१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः न्यूजील्यान्ड सेमिफाइनलमा प्रवेश, इङल्यान्ड ५ विकेटले पराजित



अ+ अ-

अबुधाबीः न्यूजील्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

न्यूजील्यान्डले बुधबार राति भएको सेमिफाइनल खेलमा इङल्यान्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा न्यूजील्यान्डको यो चौथो प्रवेश हो । यसअघि सन् २०१५, २०१९ र २०२१ मा न्यूजील्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।

न्यूजील्यान्डका ब्याट्सम्यानद्वय डिरेल मिचेल र डेभोन कन्वेको जोडीले गरेको प्रभावशाली ब्याटिङ मद्दतले न्यूजील्यान्डले फाइनलको यात्रा तय गरेको हो । डिरेल मिचेलले ४७ बलमा ४ छक्का र ४ चौका मद्दतले ७२ रन बनाएका थिए भने कन्वेले ३८ बलमा १ छक्का र ५ चौका सहित ४६ रन बनाएका थिए ।

इङल्यान्डले प्रस्तुत गरेको १६७ रनको मध्यम लक्ष्य न्यूजील्यान्डले ५ विकेटको क्षतिमा १९ औं ओभरमा पूरा गरेको थियो । शुरुमै मार्टिन गप्टिल र कप्तान केन विलियम्सन व्यक्तिगत ४ र ५ रन बनाएर आउट भएपछि न्यूजील्यान्ड दबाबमा परेको थियो ।

न्यूजील्यान्डका लागि ग्लेन फिलिप्सले २, जेम्स निशामले २७ तथा मिचेल सान्टनरले १ रनको योगदान गरे ।

यसअघि पहिले टस हारेर ब्याटिङको निम्तो पाएको इङल्यान्डले संघर्षपूर्ण खेल खेल्दै २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रनको मध्यम स्कोर खडा गरेको थियो । इङल्यान्डका लागि मोइन अलिले सर्वाधिक ५१ रनको योगदान गरेका थिए ।

साथै, जस बटलरले २९, जोन्नी बेयरस्टले १३, डाविड मलानले ४१, लियाम लिभिङस्टोनले १७ तथा इओन मोर्गनले ४ रन बनाएका थिए । तर उनीहरुले बनाएको यो रनसंख्या पर्याप्त भएन ।

अब फाइनलमा न्यूजील्यान्डको भिडन्त पाकिस्तान वा अस्ट्रेलियासँग हुनेछ । पाकिस्तान र अस्ट्रेलियाबीचको दोस्रो सेमिफाइनल आज दुबईमा हुनेछ । फाइनल खेल भने आगामी आइतबार दुबइमा हुनेछ । एजेन्सी