४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

एक चिकित्सकको भरमा पचास शय्याको अस्पताल

एक चिकित्सकको भरमा पचास शय्याको अस्पताल
अ+ अ-

रामपुर (पाल्पा) । रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ ।

यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ ।

“जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापीलगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उहाँले भन्नुभयो ।

यहाँ एक हप्ताका अवधीमा मात्रै १५ झाडापखाला कै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ । अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृत डा कपिल ज्ञवाली, डा कुशल खनाल, डा विकास शर्माले अध्ययन बिदा देखाउँदै यही वैशाख १ गतेदेखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले जनाएको छ ।

मेडिकल सुपरिण्टेडेण्ट डा परियार भन्नुभयो, “अस्पतालमा गत चैत २९ गते तीन स्थायी दरबन्दीका चिकित्सकले अध्ययन बिदा पत्र र तीन जना करार सेवाका डाक्टरको राजीनामापत्र आएको छ, तर प्रशासनले भने स्थायी सेवाका डाक्टरलाई स्वीकृत गरेको छैन, सो पत्र माथिल्लो निकायमा पठाइएको छ, अहिलेसम्म सम्बन्धित निकायको राजीनामा स्वीकृती पत्र हामीलाई पनि प्राप्त भएको छैन, एकै पटक स्थायी दरबन्दीमा कार्यरत डाक्टरको राजीनामाले अस्पतालको सेवा प्रवाहमा समस्या पारेको छ” ।

करारमा कार्यरत तीन जना मेडिकल अधिकृत डा साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा आयुष पौडेल राजिनमापत्र बुझाएर वैशाख १ गतेदेखि अनुपस्थित छन् । हाल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दाबढी नै छन् । एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिण्टेडेण्ट डा परियारको गुनासो छ ।

रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्योपचार सेवा लिने थलो हो । कालीगण्डकी वेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्वनवलपरासी (नवलपुर)का नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ ।

जनशक्ति अभाव रहेपनि यहाँ रहेका स्वास्थ्यकर्मी २४ सैँ घण्टा बिरामीको सेवामा तल्लिन छन् । अस्पतालमा भर्ना भएर बस्दा राम्रो स्वाथ्योपचार सेवा पाएको रामपुर नगरपालिका बाङ्गेपसल बस्ने ७४ वर्षीय कृष्णमाया श्रेष्ठ भन्नुहुन्छ ।

“अस्पतालमा काम गर्ने डाक्टरले छोडेर गए भन्ने सुनेको छु, तर पनि यहाँ खट्नुभएका डाक्टरले रातदिन सेवा दिइरहनुभएको छ, श्वासप्रश्वाससम्बन्धी समस्या भएर भर्ना भएर बसेको छु, जनशक्ति नहँुदा पनि हामीले अहिलेसम्म सेवा राम्रै पाइएको छ”, उहाँले भन्नुहुन्छ ।

तत्कालका लागि चार जना मेडिकल अधिकृत तहका चिकित्सकको व्यवस्थापन भएमा यहाँबाट दिने सेवा दुःखले भएपनि यथावत दिन सकिनेछ । निर्वाचन आचारसंहिता लागू भइसकेको हुदा पनि मुख्यमन्त्री कार्यालयबाट सहमती नभइकन कर्मचारी व्यवस्थापन गर्न समस्या छ ।

कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “करारमा कर्मचारी नियुक्ति गरेर भएपनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागि परिरहेका छौँ, निर्वाचन आचारसंहित लागू भइसकेकाले बाधा पुर्‍याउँछ कि भन्ने छ, स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थापनको लागि बिशेष ध्यान दिनुपर्नेछ” ।

सरकारले चिकित्सकलाई अध्ययन बिदा दिँदै गर्दा उसले कार्यरत संस्थामा वैकल्पिक व्यवस्था नगरिकन बिदामा बस्ने परिपाटीले नागरिकले सास्ती खेप्नु परिरहेको छ । यस्ता उदाहरण दुर्गमका धेरै स्वास्थ्य संस्थामा भेटिन्छन् ।

स्थायी दरबन्दीमा कार्यरत कर्मचारीले आफूले पाउने अध्ययन बिदा आवश्यक परेपनि सम्बन्धित निकायले स्वीकृत बिना संस्थालाई बाधा पर्ने गरी बिदामा बस्न पाइँदैन । स्थायी जागिरे भएको दुई वर्षको समयावधि पश्चात् दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसकारण पनि यहाँको अस्पतालमा दुई वर्ष कार्यरत पश्चात् माथिल्लो तहको अध्ययनका लागि भन्दै चिकित्सक अध्ययन बिदामा जाने गरेका छन् ।

यस अस्पतालमा हाल नौ जना स्थायीसहित जम्मा ७० जना कर्मचारी कार्यरत छन् । स्थानीय अन्तर्गत प्रशासनिक क्षेत्रमा प्रमुख एक, सहायक एक, चार मेडिकल अधिकृत, एक नर्सिङ कर्मचारी, लेखापाल एक, मेडिकल अधिकृत रेकर्डस् एक जना कर्मचारी छन् । बाँकी कर्मचारी करार प्रकृतिका छन् ।

मेडिकल सुपरिण्टेडेण्ट डाक्टर बिनेश झा विगत दुई वर्षदेखि यहीँ अस्पताल मातहत तलव सुविधा लिने गरी अध्ययन बिदामा हुनुहुन्छ । यहाँको अस्पतालमा आउने चिकित्सक अध्ययन बिदा देखाउँदै जाने गरेका छन् । यो समस्या नागरिकले वर्षौदेखि खेप्दै आइरहेका छन् ।

जनशक्ति अभावकै कारण शल्यक्रिया मार्फत प्रसूति सेवा पनि ठप्प छ । शल्यक्रियाका लागि सम्पूर्ण उपकरण भएपनि प्रयोगमा ल्याउन सकिएको छैन । यहाँ पाउने सेवा उपलब्ध नहुँदा सदरमुकाम तानसेन, पोखरा, बुटवललगायतका विभिन्न बजारका अस्पतालमा बिरामी जानुपर्ने समस्या छ ।

अस्पतालमा नौ विशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन्ट सर्जन, कन्सल्टटेन्ट साइक्याट्रिक्स (दिमागसम्बन्धी)जस्ता विशेषज्ञ सेवा तोकिएको छ । तर दरबन्दी अनुसारका डाक्टरको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन ।

अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरीटेण्डेन) डाक्टरको दरबन्दी छ । पचास शय्याको सरकारी अस्पताल नामाकरण भएपनि पन्ध्र शय्याकै भवनबाट सेवा प्रवाह भइरहेको छ । गाउँमै दरबन्दी भएर पनि सेवा सुबिधा नपाउँदा पटकपटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या बिद्यमान नै छ ।

पचास शय्याकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक त सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन । रामपुर नगरपालिका क्षेत्रमा सुबिधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले औषधि उपचारमा राम्रो सुबिधा उपभोग गर्न पाउनेछन् ।
औषधि उपचारका निम्ति विभिन्न शहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुबिधा पाउने अपेक्षा पनि लिएका छन् । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा पन्ध्र शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा पचास शय्याका रुपमा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ ।

सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिव रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ ।

आर्थिक वर्ष ०७२/०७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७५/०७/१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहेपनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । भवन अभाव पनि स्वास्थ्य सेवाको बाधक बनेको छ । (रासस, सुशीला रेग्मी)