१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एस) निकट खेलकुद महासङ्घ गठन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ गठन गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । 

नेकपा (एमाले) निकट उक्त महासङ्घ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासङ्घमा रहने निर्णय गरेका हुन् । आगामी कात्तिक १२ र १३ गते काठमाडौँमा राष्ट्रिय भेला गरिने महासङ्घको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।   

पार्टीका उपमहासचिव डा विजय पौडेलले नयाँ कार्य समितिलाई खेलकुदका माध्यमबाट देशभर सङ्गठनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्र निर्माणमा लाग्न आग्रह गर्नुभयो । 

सङ्घीय, प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशका विभिन्न स्थानमा लुकेका प्रतिभाशाली खेलाडीलाई पहिचान गरी उनीहरूलाई आवश्यक समन्वय र सहयोग गरी राष्ट्रिय खेलाडीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

नवगठित कार्यसमितिका अध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।