१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हाे कोरोनरी आर्टरी बाइपास ग्राफ्ट शल्यक्रिया (CABG) ?



अ+ अ-

१) कोरोनरी आर्टरी बाइपास ग्राफ्ट शल्यक्रिया (CABG) के हो ? 

मुटुका मांशपेशीहरूमा रगत सञ्चालन गराउने रक्तनलीहरूलाई कोरोनरी आर्टरी (Coronary Artery) भनिन्छ । कोरोनरी आर्टरी (Coronary Artery) साँघुरिएमा वा बन्द भएमा मुटुको मांशपेशीहरूमा रक्त सञ्चालनको कमी भएर छाती दुख्ने वा हृदयघात हुने, हुनसक्छ । यस्तो अवस्थामा मुटुका मांशपेशीहरूमा राम्ररी पुनः रक्त सञ्चालन गराउन विभिन्न किसिमका उपचार विधि अपनाइन्छ । ती मध्ये कोरोनरी आर्टरी वाइपास ग्राफ्ट शल्यक्रिया (Coronary Artery Bypass Graft) पनि एक हो । 

CABG एउटा यस्तो शल्यक्रिया हो, जसमा साँगरिएका वा बन्द भएका कोरोनरी आर्टरी (Coronary Artery) हरूभन्दा तल शरीरका अन्य रक्तनली (Vein तथा Artery) लाई जोडिन्छ । यस प्रविधिबाट कोरोनरी आर्टरी (Coronary Artery) को बन्द भएका भागलाई केही नगरी अलग्गै छोडेर मुटुका मांशपेशीहरूमा रक्त सञ्चालनका लागि वैकल्पिक बाटो तय गरिन्छ । CABG गरेपछि बिरामीको छाती दुख्ने, पुनः हृदयघात हुने सम्भावनालाई कम गर्नुका साथै गुणात्मक र परिमाणात्मक रूपमा जीवन अभिवृद्धि गरिदिन्छ । तर यस अप्रेशनले पुनः अर्काे रक्तनली बन्द हुन वा साँघुरिनबाट रोकथाम भने गर्दैन । अतः खानपानमा सावधानी, नियमित औषधिको सेवन तथा कोरोनरी (Coronary) रक्तनलीको रोग गराउने कारक तत्वहरूको नियन्त्रण गर्नु अत्यन्तै महइभ्वपूर्ण हुन्छ । 

२) CABG कसलाई गरिन्छ ?

चिकित्सकले ई.सी.जी., ई को कार्डियो ग्राफी, टी.एम.टी जस्ता आवश्यक जाँच गरेर अन्ततः कोरोनरी एन्जियोग्राम (CAG) गर्दा र रगतको नली साँघुरिएको थाहा हुन्छ । निम्न अवस्थाहरूमा CABG गर्नुपर्ने हुन्छ । 
क. कोरोनरी आर्टरी (Coronary Artery) साँघुरिएर छाती दुख्ने (Unstable Angina) भएमा 
ख. हृदयघात भएमा 
ग. देब्रे मुख्य कोरोनरी रगतको नली (Left Main) बन्दमा 
घ. अन्य विधिहरूबाट साँघुरिएका वा बन्द भएको कोरोनरी आर्टरी (Coronary Artery) खोल्न नसक्ने भएमा । 

३) CABG कसरी गरिन्छ ? 

CABG अप्रेशन थिएटरमा बिरामीलाई बेहोस् गरेर सबै किसिमका दक्ष प्राविधिकहरू र आवश्यक संयन्त्रहरू सुनिश्चित गरी गरिने सामूहिक कार्य हो । यसमा मुटुसम्म पुगनेका लागि छातीको मध्ये भागमा रहेको हड्डी (Sternum) लाई चिरिन्छ । 

बाइपास गर्न प्रयोग हुने रक्तनलीहरू धमनी (Artery) वा शिरा (Veins) हुने गर्दछन् । धमनीहरूमा छातीमा रहेका (Left Internal Mammary Artery-LTMA, Right Internal Mammary Artery-RIMA) वा हात वा पेटमा रहेका आर्टरी (Artery) हरू प्रयोग गरिन्छ । शिराहरूमा खुट्टामा रहेको Sephaneous Vein को प्रयोग गरिन्छ । यो अप्रेशन गर्न दुईदेखि पाँच घण्टा लाग्दछ जुन कतिवटा कोरोनरी आर्टरी वाइपास (Coronary Artery Bypass) गर्ने हो त्यसमा भर पर्दछ ।

CABG दुई प्रविधिबाट गर्न सकिन्छ, जसलाई on-punp वा off-pump  भनिन्छ ।On-pump भन्नाले मुटुलाई बन्द गरी कृत्रिम मुटु फोक्सोको काम गर्ने मेसिन (Heart Lung Machine) मा राखी CABG गरिएको भन्ने बुझिन्छ । Off-Pump भन्नाले धड्कीरहेको मुटुमा नै अप्रेसन गर्नु भन्ने बुझिन्छ । यस विधिमा हुटु हल्लिन कम होस् भनेर Heart Stabilizer प्रयोग गरिन्छ । 

४) CABG पछिको अवस्था 

अप्रेशन सकिएपछि बिरामीलाई SICU (Surgical Intensive Care Unit) मा सारिन्छ । बिरामीलाई राम्ररी होस नआएसम्म भेन्टिलेटर भन्ने कृत्रिम श्वास प्रश्वास गराउने मेसिनको सहायतामा राखिन्छ र बिरामीको अवस्था स्थिर सन्तोषजनक भएपछि भेन्टिलेटरबाट निकालिन्छ । SICU एउटा अत्यन्तै संवेदनशील क्षेत्र हो अतः संक्रमणको नियन्त्रण गर्ने हेतु र अन्य विभिन्न कारणले गर्दा बिरामी कुरुवाहरूलाई यस क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको हुन्छ । सामान्यतया CABG गरेका बिरामीहरूलाई एक दुई दिन SICU मा राखिएपछि Post Operative Ward  मा पठाइन्छ । त्यसको तीनदेखि पाँच दिनमा बिरामीलाई घर पठाइन्छ । 

५) अपरेशनपछि ध्यान दिनुपर्ने कुराहरू :

क) घाउको स्याहार :
अप्रेशन गरेको घाउ दुख्नु, झमझम गर्नु र सुन्निनु सामान्य हुन्छ । जुन ४–६ हप्तामा निको हुन्छ । यदि खुट्टाको रक्तनली निकालिएको छ भने चारदेखि ६ हप्तासम्म इलास्टिक ब्यान्डेज लगाउनुपर्दछ । र खुट्टा झुण्ड्याएर बस्नु हुँदैन । घाउलाई हातले घरीघरी छुने, क्रिम, लोसन लगाउने गर्नु हुँदैन । घाउलाई सुख्खा र सफा राख्नुपर्दछ । अप्रेशन गरेको पाँचदेखि ६ दिनपछि नुहाउन हुन्छ । साबुन र पानी घाउमा पार्न पनि हुन्छ । घाउ पाक्ट कि भनी खानेकुरा बार्नु पर्दैन । 

ख) संक्रमणको पहिचान : 
घाउबाट पीप वा रगत आएमा, बिरामीलाई हनहनी ज्वरो आएमा संक्रमण भएको हुन सक्दछ । यस्तो अवस्थामा तुरुन्तै अस्पताल आउनुपर्दछ । 

ग) आकस्मिक अवस्थाहरू :
निम्न अवस्थाहरूमा तुरुन्तै अस्पताल आउनुपर्दछ । 

  • घाउको संक्रमण भएमा 
  • हनहनी ज्वरो आएमा । 
  • हात खुट्टा सुन्निएमा । 
  • सास फेर्ने गाह्रो भएमा । 
  • छाती गह्रौं भारी भएर दुखेमा । 
  • मुटुको गति परिवर्तन भएमा । 

घ) बिरामीको पुनःस्थापिना तथा Follow Up

  • चिकित्सकले सिफारिश गरे बमोजिमका औषधिहरूको नियमित सेवन गर्नुपर्दछ । 
  • फिजियोथेरापिष्टले सिकाए बमोजिमका व्यायाम तथा क्रियाकलापहरू गर्नु पर्दछ ।
  • चिकित्सकले भने बमोजिम नियमितFollow up मा रहनु पर्दछ ।
  • करिब ६ देखि ८ हप्तासम्म गह्रौं सामान उचाल्ने तथा छातीमा धक्का लाग्ने खालका क्रियाकलापहरू गर्नु हुँदैन । 
  • करिब ४ देखि ६ हप्तापछि आफ्नो काममा फर्कन सकिन्छ । 

जोखिमको न्यूनीकरण :
CABG एक प्रकारको Pallijitive उपचार विधिमात्रै हो । रगतका नली साँघुरिने प्रक्रिया यसले कम गराउँदैन । एक पटक CABG गरिसके पछि अब पुनः अरू रक्तनलीहरू तथा CABG गरेका नलीहरू बन्द नहोस् भन्नका लागि बिरामीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्दछ । जुन निम्नानुसार छन् । 

  • धुम्रपान त्याग्ने 
  • कोलेस्टेरोल नियन्त्रण गर्ने । 
  • मधुमेह तथा उच्च रक्तचापको नियन्त्रण गर्ने । 
  • नियमित व्यायाम गर्ने तथा सन्तुलित स्वस्थ खाना खाने । 
  • नियमित रूपमा चिकित्सकसँग परामर्श गर्ने । 
  • औषधि नियमित सेवन गर्ने । 
  • मानसिक तनाव कम गर्ने । 
  • प्रशस्त मात्रामा फलफूल तथा सागसब्जीहरू खाने र चिल्लो तथा बोसोयुक्त खाने कुराहरू कम खाने । 

नेपालमा निम्न हस्पिटलमा मुटु रोगको उपचार हुन्छ :
 
ओपन हार्ट सर्जरी देखि सम्पर्क सेवाहरू उपलब्ध हुने हस्पिटल 
क) सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी, काठमाडौं 
ख) मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (टिचिङ हस्पिटल) महाराजगञ्ज 
ग) नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली 
घ) हेम्स हस्पिटल धुम्बराही, 
ङ) ग्राण्डी इन्टरनेशनल हस्पिटल धापासी, काठमाडौं 

तत्कालीन सेवा दिन सक्ने हस्पिटलहरू :
क) बयोधा हस्पिटल, बल्खु काठमाडौं 
ख) मेडिकियर हस्पिटल चाबहिल, काठमाडौं 
ग) बी.पी. हस्पिटल धरान, घोपा 
घ) बिएण्डसी हस्पिटल, झापा, विर्तामोड 
ङ) चितवन मेडिकल हस्पिटल भरतपुर 
च) पदम नर्सिङ होम पोखरा 

इमर्जेन्सी परेमा नाजिकको मुटु हस्पिटल तथा मुटुको डाक्टर भएकोमा सिधै जाने गर्नुहोला