काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । विभिन्न मधेवादी दलमा सक्रिय भएका लेखी गोदावरीमा जारी एमालेको विधान महाधिवेशअन्तर्गत आइतबारलाई तोकिएको पार्टी प्रवेश कार्यक्रमबाट आज एमालेमा प्रवेश गर्ने भएका हुन् ।
लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । उनले आफ्नो नेतृत्वमा नागरिक समाजवादी पार्टी खोलेका थिए । उक्त पार्टी पछि राजेन्द्र महतोको सद्भावना पार्टीमा एकीकृत भएको थियो । एकीकरण भएको पार्टी फेरि राष्ट्रिय जनता पार्टी बन्यो ।
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी हुन पुग्यो । उक्त पार्टी पुनः विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी बन्न गयो । लेखीले बिहीबार मात्रै नयाँ राजनीतिक यात्रा थाल्ने भन्दै लोकतान्त्रिक समाजवादी पार्टी छाडेका थिए ।
एमाले सचिव प्रदीप ज्ञवालीले महाधिवेशनको दोस्रो दिन शनिबारको बन्द सत्रमा आइतबार खुसीको कुरा देख्न पाइने बताएका थिए ।