• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

मिर्गौला बचाउन नियमित परीक्षण गरौंः डा काफ्ले



हाम्रो शरीरमा दुई थरीका अंगहरू छन्, एकथरी नहुँदा पनि बाँचिन्छ र अर्को थरी नहुँदा वा काम नगरेमा बाँचिन्न । यस्तै नभई नहुने अंग हो मिर्गौला । प्रत्येक व्यक्तिको मेरुदण्डको दुवैतर्फ १२औं करङको हाराहारीमा आफ्नो मुठ्ठी बराबरको सिमी आकारको गोलो अंगलाई मिर्गौला भनिन्छ । केही व्यक्तिहरू एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन्, तर उनीहरू पूर्णरूपमा स्वस्थ हुन्छन् यदि त्यो मिर्गौला स्वस्थ छ भने । मिर्गौलाले पिसाब बनाउँछ ।

पिसाबमा शरीरलाई नचाहिने फोहोर पदार्थहरू र बढी पानी हुन्छ । झोल पदार्थ कम बेसी हुँदा पिसाब बढी वा कम हुने गर्दछ । पिसाब बाहेक रक्तचाप सन्तुलन, नुन व्यवस्थापन, रगतमा हेमोग्लोबिनको मात्रा निर्धारण, भिटामिन डी लाई सक्रिय बनाउनेलगायत धेरै काम गर्छ । ३० वर्षको उमेरमा मिर्गौलाले सबैभन्दा बढी काम गरेको पाइएको छ भने क्रमशः उमेरसँगै मिर्गौलाले कम काम गर्दछ, ९० वर्ष पुगेको स्वस्थ व्यक्तिको मिर्गौलाले आधीमात्र काम गर्दछ र त्यो उमेरको लागी पर्याप्त हुन्छ ।

मिर्गौलामा लाग्ने रोगहरू पिसाबको संक्रमण, पत्थरी, नेफ्राइटिस बाहेक रक्तचाप र मधुमेहले पनि मिर्गौलामा असर पार्छ । पिसाब घटेमा, पोलेमा, फेर्न गाह्रो भएमा उपचार गरिने चलन छ, तर मिर्गौला क्रमशः बिग्रँदै गएको, उक्त अंगको क्षमता घट्दै गएको थाहा पाइँदैन । अधिकांश मिर्गौला बिग्रँदै गरी लागेको रोग लक्षणविहीन हुने हुनाले जाँच पड्ताल गरिँदैन । अधिकांश बिरामीहरू रोगले धेरै चापेपछि मात्र उपचार गर्न आउने गर्छन् ।

मिर्गौला बिग्रिसकेपछि, उपचार भनेको डायलाइसिस वा प्रत्यारोपण हो । डायलाइसिस भनेको बिरामीको रगत शुद्ध गर्ने उपचार विधि हो । हेमोडायलाइसिसमा बिरामीको रगत मेशिनमा पठाएर शुद्ध पारिन्छ । यो गर्न हप्तामा दुई पटक र एक पटकमा चार घण्टा लाग्छ । पेरीटोनियल डायलाइसिस वा पानी डायलाइसिस भन्नाले बिरामीको पेटभित्र दुई लिटरको विशेष औषधियुक्त पानी दिनमा तीन पटक राखेर रगत शुद्ध पारिन्छ ।

डायलाइसिसबाहेक अर्को उपचार हो मिर्गौला प्रत्यारोपण । आफन्त स्वस्थ व्यक्तिको मिर्गौला शल्यक्रिया गरेर बिरामीको शरीरमा जोडिन्छ र बिरामी पूर्णतः स्वस्थ बन्छ तर त्यो प्रत्यारोपण गरेको मिर्गौलालाई काम गराउन औषधि (Immuno Suppresive Medicine ) जीवनभर नटुटाइकन खानुपर्छ । डायलाइसिस गर्न पाइएन, प्रत्यारोपण भएन भने मृत्यु अवश्यम्भावी छ ।

स्वस्थ व्यक्तिको मिर्गौला कसरी बिग्रन्छ त ?

हाम्रो बिग्रँदो जीवनशैली, स्वास्थ परीक्षण नगराउने बानी, लक्षणको पछाडि दौडेर उपचार गराउने चलनले रोग ढिलो पत्ता लाग्छ । हार्ट टु हार्ट नेपाल (Heart to Heart Nepal) का अनुसार नेपालमा १० प्रतिशत जनसंख्यामा अर्थात् ३० लाख व्यक्तिमा मिर्गौलाको समस्या हुने रहेछ । संसारभरीको तथ्यांकले यही भन्छ । यिनै ३० लाख मध्येबाट प्रत्येक वर्ष तीन हजार व्यक्तिको मिर्गौला पूरा काम नलाग्ने हुन्छ र डायलाइसिस वा प्रत्यारोपणले मात्र बचाउन सक्छ । चुरोट, खैनी, सुर्ती, जाँडरक्सी, अत्यधिक मासु, अस्वस्थ तरिकाले पकाएको खाना, बेलुकी ढिलो खाने बानी, कसरत, व्यायाम गर्न नभ्याउने वा नगर्ने, मिसावटी खाना, प्रदूषण सबैले मिर्गौला रोग बढाइरहेको छ ।

नेपालमा २०४५ सालबाट डायलाइसिस सेवा सुरु भयो वीर अस्पतालबाट । आज देशका विभिन्न ठाउँमा ६० वटा भन्दा बढी अस्पतालले यो सेवा प्रदान गरिरहेका छन् । केन्द्रले करिब पाँच हजार मिर्गौला रोगीलाई डायलाइसिस सेवा दिइरहेछन् । आठ वटा अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति पाएका छन् । विपन्न नागरिकलाई डायलाइसिस निःशुल्क छ, साथै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण पनि रोगको उपचार सजिलो छैन, तर परेपछि नगरी सुख छैन ।

मिर्गौला स्वस्थ राख्न हामीले ध्यान दिनु छ । दिनको सुरुवात एक गिलास पानीबाट गरौं ताकि हामी दुई÷तीन लिटर पिसाब फेर्ने गरी झोल पदार्थ पिउने बानी बसालौं । बढी पसिना आउँदा धेरै पानी पिउने गरौं । दिनमा सात किलोमिटर हिँड्ने व्यायाम, योग, प्रणायाम, खेलकुद गरौं ताकि हामी १० हजार पाइला चाल्नेछौं भने हामी स्वस्थ रहन सक्छौं । खाना खाँदा स्वस्थ ताजा र सागसब्जी तरकारी, फलफूल, दाल गेडागुडी बढी खाएमा स्वस्थ रहन मद्दत पुग्दछ । मासुको परिकार कम, गुलियो कमको साथसाथै मैदाबाट बनेको र तैयारी खाना कम खाने बानी बसाल्नुपर्छ । राति सुत्नुभन्दा तीन घण्टाअघि खाने र सो खाना हल्का भएमा स्वस्थ हुन सकिन्छ । निद्रा पुग्नेगरी सुत्ने गर्नुपर्छ कम्तीमा ६ देखि ८ घण्टा । कुनै लक्षण नभए पनि । आफूलाई स्वस्थ महसुस भए पनि वर्षमा एकपटक पिसाब जाँच र रगतमा क्रिटिनिन जाँच गर्नुपर्छ ।

पिसाबमा प्रोटिन गएको छ भने मिर्गौलामा रोग छ, रगतमा क्रिटिनिन बढेको छ भने मिर्गौला बिग्रन लाग्यो भन्ने बुझ्नुपर्छ । समयमै उपचार ग-यो भने मिर्गौलाको रोग निको पार्न सकिन्छ साथै मिर्गौला बिग्रने सम्भावना घटेर जान्छ ।

“उपचारभन्दा रोकथाम राम्रो” भन्ने भनाई सबैलाई थाहा छ । तर यसलाई साकार पार्न रोकथामको उपाय अपनाउनु पर्छ । रोकथामको पहिलो चरण मेरो स्वास्थ्य कस्तो छ ? भनी थाहा पाउनुपर्छ । यसका लागि मिर्गौलाको परीक्षण गर्नुपर्छ । नेपालको धेरै ठाउँमा रगतमा क्रिटिनिन र पिसाब जाँच सम्भव छ । त्यसैले सबै व्यक्तिहरूले कम्तीमा पिसाब जाँच गर्न जरुरी छ । यसो गर्दा पिसाबमा प्रोटिन गए नगएको पत्ता लाग्छ । प्रोटिन गएको छ भने मिर्गौलामा रोग छ, प्रोटिन गएको छैन भने मिर्गौला स्वस्थ छ । त्यसपछि रगत जाँच गर्न पाए सुनमा सुगन्ध हुनेछ ।

“स्वस्थ मिर्गौैला–स्वस्थ नेपाल” र “मिर्गौला रोगमुक्त” नेपालको परिकल्पना गर्दै “मिर्गौला बचाऔं अभियान” सुरु गरिएको छ । मिर्गौला बारे जानकारी, मिर्गौला स्वस्थ राख्ने तरिकाबारे जानकारीको साथ साथै “अंगदान– जीवनदान” जस्ता कार्यक्रम सञ्चालन गर्दै मिर्गौला रोगबारे जानकारी दिँदै आएको छ ।

मिर्गौला स्वस्थ छ छैन भनी थाहा पाउन निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । उच्च रक्तचाप, मधुमेह, मोटो व्यक्तिहरू, परिवारमा मिर्गौला रोग देखापरेका व्यक्तिहरू र ३० वर्षमाथि उमेरका प्रत्येकले वार्षिक मिर्गौला परीक्षण गर्ने सल्लाह घरघरमा पु¥याउने काम पनि गर्दै छ । हालसालै “स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं” कार्यक्रम काठमाडौं महानगरपालिकासँग मिलेर सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य समयमै परीक्षण गरौं र स्वस्थ रहौं भन्ने नै हो । सके दिनको एक रूपैयाँ मिर्गौला बचाऔं अभियानमा दान गरी रोकथाम कार्यक्रम अगाडि बढाऔं ।

– डा.ऋषि कुमार काफ्ले मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ