१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध



अ+ अ-

ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कूल ५८६ जनाले उम्मेदवारी दिएकामा ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरको प्रमुख गोमा घिमिरेले जानकारी दिनुभयो ।

विभिन्न दल र स्वतन्त्रबाट वडाध्यक्ष, वडा सदस्य, महिला र दलित महिला सदस्यमा उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै उहाँले विभिन्न वडा १५ जना वडाध्यक्ष र अन्य सदस्यहरू गरी ४९ जनाको उम्मेदवारी फिर्ता भएको जानकारी दिनुभयो ।

त्यसैगरी महालक्ष्मी नगरपालिकामा २२९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा एक प्रमुख, विभिन्न वडाबाट सात जना वडाध्यक्ष र अन्य सदस्य गरी १७ जनाले उम्मेदवारी फिर्ता लिएको उहाँले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकाबाट विभिन्न पदमा ३२३ जनाले उम्मेदवारी दिएकामा एक नगरप्रमुख, ६ जना वडाध्यक्ष र अन्य ६ सदस्यहरू गरी १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कार्यालयका अनुसार बागमती गाउँपालिकामा विभिन्न पदमा ९२ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष दुई गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै महाङ्काल गाउँपालिकामा विभिन्न पदमा कूल १०५ जनाले उम्मेदवारी दिएकामा उपाध्यक्ष दुई र सदस्य दुई गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कोन्ज्योसोम गाउँपालिकामा भने कूल ७९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा उपाध्यक्ष एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

ललितपुर जिल्लाका सबै पालिकामा गरी एक हजार ४१५ जनाले उम्मेदवारी दिएकामा कूल ९० जनाले उम्मेदवारी फिर्ता लिएको र चारजना निर्विरोध भएका हुन् । नेकपा (एमाले)का तर्फबाट ललितपुर महानगरपालिका–११ की दलित महिला सदस्य सूचीना परियार निर्विरोध हुनुभएको छ ।

कोन्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य कृष्णकुमारी सुनार र वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य सपना मङ्ग्रान्ती निर्विरोध हुनुभएको कोन्ज्योसोम गाउँपालिकाकी निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिनुभयो । बागमती गाउँपालिका–१ की दलित महिला सदस्य निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।