भारतमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्यामा उल्लेखनीय रुपमा कमी आएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा १२ हजार ५१४ जना संक्रमित भएको उल्लेख छ । यही अवधिमा १२ हजार ७१८ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा विगत २४ घण्टामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ रहेको पनि मन्त्रालयले जनाएको छ । यो सहित भारतमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या चार लाख ५८ हजार ४३७ पुगेको छ ।
कोभिडबाट भारतभरमा संक्रमित हुनेको संख्या तीन करोड ४२ लाख ८५ हजार ८१४ रहेकामा तीन करोड ३६ लाख ६८ हजार ५६० जना संक्रमणमुक्त भएका थिए । अझै पनि भारतमा एक लाख ५८ हजार ८१७ जना सक्रिय संक्रमित अवस्थामा छन् तर यो संख्या विगत २४८ दिनको सबैभन्दा न्यून हो ।
कोभिड विरुद्धको खोप अभियान तिब्र बनाएको भारतमा हालसम्म एक अर्ब ६ करोड ३१ लाख २४ हजार डोज खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वभर कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख १४ हजार पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा बिरामीको मृत्यु भएको थियो । अमेरिकामा ७ लाख ६६ हजार, ब्राजिलमा ६ लाख ७ हजार, रसियामा २ लाख ३८ हजारको ज्यान गएको छ ।