४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

उनले जन्माएकी छोरी

उनले जन्माएकी छोरी
अ+ अ-

उनको नाम म जताततै सुन्छु । उनी ठुला साहित्यकार, लेखक र प्राध्यापक । टिभीमा उनलाई हेर्दै छु । उनी भन्दै छन्— हो मेरो एउटी छोरी पनि छिन् कतै तर अब कसरी मेरी भन्नू । मैले अपनाउन नसकेकी छोरी, मैले देख्न नपाएकी छोरी, सुन्छु राम्रै गर्दै छिन् रे । ठ्याक्कै मजस्तै छिन् ।

‘भेट्न मन छैन ?’ प्रश्न सोधिन्छ उनलाई ।

ओहो ! मेरा बा के भन्छन् ? सुनिहालूँ न ।

मेरो मुटु ढुकढुक गर्न थाल्यो । मैले महसुस गर्ने गरी उनी भन्छन्, ‘छैन । भेट्न मन छैन । अब भेटेर पनि के गर्नु ! उनीविनाको मेरो व्यस्त संसार छ । उनी जन्मिनुअगाडि नै मैले व्यवस्थापन गरिदिएको हुँ । नभेट्ने गरी ।’

‘आफ्नै छोरी हगि यहाँको ?’

‘हो त अगि नै भने । यो कुरा गोप्य राख्न खोजेर पनि नसकिएको हो । फेरि मैले त्यसको जरुरत पनि देखिनँ । अब उनीसँग मेरो अंश–वंश केहीको नि सम्बन्ध छैन । हो, सम्झनामा आउँछिन् तपाईँहरूजस्तो पत्रकारले प्रश्न सोधिदिँदा ।’

मेरो मन चसक्क दुख्छ, छोरी हुँ नि कथामा उनको । पहिलो सन्तान केही नाता छैन कसरी भन्न सकेको । मान्छेलाई जिनले पनि तान्नुपर्ने हो नि अलिकता त । तर, खै मेरा बा हुन नसकेका बा निर्लज्ज भएर मतलब छैन; वंश–अंश केहीको नाता छैन भन्छन् । माया र खोला तलतिर बहन्छ भन्थे; होइन रहेछ । मेरो सन्दर्भमा पटक्कै हैन ।

म आकर्षित छु मलाई माया नगर्ने बासँग र भेट्न पनि चाहन्छु । एक पटक म मेरा वास्तविक अनुवांशिक बासँग भेट्न चाहन्छु । उनको चौडा छातीमा टाउको राखेर रुन चाहन्छु । बस्, यत्ति हो मेरो चाहना । न मलाई उनको माया चाहिन्छ न दया । कति सङ्कीर्ण र कन्जुस त मेरा बा ! यत्ति सानो इच्छा पनि इन्कार्ने ?

उनी लेखक रे । त्यो पनि प्रगतिशील । हो, यही प्रगतिशील शब्दको अर्थ सोध्न चाहन्छु म उनीसँग । उनले जन्मनुअगाडि नै त्यागेकी म छोरी । म पनि उस्तै हुँ; किन उनीप्रति मोह मेरो ? किन र केका लागि ? किन मेरो मनमा उनीप्रति घृणा वा वितृष्णा छैन ! किन मलाई उनीसँग भेट्न मन लागेको ? खासमा मलाई उनको मुख पनि हेर्न मन नलाग्नुपर्ने हो तर अहँ उनी पो मेरो मुख पनि हेर्न चाहँदैनन् ।

उनी र मेरी आमाबिच के सम्झौता भयो त्यो उनीहरू नै जानून् तर मेरो छटपटीलाई ती दुवैले बुझ्न सकेनन् । मलाई बुझ्ने यो सारा संसारमा मेरो बाबा एक जना मात्र हुनुहुन्छ जसले मलाई जन्म त दिएनन् तर जीवन दिए । शिक्षा दिए; ज्ञान दिए; बालापनमा काँध दिए; ममाथि आफ्नो सम्पूर्ण सपनाहरू खन्याए र मलाई नै आफ्नो संसार ठाने ।

म सम्झन थाल्छु आफ्नै कथा, जसको केही भाग टुक्राटाक्री गरेर मैले अरूबाट सुनेँ । केही आमाबाट र विस्तृत र यथार्थ कथा उनै मेरा बाबाबाट ।

अछुत परिवारमा जन्मनुभएकी मेरी आमा शिल्पवती र अत्यन्त सुन्दरी पनि छिन् । स्कुलको मुख मात्र देखेकी उनले कसरी पढ्न–लेख्न सिकिन् ? थुप्रै किताबहरू पढिन्, जुन तत्कालीन समयमा मान्छेहरूको कल्पनाबाहिरको कुरा थियो । एउटी अछुतकी छोरीले वडामा भएको लाइब्रेरीका सबै किताबहरू पढेकी छन् । असाध्यै सुरिलो स्वर र मादल बजाउने कुशलताका कारण मेरी आमाको रूप र गुणमा मोहित भएर नै मेरा यी बा हुन नसकेका बा पागलजस्तै भए । त्यस समयमा, जिल्ला शिक्षा अधिकारी भएर गाउँमा आएका उनी गाउँको साङ्गीतिक टोलीकी गायिका तथा मादलवादक मेरी आमासँगको उनको मोह र प्रेम छताछुल्ल भएर पोखियो गाउँभरि ।

उनको भव्य व्यक्तित्व र प्रगतिशील कुरासामु मेरी आमा पनि पग्लिइछन् । ‘जसले जे भनून् तिमीलाई त म झ्याइँझुइँ बाजा बजाएरै बिहे गर्ने हो भनेछन्’ यी मेरा बा हुन नसकेका बाले । त्यस्तै फूलबुट्टे शब्दहरूको फेर समातेर उनी मेरी आमाको जीवनमा पसेछन् र उनको गर्भमा मलाई सुटुक्क हालिदिएछन् । त्यसपछि पो ब्युँझिइछन् उनी— सपनाको संसारबाट । उनको प्रगतिशीलता फुमन्तर भएछ । उनलाई समाज, आमा–बाबु, कुटुम्ब, आफ्नो गुठी र गुठियारहरू सबै–सबैको माया लागेछ । यसो भनूँ मेरी आमा र उनको गर्भको मबाहेक अरू सबैको माया र डर दुवै लागेछ उनलाई । सम्भ्रान्त परिवारका उच्च ओहदाका मान्छे उनी कसरी एउटी अछुतलाई बिहे गर्ने ? माया, बिहे र जिम्मेवारी सब फरक–फरक कुराहरू हुन् भन्ने कुरा बल्ल बुझेछन् उनले ।

जीवनमा हुनसम्म खुसी महसुस गरिरहेकी मेरी आमाले कल्पनामा पनि सोच्न सकिनछन् कि उनलाई धोका हुनेछ । उनले हिरो र बहादुर मानेको मान्छे लुच्चा, बेइमान र डरपोकबोहक केही रहेनछन् । उनको प्रगतिशीलताको कुरा पनि के गर्नु ।

मनसँग र मनको आडमा शरीरसँग खेल्नु र त्यसका लागि जस्तो पनि शब्दसंसार रच्नमा महारथी नै रहेछन् उनी । किनकि, उनको जीवनमा बारम्बार विभिन्न महिलाहरूले अनेक किसिमबाट चोरी पक्रिँदै आएका रहेछन् । उनले देखाएका सपनाहरूमा सपनाकै पखेटा लिएर बादलपारिको गाउँसम्मको सहयात्रा गर्ने र त्यसपछि पातलतिर भासिन बाध्य हुने रहेछन् बाको मोहमा परेका अधिकतम महिलाहरू ।

त्यसो त बाका अन्य पक्षहरू राम्रै रहेछन् । खास गरी सबलाई प्रभावमा पार्न सक्ने, त्यागी, मिलनसार तर महिलाहरूका मामिलामा निकै बदनाम । यो एउटा कमजोरीकै कारण मान्छेहरू उनलाई मान्छे कम र खेलाडी बढ्ता ठान्दा रहेछन् । उनको उत्कृष्ट काममा खोट लाउने माध्यम पनि यही नै रहेछ । जतिसुकै राम्रो काम गरे पनि के गर्नु ? मान्छे त उनी ठिक होइनन्, हुन पनि मान्छेको मनलाई अझ यसो भनूँ जीवनलाई फुटबल बनाएर खेल्ने मान्छेलाई कसरी राम्रो मान्छे भन्ने ?

मान्छेको मन न हो, उनका ती सारा कमजोरीहरूसहित उनले मेरी आमा र मसँग जे गरे ती सबभन्दा बेठिक गरे । अझ बढी त मलाई आफ्नो सन्तान नै मान्न तयार भएनन् । तैपनि, उनीसँग भेट्ने मोहबाट म कसै गरी मुक्त हुन सकिनँ । सबैथोक भएको यस जिन्दगीको दुःखद र कमजोर पाटो यही रह्यो ।

भेट्न चाहने म र भेट्न नचाहने उनीबिचको नजिक्याइ र दुरीमा पिल्सने त म नै परेँ । कहिलेकाहीँ म आफै सँग छक्क पर्छु । किन म यो मोहबाट मुक्त हुन सक्तिनँ ? यसो–उसो ग-यो तिनै बा हुन नसकेका बाको याद आउने र उनैसँग भेट्ने उपायहरूबारे सोच्दै आफ्नो समय खेर फाल्ने मात्र हैन आफूलाई दुःखी बनाउने काम पनि धेरै गरेँ । आफूलाई भन्दा दुःखी बनाए मेरा वास्तविक बालाई जसको जीवन भन्नु नै म र मेरी आमा मात्र । म त झन् उहाँको ज्यान नै हुँ । आफ्नो सारा जीवन र सारा मेहनतको फल मेरो सुख, समृद्धिमा लगाउनुभयो । सायद उहाँलाई अन्याय नै भयो मबाट ।

म आमाको गर्भमा छँदै मेरा इज्जतदार भनाउँदा बाले मसहित आमा पनि यी बाबालाई सुम्पिदिएका थिए । यिनी मेरी आमालाई एकोहोरो माया गर्छन् भन्ने कुरा पत्ता लगाएरै मेरा हुन नसकेका बाले मेरी आमा यिनलाई सुम्पेका रहेछन् । आमालाई पनि (म भन्छु ब्ल्याक–मेलिङ नै गरेछन्) यी मान्छेसँग विवाह गरेनौ भने म मर्छु भनेछन् । केही पैसा पनि दिन खोजेछन्, जुन मेरी आमा र बाबा दुवैले स्वीकार गर्नुभएन छ । त्यसपछि धरानमा बसाइँ सराइ र मेरो जन्म त्यहीँ भएछ । एउटा शिक्षित र शक्तिशाली पुरुषले दुई जना असल र सहनशील मान्छेहरूमाथि गरेको शालीन अत्याचारबाहेक यसलाई के भन्न सकिएला र !

त्यसपछि उहाँहरूले कहिल्यै बागलुङतिर फर्केर हेर्नु भएनछ । त्यसै पनि बाबा टुहुरो भएकाले केही जग्गा बेचेरै यता आउनुभएकाले रहेछ । यद्यपि त्यो जग्गा मेरा तिनै बाले अलि राम्रै मोलमा किनेका रहेछन् । फर्केर जाने कारण पनि भएन । फेरि आफन्त र छरछिमेकको घोचपेच सुन्न के जानु । खुला तर गोप्य त्यस प्रेमकथाले बेग्लै मोड लिएकोमा कति मान्छेहरू रमाएका थिए रे त्यसबेला ।

त्यसै पनि बागलुङ बजारमा त्यस्ता घटनाहरू भई नै राख्दा रहेछन् । त्यसबेला दिउँसो–दिउँसो सर्किनी, राति–राति खड्किनी भन्ने त उखानै रहेछ त्यहाँ । अहिले के छ कुन्नि ! के यो पनि सिमान्तीकृत वर्गमाथि वा जातिमाथि ठुला भनाउँदाहरूले गरेको अन्याय थिएन र ! जातीय विभाजनमा पारिएकै कारण आफ्नो शरीरमाथि सम्म पनि अधिकार छैन ती सिमान्तीकृत मान्छेहरूको ।

अछुतहरूको धन, स्त्री, श्रम र सम्पत्तिमाथि ब्राह्मणहरूको अधिकार हुन्छ भनेर ब्राह्मणहरूले धर्मशास्त्रका नाममा पापशास्त्र त्यसै लेखेका हुन् र ? मेरा यी बा हुन नसकेका बा पनि यसैका पृष्ठपोषक हुन् । तर, यिनी आपूmलाई कम्युनिस्टचाहिँ किन भन्छन्, माक्र्सवादी रे । यो खाले माक्र्सवादीहरूले माक्र्सको नाममा गर्नु गरे । यीभन्दा त मेरा भनिएका बाबा कति बेस बेस आफू क्षेत्री भए पनि खै जात भन्नु भएन; अर्काको बच्चा पनि भन्नु भएन ! मानवता र प्रेम मात्र हेर्नुभयो र यसैका लागि जीवन लगानी गर्नुभयो ।

यसले गर्दा मलाई समाजमा उभिन सक्ने, सम्मानित नागरिक बनाइदिनुभो । उहाँ मेरी आमाको जीवनमा जीवन नै भएर रहनुभएको छ । त्यो प्रथम प्रेमलाई जिन्दगीको भुलबाहेक अरू केही सोच्नु भएन । उहाँले र मैले कोट्याउँदा पनि भन्नुहुन्छ । कोही कोही मानिसहरू सम्झनलायक हुँदैनन् । तिनलाई बिर्सेको नै बेस । तिनका छायाबाट टाढा बसेकै बेस । तर, के गर्नु उनैलाई भेट्न मन लाग्ने आफूलाई । उनका केही साथीहरूमार्फत पनि कुरा गरेँ मैले । उनका झन्डै पाँच हजार फेसबुक साथीहरू तर उनले मलाई त्यहाँ पनि स्विकारेनन् । उनकी तेस्री श्रीमती रिसाउँछिन् रे ।

मेरी आमालाई त्यागेपछि उनले स्वजातीय बिहे गरेछन् । तीन जना मेरा भाइबैनी पनि भएछन् । तर, उनको मन डुलाउने बानी जहाँको तहीँ । त्यही भएर उनलाई उनको जातकी–ले पनि छाडिछन् । त्यसपछि उनी एउटी झन्डै बिस वर्ष कान्छीसँग अमेरिका उडेछन् ।

ती स्वास्थ्य व्यवसायमा लागेकी, उनको पनि त्यो तस्रो नै बिहे रहेछ । उनको कडा नियन्त्रणमा रहेछन् ती बा हुन नसकेका मेरा बा । उनी नियन्त्रणमै बसेछन् । निरही, हुतिहारा, आफ्नै छोरा–छोरीसँग पनि भेट्न बन्देज लगाइएका उनले मसँग भेट्ने आँट कसरी गर्नु ।

मलाई राम्ररी याद छ, माघेसङ्क्रान्तिको ठिक एक दिनअगाडि म तिलको लड्डु बनाउँदै थिएँ । कौसीमा बसेर पारिलो न्यानो घाम, रमाइलो लागिरहेको थियो मलाई । पुस महिनाको घाम रमाइलो लाग्ने त हुने नै भयो । त्यही बेला कृष्ण दाइको फोन आयो । ल, तिम्रो इच्छा पूरा हुने भयो । भोलि २ बजे तिमीसँग भेट्न तयार हुनुभयो तिम्रो बुबा । धरहरा क्याफेमा जानू । ‘ए ! हो र ? अन्तमा भेट्न तयार हुनुभयो ?’

‘हो, अब नेपाल आएको बेलामा एकचोटि भेटेरै जाऊँ न त भन्नुभयो । तर, मैले धेरै मेहनत गर्नुप¥यो है । उनलाई कान्छी रिसाउँछे भन्ने पिर रहेछ । जे होस्, अब भेट्न पाउने भयौ ।’

त्यसै मनमा खुलदुली हुँडुलियो । व्यक्त गर्नै नसकिने भावहरू मनमा आए । बनाउँदै गरेको तिलको लड्डु हातमै लिएर कतिबेर टोलाएर बसेँ । यो लड्डु उनलाई नि लगिदिऊँ कि क्या हो ? त्यो रातभरि म सुत्न सकिनँ; छटपटी लागिरह्यो, सँगै सुतेका श्रीमान्को समेत निद्रा खलबलिने गरी । मैले बाबालाई पनि साँझ सुनाइदिएकी थिएँ । ‘ल भेट; मनको इच्छा पु-याऊ’ भन्नुभएको थियो । मेरो आफ्नो प्रिय बुबाले उहाँको जस्तो विशाल मन त कसको हुनु र ? आमालाई चाहिँ नभन्ने सल्लाह ग-यौँ हामी बाबाछोरीले ।

माघ १ गते कठ्याङ्ग्रिएको तुवाँलो लागेको बिहानी तर मनमा उत्साह थियो । दिमागभरि मैले उनलाई भन्नुपर्ने कुराहरु सोचिरहेकी थिएँ । पक्कै मन हलुङ्गो पार्ने छु । एउटा पाठ सिकाउने नै छु । यस्तै सोच्दै माघीको तयारी गर्दै रहेँ ।

आमा–बाबा, केटाकेटी हामी सबै सँगै थियौँ । खाना खायौँ । विशेष परिकारसहित रमाइरहेकै बेला कृष्ण दाइको फोन आयो ।

‘बरबाद भएछ नि ।’

‘किन, के भयो ?’

‘उहाँ त बित्नुभएछ ।’

म झसङ्ग भएँ । ‘हैन के भन्नुभएको ?’

‘हो । आज राति नै बित्नुभएछ । पशुपति लगिसकेछन् । त्यहाँ जाने ?’

‘नजाने …।’

जबाफ दिन मलाई एक सेकेन्ड लागेन । के भेट्नु ती भेट्नै नचाहने मान्छेसँग । हाम्रा लागि उनी मरेको मान्छे सह्री नै थिए ।

किन किन मनमा एक सर्को दिक्दारी पस्यो ।

‘मसँग भेट्नुपर्ला भनेर मरेका त होइनन् होला नि उनी !’

के मृत्यु मान्छेको आफ्नो बसमा छ र ?