
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले चीरप्रतिद्वन्द्धी म्यान्चेस्टर युनाइटेडविरुद्ध सानदार जित निकालेको छ ।
आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटीले पाँचौं मिनेटमा नै केभिन डी ब्रुएनाको गोलबाट अग्रता लिएको थियो ।
तर, खेलको २२ औं मिनेटमा जेडन सान्चोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । यस्तै, २८ औं मिनेटमा केभिन डी ब्रुएनाले व्यत्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै सिटीलाई २-१ को स्थितीमा ल्याए ।
खेलमा ६८ औं र ९० औं मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ६ अंकको अग्रता बनाएको छ । सिटीको २८ खेलबाट ६९ अंक छ । यता, पराजित युनाइटेड २८ खेलबाट ४७ अंकसहित पाँचौं स्थानमा छ ।
यस्तै, आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डलाई उसकै मैदानमा ३-२ गोलले पराजित गर्यो ।
खेलको पाँचौं मिनेटमा नै मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर, ११ औं मिनेटमा वाटफोर्डका कुचो हर्नान्डेजले गोल गर्दै वाटफर्डलाई १-१ को बराबरीमा ल्याए ।
खेलको ३० औं मिनेटमा बुकायो साकाले गोल गर्दै फेरि आर्सनलको अग्रता बनाए । ५२ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ३-१ को स्थितीमा ल्याए । यता, ८७ औं मिनेटमा मोउसा सिसोकोले गोल गरेपनि वाटफोर्डको हार टार्न सकेनन् ।
जितसँगै आर्सनल अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसको २५ खेलबाट ४८ अंक छ । पराजित वाटफोर्ड भने २७ खेलबाट १९ अंकसहित १९ औं स्थानमा छ ।