६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

गौतमबुद्धको अस्तुधातु रहेको रामग्राममा बुद्धजयन्तीको विशेष तयारी

गौतमबुद्धको अस्तुधातु रहेको रामग्राममा बुद्धजयन्तीको विशेष तयारी
अ+ अ-

परासी । विश्व शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । यही वैशाख ३१ देखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनअर्थात् यसपटक जेठ २ गते बुद्धजयन्ती पर्व मनाइँदैछ । कोभिड–१९ महामारीका कारण विगत दुई वर्ष बुद्धजयन्तीमा सुनसानजस्तै बनेको रामग्राम स्तूपमा यस वर्ष विशेष उल्लासका साथ बुद्धजयन्ती मनाउन लागिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा पर्दछ । उहाँका अनुसार वैशाख ३१ गते स्तूप क्षेत्रको बृहत् सरसफाइ, जेठ १ गते भिक्षुद्वारा प्रवचन र भोजनदान तथा जेठ २ गते प्रवचन, परित्राण, प्रार्थना तथा अन्य विविध कार्यक्रमका साथ मूल समारोह आयोजना गरिनेछ । साथै जेठ १ र २ गते साँझ दीपप्रज्वलन गरिनेछ ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन मूल समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । लुम्बिनी विकास कोषअन्तर्गत रहे पनि रामग्राम स्तूपमा लामो समयदेखि स्थानीयको सक्रियतामा बुद्धजयन्ती मनाइने गरिएको थियो । यसपटक रामग्राम नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीयको संयुक्त सहकार्यमा रामग्राम स्तूपमा बुद्धजयन्ती मनाउन लागिएको हो ।

कोषको बेवास्ताका कारण रामग्राम स्तूप ओझेलमा परेकोले यहाँको प्रवद्र्धनका लागि स्थानीयकै अग्रसरतामा बुद्धजयन्ती मनाउने गरिएको २५६६ औँ बुद्धजयन्ती मूल समारोह समिति रामग्रामका संयोजक एवं रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले राससलाई बताउनुभयो ।

रामग्राम स्तूप अहिलेसम्म बुद्धको अस्तुधातु नझिकिएको विश्वको एक मात्र स्थल भएको बताइएको छ । बौद्ध ग्रन्थहरुका अनुसार उहाँको महापरिनिर्वाणपश्चात् शवको दाह संस्कारपछि केही मोतीका दानाजस्ता अस्तुधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बीच ती अस्तुधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने मागसहित युद्ध नै गर्न तम्सिए र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिएका जनाइएको छ ।

यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीय, वट्ठदीप, पावा र कुशिनगरका राजाहरुले लगे । उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्तुधातु लगेर विशाल स्तूप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । यसमध्ये कोलिय राज्यका राजाले त्यस अस्तुधातुलाई राखेर बनाएको स्तूप नै रामग्राम स्तूपको भएको बताइएको छ ।

यसपछि इशापूर्व २६८ देखि २३२ सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तूपबाट अस्तुधातु निकाली त्यसबाट ८४ हजार स्तूप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाएको इतिहासमा उल्लेख गरिएको छ ।

इतिहासकारका अनुसार सम्राट अशोक रामग्राममा अस्तु निकाल्न आउँदा यहाँका नाग वंशहरुले रक्षा गरेको कारण यहाँको अस्तु सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौँ शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।

स्तूपमा अहिले देखिने ढिस्को सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भयो । यो स्तूप नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०को रामग्राम नगरपालिका–७ मा पर्छ । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण तीन किलोमिटरस्थित उजैनी गाउँको पूर्व झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तूप हो ।

विश्वभरका बौद्धहरु यस स्थलमा एकमात्र अस्तुधातु भएको पवित्र स्तूप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विभिन्न देशबाट तीर्थयात्री यहाँ आएर सामूहिकरुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् तर यहाँ पर्यटकीय पूर्वाधार अहिलेसम्म निर्माण हुन सकेको छैन ।

सो कोष लुम्बिनीमा मात्र केन्द्रित भएको यहाँका स्थानीयवासीको गुनासो छ । रामग्राम स्तूपको विकासका लागि सरकारले छुट्टै स्वायत्त कोष वा समिति गठन गर्नुपर्ने यहाँका स्थानीयवासीले माग गर्दै आएका छन् । रासस