काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको छ ।
काँग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर काँग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भयो । शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उहाँले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अव पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गर्नु भयो । नेता सिंहले भन्नु भयो, ‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धिकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरी गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ । अव काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ । नत्र भने राम्रो हुँदैन ।’
नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताउनु भयो । उहाँले सभापतिमा आफू कुन कारणले अयोग्य छु ? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गर्नु भयो ।











