• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव



चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ । राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो । अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलब्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।

अहिले केन्द्रमा दैनिक १५० युनिट रगत माग भएकामा ७० देखि ७५ युनिट मात्रै उपलब्ध गराउन सकिएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र तीनका भ्रातृ संस्था निर्वाचन केन्द्रित कार्यक्रममा लागेपछि रगतको अभाव भएको उहाँले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, “सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन।” टोलटोलमा राजनीतिक कार्यक्रम भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उहाँको भनाइ थियो ।

अत्यधिक गर्मी, रक्तदाता बिरामी हुनु, क्याम्पसमा परीक्षाको समय हुनुलगायत कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको प्रमुख पौडेलले बताउनुभयो । नेपालको मध्यभागमा रहेको यस केन्द्रले चितवनसहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लमजुङलगायत जिल्लाबाट रगत सङ्कलन गर्दै आएकोे छ । जिल्लामा एक सङ्घीय अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जनभन्दा बढी साना अस्पतालमा दैनिक हुने शल्यक्रियाका लागि रगत सङ्कलन पर्याप्त हुन नसक्दा माग बढ्दै गएको छ ।