१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार बन्न धमाधम राजीनामा दिँदै जनप्रतिनिधि



अ+ अ-

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । सर्वोच्च अदालतले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने फैसला गरेपछि उनीहरुले उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

यसै सन्दर्भमा वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पुनः महानगर प्रमुखमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् ।

सरावगीले महानगर उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । उनले शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख कार्कीले बताउनुभयो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ गते आइतबार र १२ गते सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । सर्वोच्चको फैसलाअनुसार आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार दर्ता गर्नुअघि राजीनामा दिनुपर्ने व्यवस्था छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट महानगर प्रमुखमा विजयी भएका सरावगी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

त्यस्तै मुलुकभर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि स्थानीय तहका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेको बताइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छिन् । सत्ताधारी गठबन्धनबीच महानगरपालिकामा तालमेल गरी निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेसँगै सत्तारुढ गठबन्धनको बैठकले भरतपुर महानगरपालिकाको प्रमुख पद नेकपा (माओवादी केन्द्र) को पोल्टामा परेको थियो । अब सो महानगरको प्रमुखका लागि सत्तारुढ गठबन्धनबाट रेनु दाहालले उम्मेदवारी दिने बताइएको छ ।