काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समुहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई भ्रष्टिकरण र बिर्सजित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरु एक ठाउँमा उभिनुपर्ने रहेको बताउनुभयो । माओवादी आन्दोलनलाई बिद्रुपिकरण र बिर्सजन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।
यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमिक्षा गर्नुपर्ने जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिले जसरी माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टिकरण गर्ने, माओवादी आन्दोलनलाई बिखण्डित र बिर्सजित गर्ने षड्यन्त्रहरु तिव्र भइराखेका छन् अहिलेपनि । त्यसका विरुद्ध एक हुने उपायहरुको खोजि गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहीँ हो । अहिलेको माक्र्सवाद त्यही हो । हामी हिजो सँगै लडाइँ लडेका र यसलाई बिद्रुपीकरण गर्ने, यसलाई भ्रष्टिकरण गर्ने, यसलाई बिखण्डित गर्ने, यसलाई बिर्सजित गर्न चाहाने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो । एकताको खोजि गरौँ हामी सबैले । त्यसको खोजि आत्मसमिक्षाबाट सुरु हुन्छ ।’
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले आफुहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताउनुभयो । लाखौँ जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । सबै एकभए शासकिय स्वरुप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु¥याउन सकिने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अहिले नै हतियार बोक्ने र भुमिगत हुने त मैले सोचेको छैन । तर नयाँ खालको जनयुद्धको खोजि चाहीँ गर्नु छ यो प्रतिक्रियावादीले यसरी नै हेप्ने हो हामीलाई, यसरी नै घेरा हालेर सखाप पार्ने हो भने लाखौँ जनता लिएर सडकमा हामी मिलेर उत्रिने हो भने अहिले पनि यस्ता यिनीहरुको दलाल पुँजिपतिका निर्वाचन प्रणालीहरुलाई ध्वस्त पारिदिन सकिन्छ । यिनीहरुले बनाएको शासकिय स्वरुप फेरिदिन सकिन्छ हामी । हामीले हाम्रो वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पु¥याउन सकिन्छ ।
हामीले गर्न सकिने धेरै छ, किनकी दुईपटक प्रतिनिधि सभा विघटन गरेर देशी विदेशी सबै मिलेर प्रतिक्रियावादी मिलेर हामीलाई सखाप पार्न खोज्दा हामी जनताको साथमा बसेर लाखौ जनतालाई लिएर तिनीहरुलाई परास्त गर्न हामी सफल भएका छौँ । हामी अहिले हिजोका जनयुद्धका सहयात्रीहरु सबैले आ–आफ्नो आत्मसमिक्षा इमान्दारीता साथ, माक्र्सवादी स्प्रिटको साथ गर्न तयार हुने हो र समाजवादप्रति इमान्दार भएर कार्यक्रम बनाएर अगाडी लाग्ने हो भने हामी अझै पनि यो देशको मुख्य शक्तिको रुपमा, निर्णायक शक्तिको रुपमा अगाडी बढ्ने सम्भावना छ । हामी सबै आत्मसमिक्षाको लागि तयार हौँ ।’











