२६ असार २०८३, शुक्रबार
,
Latest
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदानका लागि मतदाता उत्साहित



अ+ अ-

महोत्तरी । यही वैशाख ३० गते हुन गइरहेको स्थानीइ तह निर्वाचनमा मतदान गर्न यहाँका मतदाता उत्साहित भएका छन् । जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै चुनावको चहलपहल बढेको छ ।

यसअघि निर्धारित समयमा निर्वाचन हुने नहुने भन्ने विभिन्न थरिका अड्कलबाजी गरिएका थिए । मतदाता आफ्नै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम अघि बढेपछि अब भने विश्वस्त भएका छन् । “अब चुनाव हुनेमा ढुक्क छौँ”, बिहीबार बर्दिबास नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर सूचनापाटीमा निर्वाचन कार्यक्रमबारे तालिकाको सूचना टाँस पढ्दै बर्दिबास–३ गौरीडाँडाकी गीता खतिवडाले भन्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनाले मतदातामा चुनावबारेको संशय मेटिएको छ । जिल्लाका पाँच गाउँपालिका र १० नगरपालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापनाका साथै निर्वाचन कार्यक्रमबारे तालिका सूचनापाटीमा टाँस गरिएका छन् । सबै स्थानीय तहका मतदानस्थल, मतदानकेन्द्र र सहभागी हुने मतदाता सङ्ख्याको मतदान कुशलतापूर्वक हुन सकोस् भन्ने ध्येयले सोबारे सम्बद्ध पक्षसँग छलफल, अन्तक्रिया थालिएको बर्दिबास नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख भूपेन्द्र सापकोटाले बताउनुुभयो ।

“हामीले पहिलो चरणमै सञ्चारकर्मीसँग चुनावी कार्यक्रमबारे अन्तक्र्रिया गरेका छौँ, अब सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो, “प्रारम्भिक छलफलमा हामीले सबै पक्षले पालना गर्नैपर्ने आचारसंहिताबारे छलफल थालेका छौँ, भएका छलफल फलदायी भएका छन् ।”

सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर तत्सम्बन्धी गतिविधि बढेपछि जिल्लामा चुनावी माहोल ह्वात्तै बढेको छ । उम्मेदवारको मनोनयनपत्र दाखिला गराउने समय अब दुई दिनमात्र बाँकी छँदा राजनीतिक दलभित्र उम्मेद्वार टुङ्ग्याउने दबाब बढेको छ । “हामी आन्तरिक छलफलमै छौँ,” नेकपा ९एमाले०का जिल्ला उपाध्यक्ष नागेन्द्र चौधरी भन्नुहुन्छ, “अब हामीमाथि उम्मेदवारका नाम पठाउन दबाब बढ्यो ।” उम्मेदवारका नाम शनिबार मध्याह्नभित्र टुङ्ग्याइसक्ने चौधरीको भनाइ छ । एमालेले वडासम्मका उम्मेदवारको टुङ्गो जिल्ला तहबाटै र पालिकाका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षका नाम प्रदेश कमिटीबाट टुङ्ग्याउने कार्यविधि बनाएको छ ।

जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टीले भने सबै उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ । “हामीले एक साताअघि नै उम्मेदवारको नाम टुङ्ग्याइसकेका छौँ”, लोसपाका जिल्ला अध्यक्ष रामबाबु साहले भन्नुभयो । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी सत्ता गठबन्धनका घटक भएका हुँदा संयुक्त प्यानल बनाउनुपर्ने भएकाले उम्मेदवारको नाम घोषणा गर्न ढिलाइ भएको हो ।

“हामी सहमति खोज्दै छौँ”, कांग्रेस जिल्ला सभापति नागेश्वर यादव भन्नुहुन्छ, “शनिबारसम्म निक्र्यौल गर्ने गरी अघि बढेका छौँ ।”

जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र अन्य दलले पनि धमाधम उम्मेदवार छनोटलाई अन्तिम रूप दिँदैछन् । सबै स्थानीय तहमा चुनाव लड्ने तयारी गरेको जनमत पार्टीले उम्मेदवारको टुङ्गो लागिसकेको जनाएको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारले मनोनयनपत्र दाखिला गर्नुपर्ने तालिका बनाएको छ । यसअनुरुप सबै दलले शनिबार साँझसम्म उम्मेदवारको टुङ्गो लगाइसक्नुपर्ने छ । निर्वाचन आयोगको तयारी बढेसँगै दलहरूका गतिविधि पनि सघन हुँदै गएपछि अब जताततै माहोल निर्वाचनमय बनेको छ ।

स्थानीय तह निर्वाचनका लागि महोत्तरीमा १८ हजार ४०६ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनयता यो सङ्ख्या थपिएपछि मतदाता सङ्ख्या तीन लाख ३६ हजार ९५ पुगेको छ । विसं २०७४ को निर्वाचनमा तीन लाख १७ हजार ६८९ मतदाता थिए । बर्दिबास नगरपालिकामा ४४ हजार ४६०, गौशाला नगरपालिकामा ३७ हजार ७१६, जलेश्वर नगरपालिकामा ३६ हजार ६६१ र महोत्तरी गाउँपालिकामा १७ हजार ४३६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्र रहने छन् । आवश्यक सुरक्षा प्रबन्ध र अन्य तयारीका लागि सम्बद्ध कार्यालय र अधिकारीबीच सघन संवाद र समन्वय भइरहेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिनुभयो । मतदाताको सङ्ख्याअनुसार मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्लामा २० राजनीतिक दलले दल दर्ता गराएका छन् ।