५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध



अ+ अ-

ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कूल ५८६ जनाले उम्मेदवारी दिएकामा ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरको प्रमुख गोमा घिमिरेले जानकारी दिनुभयो ।

विभिन्न दल र स्वतन्त्रबाट वडाध्यक्ष, वडा सदस्य, महिला र दलित महिला सदस्यमा उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै उहाँले विभिन्न वडा १५ जना वडाध्यक्ष र अन्य सदस्यहरू गरी ४९ जनाको उम्मेदवारी फिर्ता भएको जानकारी दिनुभयो ।

त्यसैगरी महालक्ष्मी नगरपालिकामा २२९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा एक प्रमुख, विभिन्न वडाबाट सात जना वडाध्यक्ष र अन्य सदस्य गरी १७ जनाले उम्मेदवारी फिर्ता लिएको उहाँले जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकाबाट विभिन्न पदमा ३२३ जनाले उम्मेदवारी दिएकामा एक नगरप्रमुख, ६ जना वडाध्यक्ष र अन्य ६ सदस्यहरू गरी १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कार्यालयका अनुसार बागमती गाउँपालिकामा विभिन्न पदमा ९२ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष दुई गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै महाङ्काल गाउँपालिकामा विभिन्न पदमा कूल १०५ जनाले उम्मेदवारी दिएकामा उपाध्यक्ष दुई र सदस्य दुई गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कोन्ज्योसोम गाउँपालिकामा भने कूल ७९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा उपाध्यक्ष एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

ललितपुर जिल्लाका सबै पालिकामा गरी एक हजार ४१५ जनाले उम्मेदवारी दिएकामा कूल ९० जनाले उम्मेदवारी फिर्ता लिएको र चारजना निर्विरोध भएका हुन् । नेकपा (एमाले)का तर्फबाट ललितपुर महानगरपालिका–११ की दलित महिला सदस्य सूचीना परियार निर्विरोध हुनुभएको छ ।

कोन्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य कृष्णकुमारी सुनार र वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य सपना मङ्ग्रान्ती निर्विरोध हुनुभएको कोन्ज्योसोम गाउँपालिकाकी निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिनुभयो । बागमती गाउँपालिका–१ की दलित महिला सदस्य निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।