• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   क्रिकेटर सन्दीपको मुद्दाको पेसी आज, निर्दोष ठहर भए विश्वकप खेल्न पाउने ★   राजनीतिक द्वन्द्वले सरकारको नीति तथा कार्यक्रम नै अन्योल ★   लिभरपुल र एस्टन भिल्लाले बराबरी खेले ★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की

जगन्नाथमाथि दबाव, देउवादेखि प्रचण्डको ध्यान चितवनमै



काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनले अघि सारेको नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन चर्को दबाव परेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसबाहेक अन्य पार्टीलाई उम्मेदवार बनाउन नहुने चितवनका कांग्रेसी नेता कार्यकर्ताको भावनाविपरीत माओवादी केन्द्रका दाहाललाई गठबन्धनले उम्मेदवार बनाएपछि चितवन कांग्रेसमा असन्तुष्टि बढेको छ ।

फलतः कांग्रेसी नेता तथा कार्यकर्ताहरुले बाजागाजा र झाँकी जुलुससहित चितवन कांग्रेसका पूर्वसभापति तथा राष्ट्रियसभाका पूर्वसांसद जगन्नाथ पाैडेल लाई स्वतन्त्र उम्मेदवार बनाएका छन् ।

केन्द्रको दबावलाई चुनौती दिँदै असन्तुष्ट कांग्रेसी नेता कार्यकर्ताले पौडेललाई मेयर पदमा उम्मेदवार बनाएपछि पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउन र असन्तुष्टि हटाउन अहिले गृहमन्त्री बालकृष्ण खाँण यज्ञपुरीस्थित पौडेल निवासमा पुग्नुभएको छ ।

खाँणसँगै पौडेललाई सम्झाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, चितवन कांग्रेस सभापति राजेश्वर खनाललगायत नेताहरू पौडेल निवासमा भेला भएका छन् ।

निर्वाचनका बेला मुलुकभरको शान्तिसुरक्षाको अवस्थाका बारेमा क्रियाशिल रहनु पर्ने मन्त्री खाँड दुई दिन देखी चितवनमा नै बस्नु भएको छ । उहाँ पौडेलको उम्मेदवारी फिर्ता गराउनका लागि निकै जोडबल गरिरहनु भएको छ ।

यद्यपि नेता पौडेलले अझै पनि उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभएको छ । भेटमा उहाँले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको बताइएको छ । उहाँमाथि उम्मेदवारी फिर्ता नलिन चितवन कांग्रेस नेता तथा कार्यकर्ताबाट पनि उत्तिकै दबाव परेको छ ।

यसअघि पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउन पार्टी सभापति शेरबहादुर देउवा र सत्ता गठबन्धनको अर्को घटक नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रियरुपमा लाग्नुभएको थियो ।

मङ्गलबार चितवन पुगेर पौडेललाई उम्मेदवारी फिर्ता गराउने प्रचण्डको पाँच घण्टासम्मको प्रयास असफल भएपछि उहाँले कांग्रेस सभापति देउवासँग गुहार माग्नुभएको थियो ।

पौडेलले उम्मेदवारी फिर्ता नलिए रेनु दाहालले हार्ने सुनिश्चित भएकाले कसरी हुन्छ पौडेललाई उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन प्रचण्डले सभापति देउवासँग आग्रह गर्नुभएको बताइएको छ ।

पौडेललाई काठमाडौँ आएर कुरा गर्न बारम्बार आग्रह गर्दा पनि पौडेल काठमाडौँ आउन नमानेपछि सभापति देउवाले गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठलाई चितवन पठाउनुभएको हो ।

विगतमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि भरतपुरमा कांग्रेसी कार्यकर्ताले रेनु दाहाललाई मत दिएर जिताएका थिए ।

पटकपटक माओवादीलाई सहयोग गरेका चितवनका कांग्रेसी नेता तथा कार्यकर्ता सधैँ माओवादीलाई बुई चढाएर सत्तामा पुर्याउन नहुने भन्दै असन्तुष्टि जाहेर गर्दै आएका थिए । उनीहरुले यसपटक कांग्रेसले टिकट पाउनु पर्ने माग गरेका थिए ।

पौडेलमाथि अहिले जिल्लाका नेता र कार्यकर्ताबाट उम्मेदवारी फिर्ता नलिने तथा केन्द्रीय नेतृत्वबाट फिर्ता लिने दबाव छ । यद्यपि उहाँले जिल्लामा कांग्रेसलाई बचाउन पनि आफूले उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ ।

शुक्रबार बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तालिका निर्वाचन आयोगले दिएको छ । पार्टी सभापति देउवाले पनि स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।

पौडेलले पार्टी नेतृत्वको आग्रहलाई ग्रहण गर्नुहुन्छ वा साँच्चै नै उहाँले भनेबमोजिम चितवन कांग्रेसलाई बचाउन पार्टी नेतृत्वको आग्रहलाई बेवास्ता गर्नुहुन्छ, चाँडै नै थाहा हुनेछ ।