२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही



अ+ अ-

कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताउनुभएको छ ।

सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताउनुभयो ।

उहाँले खानी र उद्योगसम्म सडक तथा पानी पु¥याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सरकार तयार हुने बताउनुभयो । प्रदेश सरकारले नीतिगतरुपमै आवश्यक सहुलियतको व्यवस्था गरे पनि प्रदेशमा ठूला लगानीकर्ता आउन नसकेको उहाँको भनाइ छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाकाबारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो । झण्डै रु १५ अर्ब बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद गरिसकेको छ ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँचमार्गलगायत संरचना निर्माणको काम प्रक्रियामै रहेको जानकारी दिनुभयो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले रु १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ ।

उद्योगले बराहताल–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरेको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन गर्नेछ । प्रदेश सरकारसँगको छलफलमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।