१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएलः भैरहवा क्वालिफायरमा, सन्दीपको काठमाडौं बाहिरियो



अ+ अ-

काठमाडौं । भैरहवा ग्लाडियसर्टले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरको त्रिवि टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो ।

अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै चितवनले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । 

भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउयो । काठमाडौंका लागि असान प्रियन्जनले ६८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै जनक प्रकाशले २८ रन बनाए भने अमित श्रेष्ठले १९ रन जोडे । दिनेश अधिकारीले १५ तथा राजु रिजाल १० रनमा पेभिलियन फर्किए । भैरहवाका लागि धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदानी दिए । यस्तै प्रदिप ऐरीले ३९ रन जोड्दा उपुल थरंगाले ३५ रन बनाए भने कुशल मल्लले ३२ रन बनाए ।

काठमाडौंका असान प्रियन्जन र कप्तान सन्दीप लामिछानेले २–२ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए । भैरहवा र पोखराबीचको दोस्रो क्वालिफायर बिहीबार हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि चितवनसँग प्रतिस्पर्धा गर्नेछ ।