२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीका औषधि : सातु र सर्वत



अ+ अ-

अक्षय तृतीयाले सिकाएको सातु र कागतीको सर्वतको महत्त्व बुझेर वर्षैभरि प्रयोग गरे भिटामिनको चक्की खान जरुरत पर्दैन । सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरूकहाँ जान्थ्यौं । सातु र सर्वतले पेट भरिएपछि भातै खाइँदैनथ्यो । त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले भरिपूर्ण कागतीको सर्वत पो खाँदा रहेछौं ।

मलाई याद छ, गिँजाबाट रगत निस्कँदा हजुुरआमा कागती–पानी खानुहुन्थ्यो । अमलाको सानो–सानो टुक्रा चुसिरहनुहुन्थ्यो । हजुरआमाको भान्छामा अमला सधैं हुन्थ्यो । त्यो बेला अमला बारीमा पाइन्थ्यो । अमला खाएर पानी पिए रगत बढ्छ भन्ने गरिन्थ्यो । अमला खाएपछि पानी पिउँदा गुलियो हुने भएकाले हामी खान्थ्याै पनि । बजारमा किन्दा पनि १० पैसाको २, ३ वटा अमला पाइन्थ्यो । अमला खाँदा भिटामिन सी पाइन्छ र यसले रोगसँंग लड्ने शक्ति बढाउँछ भन्ने वैज्ञानिक ज्ञान नभए पनि स्वास्थ्य राम्रो पार्छ भन्नेचाहिँ बज्यैलाई थाहा रहेछ । बज्यै भन्नुहुन्थ्यो, ‘कागती, अदुवा र अमला भएको घरमा रोग पस्न पाउँदैन ।’

अहिले हामी सबैको भान्छामा कागती, अदुवा र अमला पाइए पनि यसको राम्रोसँंग प्रयोग गर्नचाहिँ सकिएको छैन वा जानिएको छैन । गर्मी लाग्यो, अब सबैले मानव स्वास्थ्यलाई खराब पार्ने, मुटुको रोग लगाउने, मोटो पार्ने चिसो पेय पदार्थ वा बजारमा राखिएको फलफूलको बिग्रेको रस खान सुरु गर्छन् । साना–साना बालबालिकालाई पनि माया गरेर यस्ता वस्तु दिन्छन् ।

आमाबुबालाई थाहा हुँदैन कि उनीहरूले यस्तो पेय पदार्थ दिँदा महंँगो तर बालबालिकालाई ‘मन्दविष’ दिइरहेका छन् । यस्ता मातापितालाई म भन्छु– अब गर्मी लागेको छ, साना नानीलाई साँच्ची नै माया गर्नुहुन्छ भने कागतीको सर्वत बनाएर, सातुसंँग खान दिनुस्, पुदिनाको अचार दिनुस्, अमला खान दिनुस् ।

वैद्य पसलमा पाइने त्रिफलाको एउटा महत्त्वपूर्ण तत्त्व अमला हो । त्रिफला कब्जियत कम गर्नका लागि काम लाग्छ । कतिजनाले त्रिफला भिजाएर पनि प्रयोग गर्छन् । त्रिफलाले शरीरको रोग प्रतिरोध शक्ति बढाउँछ । धेरैले सुनेको च्यावनप्राशको एक महत्त्वपूर्ण तत्त्व पनि अमला हो । अमला र कागती दुबैमा रहेको भिटामिन सी नष्ट नहोस् भनेर चाहिँ विचार गर्नैपर्छ । धेरै तातोले भिटामिन सी नष्ट गर्छ । त्यसैले लेमन टी बनाउँदा, चिया बनाएर गिलासमा हालेर मात्र कागती निचोर्नु उत्तम हुन्छ । अमलालाई पनि सकेसम्म धेरै नपकाएर नै खानु वेश हुन्छ ।

सजिलो उम्रिने र पाइने पुदिना (बाबरी) पनि एक उत्तम औषधी हो । ‘पुदिना हरा’ किनेर पेटको गडबडी ठिक पार्नेहरूले बारीको पुदिना किन प्रयोग नगर्ने रु धनियाँ र पुदिना पिसेर अचार बनाउँदा स्वास्थ्य र स्वाद दुवै पाइन्छ । गर्मीमा पुदिनाको चिया खान सकिन्छ । सहजै तरिकाले पाइने र गर्मीमा शीतलता दिने वस्तु अक्षय तृतीयाको दिन सुरु गरेर वर्षैभरि प्रयोग गरौं ।