• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने

एक दिवसीय शृंखला नेपालले जित्यो



काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको सहयोगमा नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ माथि ६ विकेटको जित निकाल्दै एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बाब्वेले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ४ विकेट गुमाएर भेटाउँदै शृंखला पक्षमा पारेको हो । अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकाले खेल ३३ ओभरमा छोट्याइएको थियो । पहिला ब्याटिङ गर्दै जिम्बाब्वेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । नेपालका लागि ६१ बलको सामना गरेका कुशलले ७ चौका र ४ छक्कासहित ८४ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । यस्तै आशिफले ३७ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर पेभेलियन फर्किदा सुनील धमला ६ रनमा क्याच भएका थिए । त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले सम्हालिएको प्रदर्शन गर्दै अविजित ६० रनको शानदार इनिङ खेले । नेपाली विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारीसँग चौथो विकेटका लागि अविजित ८४ रनको साझेदारी गर्दै नेपालको जित निश्चित गरेका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका विनोद २६ बलमा ३ चौकासहित २८ रन बनाएर अविजित रहे । यसअघि रोहित कुमार पौडेल गोल्डेन डक भएका थिए ।

बलिङतर्फ जिम्बाब्वे ‘ए’का लागि ब्रान्डोन माभवुताले ६ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ३ विकेट लिँदा ब्राड इभान्सले ५ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको जिम्बाब्वे ‘ए’ ले टाडिवान्से मरुमानीको अर्धशतक मद्दतमा २ सय १३ रनको योगफल तयार गरेको थियो । ढिला गरी सुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वे ‘ए’ ले ३२.१ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । जिम्बाब्वे ‘ए’का लागि ओपनर मरुमानीले ३१ बलमा ७ चौका २ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । अर्का ओपनर इनोसेन्ट काया १४ बलमा १२ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै, कुद्जाई मौञ्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर आउट हुँदा रोय काया ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ बनाएर पेभेलियन फर्के । जिम्बाब्वे ‘ए’का कप्तान टोनी मुनयोङ्गा १२ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भएका थिए । यसबाहेक जोनाथन क्याम्पबेल ३, ब्राड इभान्स ७, लुक जोङ्वे १९, ब्रान्डोन माभवुता ६ र सेफस झाओ १६ रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चेर १ मेडनसहित सर्वाधिक ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ७ ओभरमा ४५ रन खर्चेर २ विकेट लिँदा बासिर अहमदले २ ओभरमा ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिँदा करण केसीले ६.१ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

विश्वकप लिग२ अन्तर्गत अर्काे महिना अमेरिकामा हुने त्रिदेशीय शृंखलाको तयारीमा रहेको नेपालले जिम्बाब्वे ‘ए’लाई अभ्यास खेलका लागि नेपाल भ्रमणको निम्तो गरेको हो । नेपाल भ्रमणमा रहेको जिम्बाब्वे ‘ए’सँग यसअघि खेलेको ट्वान्टी–२० शृंखला एक खेल वर्षाका कारण रद्द हुँदा १–१ को बराबरीमा सकिएको थियो । एकदिवसीय शृंखलाको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो एकदिवसीयमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित भए ।