• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

तिङ्करका स्थानीयवासी गाउँ पुगे, प्रहरी खलङ्गामै



दार्चुला । व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर तिङ्करको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलङ्गामै छ ।

व्यासी सौका समुदाय सदरमुकाम खलङ्गाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिङ्करीको ताला छ महिनापछि खुल्न थालेको छ । “पाँच परिवार तिङ्कर पुगिसकेका छन्”, स्थानीयवासी दानसिंह तिङ्करीले भन्नुभयो, “३५ परिवार खलङ्गाबाट मङ्गलबार हिँडेका छन्, उनीहरु बाटोमा छन् ।” सदरमुकाम खलङ्गाबाट पाँचदेखि छ दिनमा तिङ्कर गाउँ पुगिन्छ ।

भारतीय प्रशासनको अनुमति लिएर स्थानीयवासी हिमाल उक्लिएका हुन् । खलङ्गाबाट पहिलो दिन दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुँदी, पाँचौँ दिन छाङ्गरु र छैठौँ दिन तिङ्कर पुगिन्छ ।

पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ । स्थानीयवासी अहिले पाँच/छ घण्टामै गाडीमा गाउँ पुग्छन् । भारतीय प्रशासनले अनुमति दिन ढिलाइ गर्दा यो पटक बसाइँसराइ केही ढिलो भएको स्थानीयवासी बताउँछन् । गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ । साथै जेठमा यार्सागुम्बा सङ्कलनको काम हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन् ।

तिङ्कर गाउँ चीनको सीमा नजिकैको गाउँ हो । तिङ्कर गाउँभन्दा आधा घण्टामाथि नेपाल प्रहरी बस्छ । छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ छ ।

स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गा र छ महिना छाङ्गरु तिङ्कर बस्छन् । यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्छ । स्थानीयवासीको बसाइँ सरेसँगै खलङ्गा झरेका नेपाल प्रहरी स्थानीयवासी गाउँ पुग्दा पनि सदरमुकाम खलङ्गाबाट माथि उक्लिन सकेको छैन ।

निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ । निर्वाचनका लागि मतदान केन्द्र पनि तिङ्करमै तोकिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिङ्कर पठाउने तयारी भएको बताउनुहुन्छ । “हामीले प्रक्रिया बढाइसकेका छौँ”, उहाँले भन्नुभयो, “तर अझै हेलिकप्टर कहिले आउँछ भन्ने यकीन भएको छैन ।”

प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको उपरीक्षक विष्ट बताउनुहुन्छ । विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको छ । प्रहरीलाई वैशाख २७ गतेअगावै पठाउने गरी पहल भइरहेको छ । छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरि बस्दै आएको छ ।

यस्तै सशस्त्र प्रहरी पनि छाङ्गरुमै छ । गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बिओपी) भवन निर्माण गरिएको छ । तर अहिलेसम्म सशस्त्र प्रहरीलाई खटाउनेबारेमा निर्णय नभएको सशस्त्र प्रहरीले जनाएको छ । रासस