• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक ★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह

लैङ्गिक पहिचानको नागरिकतामा चिकित्सकको प्रमाणपत्रको व्यवस्थाप्रति आपत्ति



काठमाडौँ । संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता प्रमाणपत्र दिने व्यवस्था गरे पनि नेपाल नागरिकता ऐन संशोधन विधेयकमा चिकित्सकको प्रमाणपत्र आवश्यक पर्ने प्रावधान राखिएकामा अभियानकर्मीले आपत्ति जनाएका छन् ।

विधेयकमा महिला, पुरुष र अन्यको मात्र व्यवस्था गरेकामा आज राजधानीमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रमका सहभागी लैङ्गिक पहिचान अभियानकर्मीले आपत्ति जनाएका हुन् । अभियानकर्मी रुक्सना कपालीले गृह मन्त्रालयले नागरिकता वितरण सम्बन्धमा अन्य लिङ्गी निर्देशिका बनाएकामा त्यसमा स्व अनुभूतिका आधारमा नागरिकता दिने व्यवस्था नभएको बताउनुभयो ।

यसका लागि नागरिक समाजका तर्फबाट लैङ्गिक पहिचानसम्बन्धी मस्यौदा विधेयक, २०७८ तयार पारिएकाले संसद्मा पेश गरी पारित गर्ने वातावरण बनाउन संसद्लगायत सरोकार भएका निकाय एवं व्यक्तिको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

अभियानकर्मी मनिषा ढकालले संविधानले लैङ्गिक पहिचानअनुसार नागरिकता दिनू भने पनि त्यसअनुसारको कानुन नबनेकाले कार्यान्वयनमा कठिनाइ भएकोे बताउनुभयो । संविधानविपरीत जिल्ला प्रशासन कार्यालयले लिङ्ग परिवर्तनको कागजात माग गर्ने गरेकामा उहाँले आपत्ति जनाउनुभयो ।

अभियानकर्मी इशान रेग्मीले २०७६ माघ २९ गते पार्वतीकुमारी रेग्मीको नामको नागरिकता बाजुरा जिल्ला प्रशासन कार्यालयबाट परिवर्तन गर्नुभएको थियो । लिङ्ग परिवर्तन गरी नागरिकता लिने संविधानको व्यवस्था कार्यान्वयनका लागि धेरै कठिन भएको उहाँले सुनाउनुभयो ।

नागरिकतामा एलिना भण्डारी नाम भए पनि स्व अनुभूतिका आधारमा पुरुषको अनुभव गर्नुभएका एलिन भण्डारीलाई अर्कैको नागरिकता बोकेजस्तो लाग्ने गरेको छ । विधेयकमा रहेको लिङ्ग परिवर्तनका लागि चिकित्सकको प्रमाणपत्र चाहिने व्यवस्था हटाउन पनि उहाँले माग गर्नुभयो ।

लिङ्ग पहिचानको नागरिकता लिने क्रममा आफूले तीनवटा नागरिकता पाएको भूमिका श्रेष्ठले सुनाउनुभयो । पुरुष, महिला वा अन्यमध्ये अन्यको राहदानी लिएर आफूले नेपालबाट पहिलोपटक हवाई यात्रा गरेको पनि उहाँले सुनाउनुभयो ।

अभियानकर्मी सरिता केसीले विधेयकमा लिङ्ग परिवर्तनको नागरिकता लिन चिकित्सकको प्रमाणपत्र चाहिने व्यवस्था सरोकार भएकासँग छलफल नगरी ल्याएकाले यसले समस्या ल्याउने अनुभव सुनाउनुभयो । नीति, निर्मातालाई यससम्बन्धी शब्दावली नै थाहा नभएकाले समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ । सरोकार भएका व्यक्ति र संस्थासँग छलफल गरेर विधेयकको यो प्रावधान संशोधन गर्न अभियानकर्मीको साझा माग छ ।

कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्यालले लैङ्गिक पहिचानमा स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था हुनुपर्ने बताउनुभयो । लिङ्ग परिवर्तन गर्न विदेशमा जानुपर्ने, खर्च जुटाउन नसकिनेजस्ता कारणले यो कठिन हुने उहाँको भनाइ थियो ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालको संविधान २०७२ को धारा १२ मा लैङ्गिक पहिचानका आधारमा नागरिकता पाउने व्यवस्था गरिए पनि कानुन नबनेकै कारण कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । संविधानमा पहिलो वर्षमै बाझेका कानुन खारेज भई अर्को कानुन बन्ने उल्लेख भएपनि अझै कार्यान्वयन हुन नसकेको उहाँले सुनाउनुभयो । संविधानको धारा ३०४ अनुसार २०७५ फागुन २५ गते नै नागरिकता ऐन आउनुपर्नेमा त्यो हुन सकेन । कानुन बनिसक्नुपर्ने बेलामा विसं २०७५ मा संसद्मा विधेयक प्रस्तुत भयो । विधेयक दुई वर्षसम्म प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा अड्क्यो ।

विसं २०७७ मा संसद्मा पेश भएको विधेयक अझै पारित हुनसकेको छैन । संसद्को चालु अधिवेशनमा विधेयक पारित गर्ने गरी राजनीतिक दल, सरकार र शीर्षनेताका बीच छलफल भइरहेको जनाइएको छ ।