२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानबालीमा हात्तीको आतंक, रातभरी सुत्दैनन् वडाध्यक्ष



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् ।

नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पुर्याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो ।

“दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन् ।” स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन । वडाध्यक्ष महराका अनुसार जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ । बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडीलगायतका क्षेत्रमा हात्तीले बढी क्षति पुर्याएको हो ।

साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन् । त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्यसमेत गर्दै आएका छन् । सोहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भगाउने गरिएको स्थानीयवासी मदन धामीले बताउनुभयो । उहाँका अनुसार हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन् । हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ ।

बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थियो ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पुर्याउँदै आएको छ ।

यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सन पुर्याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ ।




भर्खरै