१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिशप्त छ सर्वोच्च अदालत !



अ+ अ-

बि.स. २०४७ यता चोलेन्द्र शम्सेर २२औं प्रधान न्यायाधीश हुन् । अन्ततः यिनी पनि महाविवादमा परेका छन्। यस श्रृँखलाका प्रायशः चर्चित न्यायाधीशहरू गंभीर विवादमा परेर अत्यन्त अपमान रूपबाट बाहिरिए । उनीहरूको अवकाश पश्चातको सार्वजनिक जीवन सहज रहेन। 

विश्वनाथ उपाध्याय समकालीन मध्ये सर्वाधिक चर्चामा रहे। २०४७ सालका बहुदलीय संविधानका उनी मुख्य निर्माता थिए । दरबारका शहमा सेनाका जर्नेलहरू बुट बजार्दै संविधान मस्यौदा समितिको अफिस पुगेका थिए। नवोदित एमालेको अनेकन् कठिन सुझावहरू थियो जो संविधानवादसंग मेल खादैनथ्यो – यस्तो कठिन समयमा विश्वनाथ उपाध्यायले संविधानको मस्यौदा तयार पारेका थिए। तर केही बर्ष नबित्दै उनी एमाले पार्टीको नजरमा अपराधी ठहरिए। प्रम गिरिजा प्रसाद कोइरालाले सिफारिश गरेको संसदको बिघटनलाई सदर गरेर र पछि प्रम मनमोहन अधिकारीले सिफारिश गरेको संसदको बिघटनलाई बदर गरेर उनी नेपाली काँग्रेसका गिरिजा बिरोधी खेमा तथा एमाले पार्टीको कोपभाजनमा परे। यसका अतिरिक्त आफ्ना सहोदर भाइ केदारनाथ उपाध्यायलाई सर्वोच्च अदालतमा प्रवेश गराए साथै उनी भन्दा वरिष्ठ न्यायाधीश कृष्णजंग रायमाझीलाई पन्छाएर न्यायपरिषदको सिफारिशमा प्रधान न्यायाधीश हुनु विवादजन्य कारण मानिन्छ। यहीँबाट एमालेले सर्वोच्च अदालतलाई स्वार्थको सर्वोच्च स्थानमा राख्यो, काँग्रेसले पनि सोही कुराको अनुशरण गर्दै गयो। 

एमालेले अर्का प्रधान न्यायाधीश सुरेन्द्र प्रसाद सिंहलाई पासोमा पार्यो। उनी बिरूद्ध संसदमा महाअभियोगको प्रस्ताव लिई आयो। तत्कालीन सभामुख रामचन्द्र पौडेलले सभामुखको विशेषाधिकारको आधारमा सो प्रस्ताव उपर छलफल गर्न अस्वीकार गरेपछि सभामुख पौडेल माथि शारीरिक प्रहार भयो। मध्यरातमा एमालेका सांसदहरूले सभामुखको कार्यकक्ष फुटाले। शायद एमालेको यस प्रकरणले पहिलो पटक स्थापित गर्यो कि न्यायाधीशको आसनमा निर्विघ्न बस्न राजनीतिक शक्तिको पक्षपोषण गर्नु जरूरी छ। सुरेन्द्र प्रसाद सिंह आफ्नो आँखाको आँशु आँखा मै सुकाएर अवकाश भए। आफुले भोगेको अपमान बारे यिनी पछिसम्म सुनाई रहन्थे। 

प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायलाई नेपाल बारले अकर्मण्य ठहराएका थिए। यिनको समयमा सरकार माओवादीहरूलाई आतंककारी घोषित गरेको थियो। तर, यिनी माओवादीमैत्री रहेको आरोप तत्कालीन सरकारका मंत्रीहरूले लगाउने गर्थे। ठीक यस बिपरीत माओवादीहरूले भने जिल्ला भ्रमणको क्रममा यिनको मोटरलाई एम्बुसमा पारेका थिए, यिनको ज्यान जोगियो। 

केदारप्रसाद गिरीलाई एमालेले रूचाएको थिएन। यिनका पुत्रलाई तत्कालीन गृहमंत्री खुमबहादुर खडकाले प्रहरी सेवामा प्रवेश गराएको तथा गिरीको हिमछिम काँग्रेसीहरूसंग रहेको कुरा एमालेलाई पचेको थिएन। वास्तवमा धनुषा निवासी केदार गिरीको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेस पक्षधर रहेको थियो। संसदीय अनुमोदनको क्रममा एमालेले केदार गिरीको लागि गरिएको सिफारिशलाई पास हुन दिएन। यद्यपि तेस बेलाको संविधानका प्रावधान अनुसार संसदीय समितिले यिनको नाममा मोहर न ठोकेपनि प्रधानमंत्री (शायद गिरिजाप्रसाद कोईराला) को सिफारिशमा केदार गिरी राष्ट्रपतिबाट प्रधान न्यायाधीशमा नियुक्त गरिए। 

केदारप्रसाद गिरीलाई एमालेले पत्याएन। यिनको अवकाश हुनु अघि भावी प्रधान न्यायाधीशको लागि न्याय परिषदबाट बरिष्ठतम न्यायाधीश रहेका मीनबहादुर रायमाझीको नाम सिफारिश गरिएको थियो। यस सिफारिशलाई एमाले र माओवादी दुबैले मन पराएनन्। प्रचण्ड प्रधानमंत्री थिए। उनले लामो समयसम्म संवैधानिक परिषदको बैठक डाकेनन् । एमाले र माओवादी दुबैले मीनबहादुर रायमाझी भन्दा कनिष्ठ रहेका खिलराज रेग्मीलाई प्रधान न्यायाधीश बनाउन चाहन्थ्यो। तर निका लामो माथापच्चि पश्चात मीनबहादुर रायमाझी प्रधान न्यायाधीश भए। 

खिलराज रेग्मी एमाले र माओवादी दुबैका लागि रूचीकर प्रधान न्यायाधीश भए। साथै, खिलराजलाई भारतले पनि उत्तिकै रूचाएको कुरा बुझ्न अझै कठिन छ। खिलराज रेग्मी भन्दा अघिका प्रधान न्यायाधीशहरूले र मुख्य राजनीतिक दलहरूले एक जना भावी न्यायाधीशका बारेमा सोच्दथे। तर, खिलराजले पहिलो पटक नेपालको न्याय प्रणालीमा वंशवादका झै उत्तराधिकारीहरूको लामो सोच राख्यो। आजपनि सर्वोच्च अदालतमा पूर्व प्रधान न्यायाधीशहरू खिलराज रेग्मी-कल्याण श्रेष्ठ र सुशीला कार्कीको हालिमुहाली कायम रहेको चर्चा जानकारहरूले गर्ने गर्दछ। यथार्थमा खिलराज रेग्मीले आफुपछिका तीनजना न्यायाधीशहरूको “ट्रोईका” खडा गरे। दुई तीनवटा गंभीर कारणहरूले खिलराज रेग्मीको समय उल्लेखनीय रहेको छ। पहिलो, यिनले प्रधान न्यायाधीशहरूमा खतरनाक राजनीतिक महत्वाकाँक्षाको बिजारोपण गरे। संविधानसभाको आयुलाई रोकेर, तथा तेस बेला राजनीतिक दलहरूमा कायम रहेको एक अर्कालाई निषेध गर्ने प्रवृतिको फायदा उठाएर, भारतको समेत सहकार्यमा यिनले आफुलाई सरकार प्रमुखमा पुर्याए। आज धेरैले बिर्सेका होलान्। तर खिलराजको यस मनशायको तेस बेला बार र नागरिक समाजले कटु आलोचना गरेको थियो। दोस्रो, यिनले नेपालको न्याय प्रणालीमा पहिलो पटक लामो समयसम्म प्रधान न्यायाधीश हुन सक्नेहरूको “उत्तराधिकारको लाइन” खडा गरे। करिव २०/३० बर्षसम्म एकपछि अर्को प्रधान न्यायाधीश हुनेहरूको कार्ययोजना बन्यो। तेस्रो, खिलराज रेग्मीको कार्यकालमा राजनीतिक र उच्च प्रशासनिक व्यक्तिहरूका मुद्दामा प्रतिशोध साध्ने कार्यको शुरूआत भयो। खिलराजको कार्यकाल सर्वोच्च अदालतमा बढी कुटील र खतरनाक कार्यकालको रूपमा लिन सकिन्छ। 

दामोदर शर्मा विवादबाट मुक्त रहेन। यिनी उपर अदालतमा बिचौलिया प्रवृत्तिलाई बढावा दिएको आरोप छ। तर, बामपंथीहरूले दामोदरलाई कहिल्यै पत्याएन। साथै, खिलराजको समयमा खडा भएको “ट्रोयका” को उत्तराधिकारवादलाई यिनले तोड्ने केही प्रयास गरेकोले यिनी बढी आलोच्य बनाइए । अहिलेका विवादित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर खिलराज रेग्मी र सुशीला कार्कीबाट कारवाहीमा पारिएका थिए। दामोदरले चोलेन्द्रलाई न्याय परिषदबाट मिनाहा माफी दिलाएर लामो समयसम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुने लाइनमा योग्य बनाए। प्रकाश बस्ती अख्तियार दुरूपयोग अनुसंधान आयोगका वैतनिक कानुनी सल्लाहकार थिए। उनलाई ट्रोईका रणनीतिले सर्वोच्च अदालतमा ल्याएका थिए । दामोदर शर्माले प्रकाश बस्तीलाई स्थायी न्यायाधीश हुन दिएन। कल्याण-सुशीलाहरूलाई यसबाट ठूलो धक्का पुगेको थियो। प्रेस र नागरिक समाज तथा काँग्रेस बिरोधी राजनीतिक धुरीमा गहिरो प्रभाव राखेका ट्रोईकाले दामोदर शर्मालाई ठूलो आलोचनाको घेरा भित्र पुर्यायो। भनिन्छ, दामोदरले थोरै भएपनि ट्रोईका रणनीतिलाई अवरोध गर्ने प्रयास न गरेको भए नेपालको न्याय व्यवस्था अझ अवनतिको खाडलमा जाकिने थियो। एक राजनीतिक समूहको ट्रोईकाको खतरनाक मनोकाँक्षाको दीर्घकालसम्म कमारो रहन्थ्यो। 

सुशीला कार्कीको अवकाश शायद सर्वाधिक अपमानजनक र अवसादपूर्ण रह्यो । प्रम शेरबहादुर देउवाको इसारामा नेपाली काँग्रेसका सांसदहरूले प्रधान न्यायाधीश सुशीला कार्कीको बिरूद्ध संसदमा महाअभियोगको प्रस्ताव पेश गर्यो। महाअभियोगको यो प्रस्तावको सबै तिरबाट आलोचना भयो, आधारहरू कमजोर थियो । तर तेही बेथाले सुशीला स्वाभाविक अवकाश पाउनु भन्दा करिब २ साता अघि अत्यन्त अपमानजनक ढंगबाट बेईज्जतिका साथ बहिरिनु पर्यो। उनले बेंच तोक्न सकिनन् । जुन चोलेन्द्र शम्सेरलाई तरेपार पुर्याएकी थिई, तिनै चोलेन्द्रको शरणागत भई, गोप्य सम्झौता गरि महाअभियोगलाई निरस्त गराई । चोलेन्द्र शम्सेरका लागि बाटो प्रशस्त गरी। यस अपमानको बोध र तुष आज पनि सुशीलाको कर्कश स्वभावमा तथा सदैव क्रोधाभाषको अनुहारमा देखिन्छ। 

गोपाल पराजुलीको प्रधान न्यायाधीशको रूपमा बहिर्गमन उनको लागि अत्यन्त अपमानजनक रहयो। शायद आफ्नो प्रकारको अद्वितीय। पराजुली अहिले संचार माध्यममा सक्रियताका साथ आफु उपर भएको षडयन्त्र भनि रहेका छन् । यसर्थ मैले यहाँ धेरै लेख्नु आवश्यक ठानिन । दीपक जोशीलाई एमालेको बिरोधले प्रधान न्यायाधीश हुन दिएन। संसदीय समितिको जोडबलले अनि उपरको आरोपको पुष्टी पनि कसैले गर्नु परेन। उनी बलात् कामु प्रधान न्यायाधीशबाटै फ्याकिए। अब पालो आएको छ – चोलेन्द्र शम्सेरको । हेर्नुछ राणा साहेबको हबिगत।

सर्वोच्च अदालतमा विश्वनाथ उपाध्यायदेखि हाल बहालवाल बाहेक २१ जना प्रधान न्यायाधीशहरू भए। एकाध अपवाद बाहेक कुनैपनि प्रन्याको बहिर्गमन सम्मानजनक तथा गंभीर आरोपबिहीन रूपमा भएन। बाँचेका पूर्व प्रन्याहरू अहिले “कोतपर्व” बाट जीऊँदै उम्के झै ठानेको हुनुपर्छ।

अभिशप्त छ सर्वोच्च अदालत ! 

(जय प्रकाश आनन्दको फेसबुक स्टाटसबाट)