आशुतोष अधिकारी । नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एकदिवशीय खेलमा पराजय भोगेको छ। भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी)विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले जित्न भने सकेन।
नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने पक्कै रहेका थिए। दुवै खेल ‘हाइस्कोरिङ म्याच’ का रूपमा रोमाञ्चक साबित भए। नेपाली क्रिकेटमा मुश्किलले देख्न पाइने शतकीय पारी यी दुवै खेलमा नेपाली खेलाडीको ब्याटबाट निस्किनु ज्यादै सुखद पक्ष रह्यो। यी दुई खेलका क्रममा टोलीका केही खेलाडीहरूले केही ब्यक्तिगत किर्तिमानको कोशेढुंगा पार गर्न सफल पनि भए। यही खेलमार्फत केही युवा खेलाडीले टिमबाट डेब्यु गर्ने अवसर पनि पाए। दुवै खेलमा नेपालले पूरा ५० ओभर ब्याटिङ गर्नु पनि एउटा सकारात्मक पक्ष रह्यो।
मार्च २४ शुक्रवारका दिन खेलिएको पहिलो खेलमा दुवै टोलीले झण्डै ३ सयको हाराहारीमा रन बनाए। नेपालले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि पीएनजीले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २९२ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले ८ विकेटको क्षतिमा २८६ रन मात्र बनाउन सकेपछि ६ रनको झिनो अन्तरको हार व्यहोर्न वाध्य भयो।
लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले १२६ को किर्तिमानी पारी खेले। यो पारी खेल्ने क्रममा उनले ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक व्यक्तिगत स्कोर (१२५ रन)को किर्तिमान मात्र तोडेनन्, एकदिवशीय खेलमा ५ सय रन पूरा गर्ने पहिलो खेलाडीका साथै सर्वाधिक एकदिवशीय रनको रेकर्ड पनि आफ्नो नाम गराए । तर अन्य कुनै खेलाडीले उनलाई गतिलो साथ दिन नसक्दा नेपाल जीतको एकदमै नजिक पुगेर पनि निराश हुनुपर्यो। खेलको ४६औँ ओभरको दोस्रो बलमा चाल्र्स अमिनिले कभर एरियामा उत्कृष्ट रूपमा डाइभिङ क्याच लिएर रोहितलाई आउट पार्नु खेलको ‘टर्निङ प्वाइन्ट’ साबित भयो।
दोस्रो खेलको कथा पनि समान रह्यो। दोस्रो खेलमा पनि टस नेपालले जित्यो, तर कप्तान सन्दिप लामिछानेले यसपटक ब्याटिङ रोजे। पहिलो खेलको नतिजापछि त्यो स्वाभाविक पनि थियो। खेलमा नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रनको बलियो स्कोर तयार गर्यो। नेपालका लागि मध्यक्रमका अनुभवी ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले १०५ रनको शानदार पारी खेले। दशौँ एकदिवशीय खेलमा उनको यो पहिलो शतक थियो।
अघिल्लो खेलबाट वानडेमा डेब्यु गरेका युवा खेलाडी देव खनालले चयनकर्ताले उनीमाथि देखाएको विश्वासलाई सही सावित गर्दै ७२ रनको महत्पवूर्ण पारी खेले। ५ रनमा दुई विकेट गुमाएर टोली दवावमा आएको समयमा देवले ८६ बलको सामना गर्दै आकर्षक ४ चौका र ३ छक्का प्रहार गरेका थिए। उनले तेस्रो विकेटका लागि दिपेन्द्रसिंहसँग मिलेर १२९ रनको साझेदारी गरेका थिए जुन वानडेमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो। ऐरीले चौथो विकेटका लागि ३६ रन बनाएका रोहित पौडेलसँग पनि ६२ रनको अर्धशतकीय साझेदारी पूरा गरेको थिए। तर नेपाली बलरले सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि पीएनजीले ४८.४ ओभरमा २७९ रनको लक्ष्य सजिलै पूरा गर्यो।
यी दई खेलको विश्लेषण गर्दा नेपाली टोलीका केही स्थायी समस्याहरू यथावत् नै रहेको देखियो भने केही नयाँ पक्षमा समेत सुधारको आवश्यकता देखियो। नेपालले खेलेका पछिल्ला केही एकदिवशीय र टी–२० खेलहरूलाई विश्लेषण गर्ने हो भने नेपालको ओपनिङ र टप अर्डर ब्याटिङमा रहेको समस्या झनै गहिरिँदै गएको देखिएको छ। महत्वपूर्ण खेलमा कुशल भुर्तेलको ब्याट चल्न नसक्नु पनि नेपाली टोलीका लागि दुर्भाग्य सावित हुँदै आएको छ। त्यसबाहेक रोहित पौडेलको खेलमा देखिएजस्तो ‘कन्सिस्टेन्सी’ (एकरूपता)अन्य खेलाडीहरूको खेलमा देख्न नपाइनु पनि नेपाली टोलीको स्थायी समस्या रहँदै आएको छ।
दोस्रो खेलमा १ विकेट लिँदै कप्तान सन्दिप लामिछानेले एकदिवशीय खेलमा समेत ५० विकेटको कोशेढुंगा पार गरे। तर यो श्रृंखलामा नेपाली बलरहरूको प्रदर्शन सम्झनलायक रहेन। पहिलो खेलमा पीएनजीले बनाएको २९२ रन वानडेमा नेपालविरुद्ध बनेको सबैभन्दा ठूलो स्कोर थियो। दोस्रो खेलमा पनि नेपाली बलरले त्यही प्रदर्शन दोहोर्याए। पहिलो खेलमा नेपालले पीएनजीको रनको गतिलाई रोक्न नसक्दा कप्तानले सातजना बलरलाई प्रयोग गर्नुपरेको थियो भने दोस्रो खेलमा नेपालका आठ खेलाडीले बलिङ गर्नुपर्यो। यस हिसाबले हेर्दा नेपाली टिमको खेलाडी संयोजनमा केही त्रुटी रहेको देखियो। पछिल्लो समयमा निकै चर्चामा रहेका तीव्र गतिका बलर गुलशन झाले दोस्रो खेलमा मात्र एक ओभर बलिङ गरे र त्यसका लागि २० रन खर्चिए।
प्रायः बलरहरूलाई फाइदा हुने किसिमको पीच हुने त्रिवि क्रिकेट मैदानमा यसपटक भने ब्याट्सम्यानलाई मद्दत गर्ने किसिमको फ्ल्याट पीच बनाइएको थियो। यो नेपाली खेलाडीहरूका लागि एक किसिमको परीक्षण जस्तै भए पनि त्यस कुराको फाइदा भने पीएनजीको टोलीले उठायो। नेपालको जितमा ब्याटको भन्दा बलको भूमिका बढी रहने गर्दछ भन्ने एउटा मान्यतालाई यो पराजयले अझ बल पुर्याएको छ।
त्यसबाहेक अनुभवी खेलाडी सन्दिप लामिछानेले कप्तानी गरेका अहिलेसम्मका वानडे खेलहरूलाई विश्लेषण गर्ने हो भने उनको कप्तानीमा समेत केही कमी रहेको पाइएको छ। सही बलर वा ब्याट्सम्यानलाई सही समयमा प्रयोग गर्न नसक्ने कुरा होस् वा खेलको अवस्था अनुसार तत्काल रणनीति बनाएर टिमलाई अगाडि बढाउने कुरामा होस्, कप्तान लामिछानेमा परिपक्वताको अभाव रहेको पाइयो।
पपुवान्युगिनीको दृष्टिकोणबाट भने यो श्रृंखला निकै सफल साबित भयो। पीएनजीले एकातिर अघिल्लो साता दुवईमा जारी वल्र्डकप लिग २ को नेपालविरुद्धको दुवै खेलमा भोगेको पराजयको बदला लिन सफल रह्यो भने तुलनात्मक रूपमा आफूभन्दा बलियो टोलीलाई उसैको घरमा हराउँदै भोलिबाट शुरू हुने त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि आफ्नो मनोबल उच्च पार्न समेत उ सफल भएको छ।