१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपथ्यको भब्य पुनरोदय पूर्वको शहर दमकबाट

नेपथ्यको भब्य पुनरोदय पूर्वको शहर दमकबाट
अ अ+ अ-

काठमाडौँ । महामारीकालीन लामो विश्रामपछि नयाँवर्षकै दिन नेपथ्यको भब्य पुनरोदय पूर्वको शहर दमकबाट भएको छ । एकपछि अर्को ‘लकडाउन’ले दुइ वर्षसम्मै बिथोलिएको यो सहर बिहीबार फेरि जागेको देखिन्थ्यो । साँझपर्दै गएपछि सरस्वती माध्यमिक विद्यालयको फराकिलो फुटबल मैदान पूर्वाञ्चलभरिबाट भेलाभएका युवा युवतीले टन्नै भरिएको थियो भने मञ्चबाट छरिएको उज्यालोका आभाले भुइँदेखि लिएर आकाशसम्मलाई चम्किलो बनाएको थियो ।

यस्तै माहोलका बीच टोलीसहित उपस्थित ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले नयाँ वर्षको शुभकामना प्रकट गर्दा दर्शक दीर्घाबाट चर्को आवाजका साथ स्वागत गरिएको थियो । अमृतले कन्सर्टको प्रारम्भ नै पूर्वी नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी।।।’ बाट गरेका थिए । उक्त गीत उनले पैदल यात्राका क्रममा चैनपुरवासी पुराना लोकगीत साधक डिल्ले दमाइबाट संकलन गरेका थिए ।

त्यसपछि लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि म-यो’ अनि ‘जोमसोमे बजार’ले निरन्तरता दिउन्जेल मैदानका अधिकांश भागमा नृत्यरत तन्नेरीहरु देखापर्न थालिसकेका थिए । मुलुकका फरक फरक भेगको प्रतिनिधित्व गर्ने यी गीतहरु प्रस्तुत गर्दाका क्रममा अमृतले उपस्थित श्रोता दर्शकलाई आफ्नो देश घुम्न र यसलाई बुझ्न अनुरोध पनि गरिरहेका थिए । चुनावको माहोलमा डुब्दै गरेको दमकमा उपस्थित दर्शकलाई उनले मतदानका निम्ति प्रोत्साहित गर्दै भविष्यका प्रति आशावादी हुन हौस्याए । मुलुकमा ब्याप्त बेथितिका चर्चा गर्नुका साथै नयाँ वर्षसँगै सकारात्मक सोचको विकास गर्न आव्हान पनि गरे ।

करिब दुइ दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानका साथ नेपथ्य दमकमा उपस्थित हुँदा व्यवस्थित होटल समेत नपाइएको यो शहरको हेर्दाहेर्दै कायाकल्प भएकामा उनले खुशी प्रकट गरे । त्यतिबेला कन्सर्टबाट उठेको रकमले शहरकै उत्तरी कुनामा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा सघाउने काम गरिएको थियो ।
‘मै मरि जाउँला’, ‘शिरफूल शिरैमा’, ‘जोगले हुन्छ भेट’, ‘आँगनै भरि’ देखि ‘यो जिन्दगानी’ सम्म एकपछि अर्को सर्वकालीक हिट गीत सुनाउँदाकै क्रममा बाह्रौ गीतको पालो आउँदा भने माहोलमा नयाँ तरंग फैलियो । त्यतिबेला नेपथ्यले कन्सर्टका दर्शकहरुलाई आफ्नो नयाँ गीत सुनाउने जमर्को कसेको थियोः

‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’

गीतकार मन्जुलले १९ वर्षकै उमेरमा रचना गरेको यो गीति कविता पछि पुस्तकका रुपमा पनि प्रकाशित भयो ।
‘पुस्तक पढ्दैगर्दा यो कविताले मलाइ मोहित पारेको थियो,’ अमृत भन्छन्, ‘बारंबार पढेकाले कविता कण्ठस्थै थियो ।’
तर, उक्त कवितालाई गीतमा ढाल्ने काम भने अमृतले निकै पछि गरेका रहेछन् ।

‘झण्डै एक दसकअघि म पैदल यात्रा गर्दै पूर्वतर्फ लाग्दा एउटा दृश्यले मलाइ भित्रैदेखि रोमाञ्चित बनाएको थियो,’ उनी भन्छन्, ‘ओखलढुँगाको कोष भञ्ज्याङमा हिँड्दा हिँड्दै उत्पन्न त्यो रोमाञ्चकताले नै मलाई त्यस पुरानो कविताको सम्झना गराइदियो ।’

अमृतका अनुसार त्यस दिन भर्खर विहे गरेर आएको एउटा जोडी केहि छिनको निम्ति सहयात्री बन्न पुगेका थिए । उनले त्यस जोडीको तस्बिर खिच्न खोजे । तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो ।

‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘त्यसको दुइ तिन दिनमै दिक्तेलतर्फ उक्लँदै गर्दा लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले त्यस कवितालाई संगीतबद्ध पारेको हुँ ।’

गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छः
‘कलकले पानीको छलछले छाँगा
छाँगाले पारेको चिसो सियाल
साइँली मोरीलाई’

अमृतका अनुसार त्यो अन्तरालाई खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो ।
‘यसरी दशक अगाडि पूर्वाञ्चलको पैदल यात्रामा तयार पारेको गीतलाई मैले नयाँ परिवेशसहित सुरुभएको नयाँ वर्षकै दिन पारेर पूर्वाञ्चलकै कन्सर्टमा कोसेलीस्वरुप पहिलोपटक प्रस्तुत गरेको हुँ,’ अमृतले स्पष्ट पारे ।

जति रात पर्दैगयो उति रमाउँदै गएका दर्शकसामु त्यसपछि पनि नेपथ्यले लगातार ‘गाउँ गाउँबाट उठ’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेपछि विदा लिएको थियो ।

कन्सर्टमा उपस्थित दर्शकहरु पूर्वाञ्चलका विभिन्न भेगबाट आइपुगेका देखिन्थे । तिनैमध्ये नेपथ्यलाई अनुभव गर्नका निम्ति बिर्तामोड देखि आएका जन्मैदेखि नेत्रज्योती गुमाएका विवेक भट्टराइ पनि थिए ।
आफुजस्तै अवस्थाका साथी रमेश चौलागाइसँगै आएको जानकारी दिइरहँदा उनी अर्कोतिर मञ्चबाट आइरहेको आवाजमा आवाज मिलाएर गाउने क्रमलाई पनि जारी राख्दै थिए ।
‘गीत भनेको सुन्ने कुरा नै हो,’ कन्सर्टका बेला दृश्य अनुभव गर्न नपाए पनि आफुलाई कुनै पछुतो नभएको बताउँदै उनले थपे, ‘नेपथ्यका गीत सुनेरै हुर्केका कारण असाध्यै रमाइलो लागिरहेको छ ।’

पाँच हजार दर्शकले भरिएको भीडमै कन्सर्ट हेर्नकै निम्ति सिक्किमको सोरेङबाट आएका नविन र विश्वास लिम्बु अनि सिक्किमकै गेजिङबाट आएका मन्दिप सुब्बा पनि देखिन्थे । आफूहरुले सिक्किमको जुनसुकै भेगमा आयोजना हुने नेपथ्यको कन्सर्टमा सदैव उपस्थिती जनाउँदै आएकोमा यसपाला लामो समयको न्याश्रो मेट्नका लागि नेपालकै यात्रासमेत गरेको जानकारी उनीहरुले दिए ।

स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ को अगुवाइमा आयोजना गरिएको कन्सर्टमा गायक अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।