । त्यो कोसिस काम लागेन । अहिले एक प्रकारले केही ठाउँमा स्वतन्त्र व्यक्तिले जित हासिल गरेका छन् । यसले हामी मतदाताको मनोविज्ञानसँग अविच्छिन्न जोडिनुपर्छ भन्ने शिक्षा दिएको छ । तर पार्टीको विकल्पमा स्वतन्त्र व्यक्तिले केही गर्न सक्दैन । एउटा स्वतन्त्र व्यक्तिले चुनाव जित्दैमा मुलुक ट्र्याकमा हिँड्छ भन्ने हुन सक्दैन । पार्टीको विकल्प स्वतन्त्र व्यक्ति होइन । तर मतदाताको यो मनोविज्ञानलाई सूक्ष्म ढंगले हेर्नुपर्ने, जनताको मनोविज्ञानसँग जोडिएर हिँड्नुपर्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने अनुभूति गरेका छौं ।

गठबन्धनलाई दक्षिणपन्थी शक्ति हो त भनिनै सक्नुभयो । चुनावी परिणाममा देशी–विदेशी शक्तिको पनि भूमिका हुँदो रहेछ ?

त्यतातिर अहिले नजाऔं । हाम्रो मुलुकमा कसले के गर्दै आएको छ, कसले के गर्न सक्छ भन्ने ‘ओपन सेक्रेट’ नै छ । कसैको केही भूमिका भयो भने पनि हाम्रो संगठनात्मक शक्ति र हामीले आर्जन गरेको जनमतका आधारमा सामना गर्ने हो । त्यसकारण मूलतः जनताको समर्थनमा अगाडि बढ्ने पार्टी भएकाले हाम्रो ध्यान जनताको समर्थन, जनताको संगठित शक्तिमा बढ्ता केन्द्रित हुन्छ । सबै प्रकारका अवाञ्छित क्रियाकलापलाई जनमतकै बलमा परास्त गर्ने नीति रहन्छ ।

चुनावी परिणाम आउन थालेको दुई दिनपछि पार्टी महासचिवले वक्तव्य जारी गर्दै चुनावमा धाँधली भयो भन्नुभयो । त्यो वक्तव्य हतारमा थियो कि त्यस्ता धाँधली भएका थिए ?

तपाईंहरूले प्रकाशन गरेका समाचारमा आएका छन्– कहाँ बुथ कब्जा भएको छ, कहाँ लाठी चार्ज भएको छ, कहाँ गोली चलेको छ, कहाँ मान्छेले मतदान गर्न पाएका छैनन् ।

पोखरालगायत केही ठाउँमा पार्टीभित्रको अन्तरविरोध छताछुल्ल भयो । त्यसलाई कसरी हेर्नु भएको छ ?

पोखराको घटनालाई गम्भीर रूपले अध्ययन गरिरहेका छौं । प्रारम्भिक रिपोर्टअनुसार केही ठाउँमा पार्टीमा अनुशासनहीनता र स्वेच्छाचारिता प्रकट भएका छन् । त्यसलाई सूक्ष्म ढंगले विश्लेषण गरेर ठीक ढंगले पहिचान गर्छौं र ठीक ढंगको उपचार गर्छौं । कोही दोषी देखिए दण्डित हुन्छन् ।

ती दोषी पदाधिकारी तहकै नेता देखिए भने के गर्नुहुन्छ ?

दोषी छन् भने जोकोही पनि दण्डित हुन्छन् ।

तपाईंहरूले लामो समय संसद् अवरुद्ध गर्नुभयो । अहिले बिनासर्त बजेट अधिवेशन चल्न दिनुभयो । पहिला केका लागि अवरुद्ध गर्नुभएको थियो र अहिले केका लागि खोल्नुभयो ?

संसद् अवरुद्ध गर्नुको कारण तपाईंहरूले थाहा पाउनुभएकै छ । अहिले बजेट अधिवेशनमा आइपुगेका छौं भन्ने पनि हो ।

त्यो बेला जुन सांसदलाई कारबाहीको कुरा उठाउनुभएको थियो, अब ती सांसदलाई स्वीकार गर्नुभएको हो ?

त्यो कुरा होइन । त्यो विषय अदालतले टुंग्याउला । दोस्रो, अनधिकृत रूपमा गरिएको विभाजन र गैरसांसदलाई सांसदका रूपमा मानियो भन्ने कुरा हुन सक्दैन । गैरसांसदलाई संसद्मा राखेर संसद् सञ्चालन गर्ने विषयमा हाम्रो असहमति छँदै छ ।

(साभारः कान्तिपुर दैनिकका लागि दुर्गा खनाल र बबिता शर्माले गरेको कुराकानी)