१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले सीमा तोकिदिएपछि घट्यो सेयर कर्जा



अ+ अ-

काठमाडौँ — राष्ट्र बैंकको हस्तक्षेपपछि गत भदौमा सेयर कर्जा ९मार्जिन लोन० सवा २ अर्ब रुपैयाँ घटेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोमा लिइने कर्जामा सीमा तोकेको थियो । सोही व्यवस्थाका कारण गत भदौमा सेयर धितो कर्जा घटेको जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्षका सबै महिना र चालु आर्थिक वर्षको साउनसम्म सेयर धितो कर्जा बढेको थियो तर गत असारको तुलनामा भदौमा यस्तो कर्जा २।१ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने करिब ५ प्रतिशत बढेको थियो ।

राष्ट्र बैंकले विगतदेखि नै सेयर बजारलाई अस्थिर बनाउने नीति ल्याउँदै आएको र सोही क्रममा सेयर कर्जामा सीमा तोकिएको सेयर विश्लेषक रवीन्द्र भट्टराईको आरोप छ । ‘राष्ट्र बैंकले जहिले पनि बजारलाई अस्थिर बनाउँदै आएको छ,’ उनले भने, ‘मार्जिन कर्जामा ४ करोड र १२ करोडको सीमा पनि त्यसकै निरन्तरता हो ।’ अझै पनि बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य छ । यस कारण राष्ट्र बैंकका स–साना निर्देशनले पनि बजारमा ठूलो प्रभाव पर्दै आएको छ । त्यसमाथि राष्ट्र बैंकको धारणा सकारात्मक नहुँदा बजार अस्थिर बन्दै आएको उनको दाबी छ ।

विद्यमान व्यवस्थाअनुसार धितोपत्रमा लगानीका लागि सेयर धितो राखेर कर्जा लिँदा एउटा संस्थाबाट प्रतिव्यक्ति ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी १२ करोडभन्दा बढी कर्जा लिन पाइँदैन । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आएको उक्त व्यवस्था भदौ पहिलो सातादेखि लागू भएको हो । उक्त व्यवस्थाअघि लिएका सेयर कर्जालाई पनि निर्देशित सीमाभित्रै कायम गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्तो व्यवस्थाले मध्यम तथा ठूला लगानीकर्ता कर्जा लिनबाट वञ्चित भएको जानकारहरू बताउँछन् । यही कारण आउँदा दिनमा सेयर कर्जा घट्ने र त्यसको संकेत देखिइसकेको उनीहरूको भनाइ छ ।

गत भदौमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । गत असारमा यस्तो कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने यस्तो कर्जा ९७ प्रतिशत बढेको देखिन्छ । गत आर्थिक वर्षको भदौमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कुल ५२ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा बढाएर करिब दोब्बर पुर्‍याएका थिए । यो उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदरमध्ये सबैभन्दा बढी हो । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका कारण चालु आर्थिक वर्षका धेरैजसो महिना अर्थतन्त्रका धेरै क्षेत्र ठप्प थिए । जसकारण ती क्षेत्रबाट कर्जा माग हुन सकेको थिएन तर सेयर बजार भने निरन्तर उकालो लागिरहेको थियो । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा प्रवाह गर्ने कर्जालाई २५ लाखभन्दा कम, २५ देखि ५० लाख रुपैयाँसम्म, ५० लाखदेखि १ करोडसम्म र एक करोड रुपैयाँभन्दा बढी गरी चार वर्गमा वर्गीकरण गरिएको हुन्छ । यसका आधारमा गत असारसम्म यो क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरै ९करिब ६८ प्रतिशत० एक करोड रुपैयाँभन्दा बढीको छ । यसले सेयर बजारमा ठूलो व्यापारी वा व्यावसायिक घरानाकै प्रभुत्व रहेको पुष्टि हुन्छ ।

सेयर बजारमा बैंकले प्रवाह गरेको कुल कर्जाको करिब १२ प्रतिशत ५० लाखदेखि १ करोड रुपैयाँसम्मको, करिब १३ प्रतिशत २५ देखि ५० लाख रुपैयाँसम्मको र ७ प्रतिशत कर्जा २५ लाखभन्दा कम रकमको रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म ओभरड्राफ्ट कर्जा करिब साढे ६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धिदर १।३ प्रतिशत घटेको थियो ।

व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यस कारण बजार बढेसँगै ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको जानकारहरू बताउँछन् । एउटै क्षेत्रमा धेरै कर्जा प्रवाह हुँदा जोखिम पनि धेरै हुने उनीहरूको भनाइ छ ।

यस विषयमा राष्ट्र बैंक पनि जानकार छ । सोही कारण मौद्रिक नीतिमार्फत पटकपटक व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गर्दै आएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि लगानीको स्रोत ९औचित्य० नखुल्ने कर्जा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने जोखिमको भार बढाइएको छ ।

सेयर धितोमा कर्जासँगै बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गरेका छन् । त्यसैले कुनै कारणले सेयर बजारमा उच्च गिरावट भएमा त्यसको प्रत्यक्ष प्रभाव वित्तीय क्षेत्रमा पर्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजी (कोर क्यापिटल) को बढीमा ४० प्रतिशतसम्म मात्र सेयर कर्जा (मार्जिन प्रकृतिका) प्रवाह गर्न पाइन्छ । हाल बैंक तथा वित्तीय संस्थाको कुल प्राथमिक पुँजी करिब साढे ४ खर्ब रुपैयाँ छ । यसका आधारमा गत भदौसम्म सेयर धितोमा प्रवाह भएको कर्जा प्राथमिक पुँजीको करिब २३ प्रतिशतभन्दा बढी हो । (कान्तिपुर दैनिकमा समाचार छ)