१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा कोलकताको विजयी सुरुवात, चेन्नईको हार



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विजयी भएको छ ।

शनिबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा केकेआरले चेन्नई सुपर किंग्स (सीएसके) लाई ६ विकेटले पराजित गरेको हो । १३१ रनको लक्ष्य केकेआरले १९ औं ओभरमा पाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले महेन्द्र सिंह धोनीको अविजित ५० रनको सहयोगमा २० ओभरमा पाँच विकेट गुमाएर १३१ रन बनाएको थियो ।

जवाफमा कोलकाताले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पछ्यायो । केकेआरका लागि अजिंक्य रहाणेले ४४ रन बनाए । खेलमा दुई विकेट लिएका उमेश यादव प्लेयर अफ द म्याच भए ।

पहिले ब्याटिङ गरेको चेन्नईको सुरुवात राम्रो हुन सकेन । ऋतुराज गायकवाड शून्य, डेभोन कोनवे तीन रनमा, रोबिन उथप्पा २८ रनमा, अम्बाती रायडु १५ रनमा र शिवम दुबे तीन रनमा आउट भए ।

चेन्नईले ६१ रनमा पाँच विकेट गुमाएको थियो । यसपछि धोनी र रविन्द्र जडेजाले ५६ बलमा ७० रनको अविजित साझेदारी गरे ।

१३२ रनको लक्ष्य पछ्याउँदै कोलकाताको टोलीलाई अजिंक्य रहाणे र भेङ्कटेश अय्यरले राम्रो सुरुवात दिलाए । यी दुईबीच पहिलो विकेटका लागि ४३ रनको साझेदारी भयो। ड्वेन ब्राभोले भेंकटेशलाई पभिलियन पठाए । यसपछि नितिश रानाले केही उत्कृष्ट प्रहार गरे तर ब्राभोले उनलाई पनि पभिलियन पठाए ।

बिलिङ्स २२ बलमा २५ रन बनाएर आउट भए । यसपछि कप्तान श्रेयस अय्यर र शेल्डन ज्याक्सनले मिलेर कोलकातालाई जित दिलाए । श्रेयसले १९ बलमा २० रनमा अविजित रहे भने शेल्डनले तीन रन बनाए । चेन्नईका लागि ब्राभोले ३ विकेट लिए । योसँगै मिचेल सान्टनरले एक विकेट लिए ।

योसँगै ब्राभोले आईपीएलमा सर्वाधिक विकेट लिने लसिथ मालिंगाको कीर्तिमान बराबरी गरेका छन् । दुवैको नाममा हाल १७०–१७० विकेट छन् । दोस्रो नम्बरमा अमित मिश्रा छन् । उनले आईपीएल करियरमा १६६ विकेट लिएका छन् ।

आजका खेलहरु

दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इन्डियन्स – ३ः४५ बजे
पञ्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर – ७ः४५ बजे