दुबईः मार्टिन गप्टिलको ९३ रनको मद्दतले टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा न्यूजील्याण्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।
न्यूजील्याण्डले यो जितसँगै महत्वपूर्ण २ अंक बटुलेको छ । न्यूजीन्याण्डले तीन खेलबाट ४ अंक बनाएको छ र समूहको तेस्रो स्थानमा छ । पहिलो स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा अफगानिस्तान छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्याण्डले ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । न्यूजील्याण्डका लागि गप्टिल बाहेक ड्यारिल मिचेलले १३, कप्तान केन विलियम्सनले ०, डेभोन कन्वेले १, ग्लेन फिलिप्सले ३३, जेम्स निशमले १० तथा मिचेल सान्टनरले २ रन बनाएका थिए ।
जितका लागि १७३ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्डले राम्रो ब्याटिङ प्रस्तुत गरेको थियो, तर त्यो जितका लागि पर्याप्त भएन ।
स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित ४२ रन बनाएका थिए । म्याथ्यु क्रसले २७ रन बनाए । उनले एडम मिल्नको एक ओभरमा लगातार पाँच चौका प्रहार गरेका थिए । स्कटल्यान्डका माथिल्लो क्रमका सबैजसो खेलाडीले राम्रो ब्याटिङ गरे पनि न्यूजील्याण्डले निरन्तर दबाब सिर्जना गरी नियमित अन्तरालमा विकेट लिएको थियो ।
यो हारसँग स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । स्कटल्याण्डले कुनै पनि खेल नजितेका कारण अंक तालिकामा पुछारमा छ । उसले अझै दुई खेल खेल्न बाँकी छ ।
आजै साँझ भारत र अफगानिस्तानबीच खेल भइरहेको छ । भारतले यो समाचार तयार पार्दासम्म पहिले ब्याटिङ गर्दै ९ ओभरमा बिना क्षति ७४ रन बनाएको छ । क्रिजमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुल ३३ तथा रोहित शर्मा ४० रन बनाएर खेल्दैछन् । एजेन्सी
अंक तालिका
समूह क | खेल | अंक | समूह ख | खेल. | अंक. |
इङल्यान्ड | ४ | ८ | अफगानिस्तान | ३ | ४ |
अस्ट्रेलिया | ३ | ४ | पाकिस्तान | ४ | ८ |
दक्षिण अफ्रिका | ४ | ६ | भारत | २ | ० |
वेस्ट इन्डिज | ३ | २ | न्यूजील्यान्ड | ३ | ४ |
श्रीलंका | ४ | २ | स्कटल्यान्ड | ३ | ० |
बंगलादेश | ४ | ० | नामिबिया | ३ | २ |