१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोकथामका लागि सक्रियता



अ+ अ-

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोक्नका लागि सक्रियताका साथ लागेको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको छ ।

चन्दननाथ नगरपालिका– ९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अब कानूनीरुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नुपर्ने बेला आएको छ । वडाध्यक्ष डाँगीले भन्नुभयो, “बालविवाह सामाजिक अपराध भएकाले अभिभावक सबैभन्दा बढी सचेत हुनुपर्छ ।” उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुने वडाध्यक्ष डाँगीले बताउनुभयो ।

नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले बताउनुभयो । आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहका बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ ।

जिल्लाको हकमा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । नगरपालिकामा १९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

नगरभित्रका दशवटै वडाभित्रका बाल क्लबका पदाधिकारीलाई बालविवाह रोकथाम गर्नका लागि सचेतना फैलाउने कार्य चलिरहेको नगरपालिकाका महिला तथा बालबालिका शाखाले जनाएको छ ।