• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

मेयरमा विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउँछु – सिर्जना सिंह



काठमाडौं । सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनु भएको हो । उहाँले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताउनु भयो ।

सिंहले सबै महिलाहरुको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाउनु भयो । उहाँले भन्नु भयो, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’

सिंहले आफूलाई नेपाली काँग्रसले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको बताउनु भयो । सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उहाँको दावी थियो । सिंहले भन्नु भयो, ‘मलाई थाहा थिएन । मेरो श्रीमानलाई त झन थाहा हुनै कुरै भएन । नेपाल महिला संघ, काठमाडौंमा मलाई मेयरमा उठनुपर्छ भनेर स्वतहःस्फूत रुपमा कुरा उठाएको हो । सधैभरी आरक्षणको कोटामा मात्रै महिलाहरु बस्नुपर्ने । अव मेयर र वडाध्यक्षहरु नै उठनुपर्छ र त्यसमा मेयरमा सृजना भाउजुलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौले मलाई प्रस्ताव गरेको हो । त्यसपछि मेरा साथीहरुको पनि प्रेसर आयो । नेविसंघसहितका पार्टीको सबै भातृ संस्थाहरुबाट पनि दवाव आउन थाल्यो । पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई मेयरको उम्मेदवार बनाएको हो । हो म गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती हुँ । त्यसमा मलाई गर्व छ ।’

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताउनु भयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताउनु भयो ।