काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाहमा ६.३ प्रतिशतले कमी आएको जनाएको छ । बैंकले सार्वजनिक गरेको साउन र भदौ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा दुई महिनाको अवधिमा रु.१५५ अर्ब ३७ करोड विप्रेषण आप्रवाह भएको उल्लेख छ ।
बैंकका अनुसार, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेकोे थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार ४९२ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।
वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत रहेको जनाउँदै बैंकले आयात ७५.९ प्रतिशतले र निर्यात ११५.४ प्रतिशतले बढेको बताएको छ ।
शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडले घाटामा रहेको, कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब १४ करोड अमेरिकी डलर रहेको, संघीय सरकारको खर्च रु.८९ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१६८ अर्ब ५८ करोड तथा विस्तृत मुद्राप्रदाय ०.२ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
यस्तै, वार्षिक बिन्दुगत आधारमा मुद्राप्रदाय २०.९ प्रतिशतले बढेको, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले बढेको छ र निजीक्षेत्रमाथिको दावी ६.५ प्रतिशतले जनाउँदै बैंकले वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१.७ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३२.५ प्रतिशत रहेको बताएको छ ।
२०७८ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२२ प्रतिशत रहेको छ ।
२०७७ भदौको तुलनामा २०७८ भदौमा घ्यू तथा तेल, माछामासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः २८.९१ प्रतिशत, १०.६६ प्रतिशत, १०.२५ प्रतिशत, ९.९९ प्रतिशत र ९.९२ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३.२३ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमालमा ३.५१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ भदौमा यी क्षेत्रहरुमा क्रमशः ३.६६ प्रतिशत, ४.७१ प्रतिशत, ४.७३ प्रतिशत र ४.५१ प्रतिशत मुद्रास्फीति रहेको बैंकले जनाएको छ ।
वैदेशिक व्यापार
आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भई रु.४४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.५ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई रु.३१४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको पनि बैंकले जनाएको छ ।
निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm सबै भन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई रु.२७० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु.३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२१ अर्ब ४५ करोड बराबरको यस्तो आयात भएको थियो ।
चालु खाता रु.१०६ अर्ब ७५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९० करोड १५ लाखले घाटामा रहेको छ ।
पुँजीगत ट्रान्सफर ३६.३ प्रतिशतले कमी आई रु.१ अर्ब २५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४.६ प्रतिशतले वृद्धि भई रु.३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ४४ करोड रहेको थियो ।
शोधनान्तर स्थिति रु.८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।
२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा रु.१३०६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई रु.११४८ अर्ब ६९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई रु.१५८ अर्ब २७ करोड पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।